काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२६ मा अर्थ मन्त्रालयका कम्प्युटर अधिकृत निरज भुसालले रसुवा-भोटेकोशी बाढीका बेला सूचना व्यवस्थापनका लागि अपनाइएको डिजिटल पहलका बारेमा जानकारी दिएका छन् ।
‘डेटा फ्रम डिजास्टर’ विषयमा बोल्दै भुसालले विपद्का समयमा गलत वा अपुष्ट सूचनाभन्दा सही, प्रमाणित र आवश्यक सूचना छिटो नागरिकसम्म पुर्याउनु चुनौतीपूर्ण हुने बताए । विपद्का बेला सूचना संकलनसँगै त्यसको प्रमाणीकरण र व्यवस्थित रूपमा प्रवाह गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
बाढीका क्रममा छोटो समयमै एउटा डिजिटल पोर्टल तयार गरी हराइरहेका, उद्धार गरिएका तथा फेला परेका व्यक्तिको विवरण राखिएको उनले बताए । पोर्टलमा नामका आधारमा सम्बन्धित व्यक्तिको विवरण खोज्न सकिने व्यवस्था गरिएको थियो ।
विभिन्न स्थान तथा स्रोतबाट प्राप्त सूचनालाई एकै ठाउँमा संकलन गरी आवश्यक जाँचपछि पोर्टलमा राखिएको भुसालले बताए । नागरिकले सहज रूपमा सूचना बुझ्न सकून् भन्ने उद्देश्यले सूची, तस्बिर र अन्य विवरणलाई व्यवस्थित रूपमा प्रस्तुत गरिएको थियो ।
पोर्टलमा सूचना नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराइएको थियो । यसले विपद्का बेला आवश्यक विवरण खोज्न र बुझ्न नागरिकलाई थप सहज बनाएको भुसालले बताए ।
त्यस्तै, बाढीपछि सरकारले गरेका पहल तथा काम कारबाहीसम्बन्धी जानकारी अर्थ मन्त्रालयको आधिकारिक पोर्टलमार्फत पनि सार्वजनिक गरिएको उनले जानकारी दिए । उक्त पोर्टलमा क्यूआर कोडमार्फत आवश्यक विवरण हेर्न सकिने व्यवस्था गरिएको थियो ।
भुसालका अनुसार विपद्का बेला सूचना संकलन गर्नु मात्र पर्याप्त हुँदैन । प्राप्त सूचनाको विश्वसनीयता जाँच गरी सही, स्पष्ट र सहज ढंगले नागरिकसम्म पुर्याउनु अझ महत्वपूर्ण हुन्छ ।
डिजिटल नेपाल कन्क्लेभ २०२६ को मुख्य विषय ‘Building Digital Resilience: Redefining Governance, Data and Economy’ रहेको थियो । कार्यक्रममा डिजिटल प्रविधि, सूचना व्यवस्थापन, सुशासन, तथ्यांक तथा विपद् व्यवस्थापनमा प्रविधिको भूमिकाबारे छलफल गरिएको थियो ।
आईसीटी समाचार