कीवर्डहरू -

नेपालमै डिजाइन, निर्माण र प्रक्षेपण : पहिलो स्वदेशी हाइब्रिड रकेटको सफल उडान

नेपालमै डिजाइन, निर्माण र प्रक्षेपण : पहिलो स्वदेशी हाइब्रिड रकेटको सफल उडान

काठमाडौं । नेपालको एयरोस्पेस क्षेत्रमा नयाँ उपलब्धि थपिएको छ । नेपाली इन्जिनियरहरूको टोलीले नेपालमै डिजाइन, निर्माण र प्रक्षेपण गरेको पहिलो स्वदेशी ‘वेक्स पावर्ड हाइब्रिड रकेट’ सफलतापूर्वक परीक्षण गरेको छ ।

Mach24 Orbitals ले २७ अगस्ट २०२६ दिउँसो १ बजे आफ्नो पहिलो हाइब्रिड रकेट ‘गरुडा एसआर–१’ (Garuda SR-1) को उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

कम्पनीका अनुसार यो परीक्षण नेपालको आफ्नै प्राविधिक क्षमता र स्थानीय स्तरमै विकास गरिएको रकेट प्रविधिलाई प्रयोगात्मक चरणबाट वास्तविक उडान परीक्षणसम्म पुर्‍याउने महत्वपूर्ण उपलब्धि हो ।

गरुडा एसआर–१ को विकासका क्रममा टोलीले सुरुवाती प्रोपल्सन परीक्षणदेखि दर्जनौँ इन्जिन परीक्षण, विभिन्न प्राविधिक असफलता, डिजाइनमा सुधार तथा सफल ग्राउन्ड टेस्टहरू पार गर्दै यो चरणमा पुगेको जनाएको छ ।

उडान परीक्षणले टोलीले काठमाडौंमै विकास तथा परीक्षण गरेको हाइब्रिड प्रोपल्सन आर्किटेक्चरलाई वास्तविक उडानमा प्रमाणित गरेको Mach24 Orbitals ले जनाएको छ । यसअघि परीक्षण स्ट्यान्डमा परीक्षण हुँदै आएको प्रविधिलाई पहिलोपटक उडानमार्फत परीक्षण गरिएको हो ।

यस उपलब्धिको अर्को महत्वपूर्ण पक्ष रकेटको निर्माण हो । कम्पनीका अनुसार गरुडा एसआर–१ नेपालमै सुरुदेखि अन्त्यसम्म डिजाइन र निर्माण गरिएको हो । यसमा नेपाली इन्जिनियरहरूको प्राविधिक ज्ञानसँगै स्थानीय इन्जिनियरिङ तथा उत्पादन क्षमताको प्रयोग गरिएको छ ।

Mach24 Orbitals ले यो उपलब्धिलाई लामो समयदेखि भइरहेको प्रयोग, निरन्तर सिकाइ, असफलताबाट प्राप्त अनुभव र डिजाइन सुधारको परिणामका रूपमा व्याख्या गरेको छ ।

कम्पनीले रकेट विकास यात्रामा सहयोग गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST), विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा अन्य सहयोगी संस्था र व्यक्तिप्रति आभार व्यक्त गरेको छ ।

त्यस्तै, यस यात्रामा मन्त्री महावीर पुनले पुर्‍याएको व्यक्तिगत सहयोग र प्रयासलाई पनि कम्पनीले विशेष रूपमा स्मरण गरेको छ । Mach24 Orbitals का अनुसार यो उपलब्धि एक्लो प्रयासको परिणाम नभई कम्पनीको टोली, साझेदार, मार्गदर्शक, संस्था तथा सुरुदेखि अभियानमा विश्वास गर्ने सबैको सामूहिक योगदानबाट सम्भव भएको हो ।