कीवर्डहरू -

सिड्नीमा हुँदै विश्व नेपाली युवा उद्यमी सम्मेलन, एआई स्टार्टअपलाई ३५ लाख रुपैयाँ पुरस्कार

सिड्नीमा हुँदै विश्व नेपाली युवा उद्यमी सम्मेलन, एआई स्टार्टअपलाई ३५ लाख रुपैयाँ पुरस्कार

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) ले विश्वव्यापी व्यवसायिक वातावरणलाई तीव्र रूपमा परिवर्तन गरिरहेका बेला नेपाली युवा उद्यमीहरूलाई एकै थलोमा जोड्ने उद्देश्यसहित अस्ट्रेलियामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

जुलाई २४ र २५ मा सिड्नीको सोफिटेल होटलमा हुने सम्मेलनमा विश्वका २० भन्दा बढी देशबाट ७ सयभन्दा बढी नेपाली मूलका युवा उद्यमी, प्रविधिविज्ञ, लगानीकर्ता तथा व्यवसायिक नेतृत्वको सहभागिता रहने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ  (FINYE IEC) को आयोजनामा हुन लागेको कार्यक्रमको व्यवस्थापन फिनये अस्ट्रेलियाले गर्नेछ । सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, स्टार्टअप, डिजिटल नवप्रवर्तन, लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसाय विस्तारका विषयमा केन्द्रित छलफल हुने जनाइएको छ ।

आयोजकका अनुसार सम्मेलनले विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरूबीच सहकार्यको वातावरण सिर्जना गर्नुका साथै नयाँ प्रविधिमा आधारित व्यवसाय विकासका अवसर पहिचान गर्न सहयोग पुर्‍याउनेछ ।

कार्यक्रममा नेपालका नीति निर्माता, बैंकिङ क्षेत्रका नेतृत्वकर्ता, प्रविधि उद्यमी तथा अनुसन्धानकर्तासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी हुनेछन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ भने राष्ट्रिय योजना आयोग, बैंकिङ क्षेत्र र निजी क्षेत्रका प्रतिनिधिहरूले पनि आफ्ना धारणा राख्नेछन् ।

त्यसैगरी अस्ट्रेलियाली सरकारका उच्च अधिकारी, वित्तीय क्षेत्रका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय विज्ञहरूसहित ५० भन्दा बढी वक्ताले विभिन्न विषयमा प्रस्तुति दिनेछन् ।

सम्मेलनको मुख्य आकर्षणमध्ये एक एआई स्टार्टअप प्रतियोगिता पनि रहनेछ । नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगितामा ३५ लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन नेपाली स्वामित्व भएको कृत्रिम बुद्धिमत्तामा आधारित कम्पनी हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितासम्बन्धी थप जानकारी आयोजक संस्थाको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुनेछ ।

आयोजकका अनुसार सम्मेलनले एआईको युगमा नेपाली युवाहरूलाई विश्व बजारसँग जोड्ने, नयाँ लगानी र सहकार्यका अवसर सिर्जना गर्ने तथा प्रविधिमा आधारित उद्यमशीलतालाई थप गति दिने अपेक्षा गरिएको छ ।