कीवर्डहरू -

अध्यादेशको प्रभाव : दूरसञ्चार प्राधिकरणको पूरा नेतृत्व पदमुक्त

अध्यादेशको प्रभाव : दूरसञ्चार प्राधिकरणको पूरा नेतृत्व पदमुक्त

काठमाडौं । सरकारले नयाँ अध्यादेश ल्याएसँगै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षसहित बोर्ड सदस्यहरु पदमुक्त भएका छन् । राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् ।

सोही अध्यादेशका आधारमा सार्वजनिक पदमा राजनीतिक नियुक्ति लिएका सबैको पद गुमेको छ । यसले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा प्राधिकरण बोर्ड सदस्यहरुको समेत नियुक्ति खारेज भएको हो । उक्त अध्यादेशमा दूरसञ्चार ऐन, २०५३ बमोजिम नियुक्त प्राधिकरणका अध्यक्ष र सदस्य गरी पाँच जनाको पद गएको छ ।

हाल अध्यक्ष रहेका भुपेन्द्र भण्डारीलाई प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड प्रधानमन्त्री भएको समयमा तत्कालिन सञ्चारमन्त्री रेखा शर्माले नियुक्ति गरेकी थिइन् । यस्तै बोर्डका दुई सदस्यहरु कृष्ण प्रसाद पोखरेल तथा नवराज अधिकारीलाई समेत उनले नियुक्त गरेकी थिइन् ।

यस बाहेक अन्य दुई सदस्यहरु रविन्द्र झा र गोकर्णप्रसाद सिटौलालाई नेपाली कांग्रेस सरकारमा रहेको बेला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नियुक्त गरेका थिए । अध्यादेश कार्यान्वयन भएसँगै अध्यक्ष रहेका भुपेन्द्र भण्डारी रविन्द्र झा, गोकर्णप्रसाद सिटौला, कृष्ण प्रसाद पोखरेल र नवराज अधिकारी एकैपटक पदमुक्त भएका हुन् ।

अध्यादेश अनुसार, विभिन्न १ सय १० ओटा कानूनहरू परिमार्जन हुनेछन्, जसबाट विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायमा गरी नियुक्त भएका १५ सय ३४ सार्वजनिक पदाधिकारीहरु एकैपटक पदमुक्त भएका छन् ।