कीवर्डहरू -

अवसरलाई आर्थिक मूल्यमा बदल्न उद्यमशील क्षमता आवश्यक : राष्ट्र बैंक

अवसरलाई आर्थिक मूल्यमा बदल्न उद्यमशील क्षमता आवश्यक : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्यमशीलतालाई व्यवसाय सुरु गर्ने क्षमतामा मात्र सीमित नगरी अवसर पहिचान, स्रोत व्यवस्थापन, जोखिम मूल्यांकन र योजनाको प्रभावकारी कार्यान्वयनसम्म फैलिएको समग्र क्षमताका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले मंगलबार जारी गरेको वित्तीय चेतनासम्बन्धी सन्देशमा बदलिँदो आर्थिक परिवेशमा उपलब्ध अवसरलाई आर्थिक तथा सामाजिक मूल्यमा रूपान्तरण गर्न उद्यमशील सोच र क्षमता आवश्यक रहेको उल्लेख गरिएको छ ।

केन्द्रीय बैंकले उद्यमशीलता विकासलाई मुख्यत: अवसर पहिचान, स्रोत व्यवस्थापन र कार्यान्वयन गरी तीन चरणमा अघि बढाउन सुझाव दिएको छ । बजार तथा समाजमा रहेका समस्या र सम्भावनाबाट नयाँ विचार पहिचान गर्ने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत जुटाउने र योजनालाई व्यवहारमा उतार्ने प्रक्रिया नै उद्यमशीलताको महत्वपूर्ण आधार भएको राष्ट्र बैंकको भनाइ छ ।

विचारसँगै सम्भाव्यता परीक्षण आवश्यक
राष्ट्र बैंकका अनुसार नयाँ विचार आउनु मात्र उद्यमशीलताको पर्याप्त आधार होइन । कुनै पनि व्यवसाय वा परियोजना अघि बढाउनुअघि त्यसको व्यावसायिक सम्भाव्यता, लागत, सम्भावित आम्दानी तथा जोखिमको मूल्यांकन गर्न आवश्यक हुन्छ ।

त्यससँगै प्रस्तावित कामले समाज, संस्कृति र वातावरणमा पार्न सक्ने प्रभावलाई समेत ध्यान दिनुपर्ने बैंकले जनाएको छ ।

पुँजीभन्दा अघि वित्तीय ज्ञान
उद्यमशील विचारलाई व्यवसाय वा परियोजनामा रूपान्तरण गर्न स्रोत व्यवस्थापन महत्वपूर्ण हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ । उपलब्ध वित्तीय स्रोत, लागत, सम्भावित आम्दानी तथा जोखिमको विश्लेषण गर्न वित्तीय तथा आर्थिक साक्षरता आवश्यक रहेको बैंकको भनाइ छ ।

त्यस्तै, व्यक्तिले आफ्ना क्षमता र कमजोरी पहिचान गर्ने, चुनौतीका बीच लक्ष्यमा निरन्तर लागिरहने तथा आवश्यक प्रविधि र स्रोत परिचालन गर्ने क्षमता पनि विकास गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

जोखिमको मूल्यांकन गरेर मात्र अघि बढ्न सुझाव
नयाँ व्यवसाय वा परियोजनामा अनिश्चितता र जोखिम स्वाभाविक हुने भन्दै राष्ट्र बैंकले जोखिमको पूर्वानुमान र मूल्यांकन गरेर मात्र निर्णय लिन सुझाव दिएको छ । बैंकले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन लक्ष्य निर्धारण गरी उपलब्ध स्रोतअनुसार प्राथमिकता तय गर्नुपर्ने जनाएको छ । व्यवसायिक सफलताका लागि व्यक्तिगत प्रयाससँगै सहकार्य र नेटवर्क विस्तारलाई समेत महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने बैंकको सुझाव छ ।

असफलताबाट सिक्ने क्षमता पनि उद्यमशीलताको हिस्सा
राष्ट्र बैंकले उद्यमशीलतामा सफलता हासिल गर्नु जति महत्वपूर्ण छ, असफलताबाट सिकेर आगामी योजना सुधार गर्न सक्ने क्षमता पनि उत्तिकै आवश्यक रहेको जनाएको छ । आफ्नै अनुभव तथा अरूका सफलता र कमजोरीबाट सिक्दै रणनीति परिमार्जन गर्न सके उद्यमशील क्षमतामा सुधार आउने बैंकको भनाइ छ ।

राष्ट्र बैंकले उद्यमशीलता व्यवसायी वा उद्यमीका लागि मात्र आवश्यक विषय नभएको स्पष्ट पारेको छ । कर्मचारी, व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिसम्म सबैका लागि अवसर पहिचान, समस्या समाधान, स्रोत व्यवस्थापन, जोखिम सामना र नयाँ विचार कार्यान्वयन गर्ने क्षमता उपयोगी हुने बैंकले जनाएको छ ।

राष्ट्र बैंकको पछिल्लो सन्देशले उद्यमशीलतालाई केवल ‘व्यवसाय खोल्ने’ सोचबाट माथि उठाउँदै सोचलाई अवसरमा, अवसरलाई योजनामा र योजनालाई आर्थिक तथा सामाजिक मूल्यमा रूपान्तरण गर्ने क्षमताका रूपमा विकास गर्नुपर्ने सन्देश दिएको छ ।