काठमाडौं । साइबर सुरक्षासम्बन्धी ज्ञान, अनुभव र प्रविधिबारे छलफल गर्ने उद्देश्यले नेपालमा पहिलोपटक ‘बिसाइड्स काठमाडौं २०२६’ सम्मेलन आयोजना हुने भएको छ । आगामी नोभेम्बर २१ अर्थात् मंसिर ५ गते काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा सम्मेलन सञ्चालन हुनेछ ।
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने कार्यक्रममा साइबर सुरक्षा क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, इथिकल ह्याकर तथा विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ । साइबर सुरक्षाको क्षेत्रमा सक्रिय विज्ञ तथा यसप्रति रुचि राख्ने व्यक्तिहरूको सामुदायिक पहलमा सम्मेलन आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा ३०० भन्दा बढी साइबर सुरक्षा विशेषज्ञ, इथिकल ह्याकर, अनुसन्धानकर्ता र विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनलाई आर्थिक रूपमा व्यवस्थित गर्न प्रायोजन तथा टिकट बिक्रीबाट प्राप्त रकम कार्यक्रमको आयोजना र व्यवस्थापनमा खर्च गरिने आयोजकले जनाएको छ ।
सम्मेलनमा सहभागी हुन विद्यार्थी, जनरल तथा कर्पोरेट प्लस आफ्टर पार्टी गरी तीन प्रकारका टिकटको व्यवस्था गरिएको छ । आयोजकका अनुसार नोभेम्बर ४ सम्म अर्ली बर्ड टिकट खरिद गर्न सकिनेछ ।
यसअन्तर्गत विद्यार्थी टिकटको मूल्य १ हजार ९०० रुपैयाँ, जनरल टिकटको २ हजार ४०० रुपैयाँ र कर्पोरेट प्लस आफ्टर पार्टी पासको मूल्य ५ हजार रुपैयाँ तोकिएको छ ।
नोभेम्बर ५ देखि नियमित टिकट दर लागू हुनेछ भने नोभेम्बर १६ देखि लेट बर्ड टिकटको मूल्य कायम हुनेछ । साइबर सुरक्षा क्षेत्रमा ज्ञान आदानप्रदान, नेटवर्क विस्तार तथा नयाँ प्रविधि र चुनौतीबारे छलफल गर्ने अवसरका रूपमा सम्मेलनलाई हेरिएको छ ।
आईसीटी समाचार