काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको सल्लाहकारमा पुल्चोक क्याम्पसका सहप्राध्यापक डा. ज्योति तण्डुकार नियुक्त भएका छन् । त्रिवि कार्यकारी परिषद्को भदौ १७ गते बसेको बैठकले तण्डुकारलाई उपकुलपतिको सल्लाहकारका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार उपकुलपतिको कार्यालयले बिहीबार उनलाई नियुक्तिपत्र प्रदान गरेको छ । नियुक्तिपत्रअनुसार तण्डुकारले त्रिवि ऐन, नियम तथा विनियमअनुसार उपकुलपतिबाट सम्पादन हुने काम कारबाहीमा आवश्यक परामर्श दिनेछन् ।
साथै, विश्वविद्यालयसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न पक्षसँग समन्वय गर्ने जिम्मेवारी पनि उनलाई दिइएको छ । उनले विश्वविद्यालयमा सूचना प्रविधि (आईटी) तथा आईटीमा आधारित सेवाको विकास र विस्तारमा उपकुलपतिलाई सहयोग गर्नेछन् ।
त्यस्तै, विश्वविद्यालयको संरचनागत तथा प्रक्रियागत सुधारका कामलाई अघि बढाउन पनि उनले भूमिका निर्वाह गर्ने नियुक्तिपत्रमा उल्लेख छ । तण्डुकारको कार्यकाल उपकुलपति थापाको पदावधि कायम रहेसम्म रहनेछ ।
उनको सेवा तथा सुविधा त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को नियम १८० बमोजिम कार्यकारी निर्देशकसरह हुने व्यवस्था गरिएको छ ।
उपकुलपति थापाको हस्ताक्षर रहेको नियुक्तिपत्रको बोधार्थ शिक्षाध्यक्ष, रजिस्ट्रार, इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालय, पुल्चोक क्याम्पससहित कर्मचारी प्रशासन महाशाखा, आर्थिक प्रशासन महाशाखा र सूचना तथा जनसम्पर्क महाशाखामा पठाइएको छ ।
आईसीटी समाचार