काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा चार नयाँ सदस्य नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको निर्णयअनुसार लेखा तथा लेखापरीक्षण, प्राविधिक तथा प्रशासन, कानुन र बजार व्यवस्थापन क्षेत्रका प्रतिनिधिलाई सदस्यको जिम्मेवारी दिइएको हो ।
नवनियुक्त सदस्यहरूलाई बधाई दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको विकास, विस्तार र प्रभावकारी नियमनमा परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन् । उनले जनहितलाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै प्राधिकरणको भूमिकालाई अझ प्रभावकारी बनाउन जोड दिएका छन् ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रीस्तरीय निर्णयबाट असार ३२ गते प्राधिकरणको लेखा तथा लेखापरीक्षण सदस्यमा क्षेत्र गोपाल प्रधान, कानुन सदस्यमा निलम कुमार ओझा, प्राविधिक र प्रशासनिक सदस्यमा अनन्त मल्लिक र बजार व्यवस्थापन सदस्यमा सुजिता श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
मन्त्री तिमिल्सिनाले नवनियुक्त सदस्यहरूलाई पदभार ग्रहणअघि दूरसञ्चार क्षेत्रको विकास, विस्तार तथा नियमनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण निकाय प्राधिकरण भएकाले देश र जनतालाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।
आईसीटी समाचार