काठमाडौं । बाढी तथा विपद्को अवस्थाका कारण स्थगित गरिएको डिजिटल नेपाल कन्क्लेभ २०२६ अब असोज ४ गते (२० सेप्टेम्बर २०२६) मा आयोजना हुने भएको छ ।
आईसीटी फाउन्डेसन नेपालले भदौ ११ गते (२७ अगस्ट २०२६) आयोजना गर्ने तय गरेको कन्क्लेभ भोटेकोशी र त्रिशूली नदीमा आएको अचानक बाढीका कारण स्थगित गरेको थियो । विपद्का कारण जनधनको क्षति भएपछि उद्धार, राहत तथा उपचार कार्यलाई प्राथमिकता दिँदै कार्यक्रमको पूर्वनिर्धारित मिति सारिएको थियो ।
स्थगित गरिएको कार्यक्रमका लागि अब नयाँ मिति तय गरिएको आईसीटी फाउन्डेसन नेपालले जनाएको छ । असोज ४ गते काठमाडौंमा कन्क्लेभ आयोजना गरिने संस्थाले जानकारी दिएको हो ।
नेपालको डिजिटल रूपान्तरण, सूचना तथा सञ्चार प्रविधि, डिजिटल पूर्वाधार, नवप्रवर्तन तथा प्रविधिको आगामी दिशाबारे छलफल गर्ने प्रमुख कार्यक्रमका रूपमा डिजिटल नेपाल कन्क्लेभ आयोजना हुँदै आएको छ । कन्क्लेभमा प्रविधि क्षेत्रका विज्ञ, सरकारी प्रतिनिधि, निजी क्षेत्र, स्टार्टअप तथा सरोकारवालाको सहभागिता रहनेछ ।
बाढीका कारण कार्यक्रम स्थगित गर्नुपरेपछि सहभागी, साझेदार तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति आईसीटी फाउन्डेसन नेपालले यसअघि क्षमायाचना गरेको थियो । साथै, विपद्को समयमा उद्धार, राहत तथा उपचारमा खटिने सबैप्रति सम्मान व्यक्त गर्दै नागरिकलाई सुरक्षित रहन आग्रह गरेको थियो ।
नयाँ मितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको आयोजकले जनाएको छ ।
आईसीटी समाचार