कीवर्डहरू -

नेपालका पाँच प्रविधि संस्था ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’बाट सम्मानित

नेपालका पाँच प्रविधि संस्था ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’बाट सम्मानित

काठमाडौं । नेपालका पाँच प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानित भएका छन् । एसियन - ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (ASOCIO) को यस वर्षको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल र एआई समिट २०२६’ (अक्टोबर ५-७) अवसर पारी नेपालका यी संस्थालाई अवार्ड प्रदान गरिएको हो ।

यसअन्तर्गत सनवे इन्टरनेसनल बिजनेस स्कुल (Sunway International Business School) ले एआई प्रतिभा विकास पुरस्कार (AI in Talent Development Award) जितेको छ ।

null

त्यस्तै साइबर सुरक्षामा एआई पुरस्कार (AI in Cybersecurity Award) इनसाइट टेक्नोलोजी प्रालि (Insight Technology Pvt. Ltd.) ले पाएको छ । स्वास्थ्य सेवामा एआई पुरस्कार (AI in Healthcare Award) वाइज याक सोलुसन्स प्रालि (Wise Yak Solutions Pvt. Ltd.) ले जित्न सफल भएको छ ।

null

त्यस्तै स्मार्ट कृषिमा एआई पुरस्कार (AI in Smart Agriculture Award) डिभी एक्सेलस प्रालि (DV Excellus Pvt. Ltd.) ले प्राप्त गरेको छ । त्यस्तै अभियान्ता फाउन्डेसन (Aaviyanta Foundation) ले कार्यबल तथा भविष्यका सीपहरूमा एआई पुरस्कार (AI in Workforce and Future Skills Award) हात पार्न सफल भएको छ ।

null

नेपालतर्फबाट असोसियो सदस्य संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का सिफारिसमा सहभागी यी संस्थाले इन्डोनेसियाको जकार्तामा आयोजित असोसियो डिजिटल र एआई समिट २०२६ मा यी विधामा अवार्ड हात पारेका हुन् ।

क्यान महासंघका अनुसार यस वर्षको असोसियो अवार्डमा नेपाली सूचना प्रविधि क्षेत्रको विविधता झल्काउने गरी नोमिनेसन सिफारिस गरिएको थियो । महासंघले असोसियो जस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाउनु नेपालका लागि गौरवको विषय भएको क्यान महासंघका पूर्व अध्यक्ष एवम् असोसियोका उपाध्यक्ष नवराज कुँवरले बताए ।

असोसियो अवार्डले नेपाललाई क्षेत्रीय डिजिटल हबको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै महासंघले यस्तो सम्मानले देशको प्रविधि कम्पनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छ ।

null

‘सुरक्षित अर्थतन्त्र, प्रविधि र व्यावहारिक एआईमार्फत समाज र उद्योगको रूपान्तरण’ विषयमा केन्द्रित यस वर्षको समिट असोसियोको फ्ल्यागसिप इभेन्टका रूपमा आयोजना गरिएको हो । समिटमा एआई प्रविधिको भूमिका, साइबर सुरक्षा, डिजिटल गभरमेन्टका रणनीति, स्टार्टअप इकोसिस्टम र ट्यालेन्ट विकास, एआई जस्ता विषयमा विस्तृत छलफल भएको थियो ।

२४ एसियाली-ओसियनियन देशका प्रतिनिधिहरू सहभागी समिटमा विभिन्न प्यानल डिस्कसन, वर्कशप र प्रदर्शनीमार्फत नवीनतम प्रविधि र इनोभेसन प्रस्तुत गरिएका थिए ।