कीवर्डहरू -

पर्यटनदेखि प्रविधिसम्म : UI/UX डिजाइनरको यात्रामा सिलु मानन्धर

पर्यटनदेखि प्रविधिसम्म : UI/UX डिजाइनरको यात्रामा सिलु मानन्धर

काठमाडौं । डिजिटल प्रविधिको तीव्र विकाससँगै UI/UX डिजाइन अहिले केवल वेबसाइट वा मोबाइल एपको दृश्य सौन्दर्यसँग सीमित विषय रहेन । प्रयोगकर्ताले कुनै डिजिटल उत्पादन प्रयोग गर्दा कस्तो अनुभव गर्छ, उसको आवश्यकता के हो, उसले कसरी सोच्ने र व्यवहार गर्ने गर्छ तथा प्रविधिले उसको दैनिक जीवनलाई कसरी सहज बनाउन सक्छ भन्ने विषय पनि डिजाइनको महत्वपूर्ण हिस्सा बनेको छ । यही परिवर्तनसँगै विश्वभर UI/UX र प्रोडक्ट डिजाइनको क्षेत्रमा नयाँ अवसरहरू सिर्जना भइरहेका छन् ।

यही क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेकी सिलु मानन्धरको करियर यात्रा भने अझ रोचक छ । फ्रान्सको पेरिसमा पर्यटन व्यवसाय सञ्चालन गरिरहेकी उनी कोभिड १९ महामारीका कारण आफ्नो व्यवसाय बन्द गर्न बाध्य भइन् । तर, एउटा ठूलो संकटलाई उनले नयाँ अवसरमा परिणत गरिन् ।

महामारीको लकडाउन अवधिलाई उनले डिजाइन सिक्ने र आफूलाई नयाँ क्षेत्रमा पुनः स्थापित गर्ने समयका रूपमा प्रयोग गरिन् । त्यसपछि मानव कम्प्युटर अन्तरक्रिया (Human-Computer Interaction) मा मास्टर्स अध्ययन गर्दै उनी UI/UX तथा प्रोडक्ट डिजाइनको क्षेत्रमा प्रवेश गरिन् ।

हाल उनी न्युयोर्कमा आधारित स्वास्थ्य तथा पोषणसम्बन्धी लोकप्रिय एप ‘Lose It!’मा प्रोडक्ट UI/UX डिजाइनरका रूपमा कार्यरत छन् । लाखौँ प्रयोगकर्ताले प्रयोग गर्ने डिजिटल उत्पादन डिजाइन गर्ने क्रममा उनले प्रयोगकर्ता व्यवहार, स्वास्थ्य तथा पोषण, ब्रान्ड पहिचान, उत्पादन रणनीति र आर्टिफिसियल इन्टेलिजेन्स (AI) जस्ता विषयमा काम गरिरहेकी छन् ।

उनको अनुभव पर्यटन र प्रविधि जस्ता फरक क्षेत्रलाई कसरी एउटै सीपले जोड्न सकिन्छ भन्ने उदाहरण पनि हो । मानिसको व्यवहार बुझ्ने, उसको आवश्यकताअनुसार अनुभव सिर्जना गर्ने र समस्याको समाधान खोज्ने क्षमता पर्यटन क्षेत्रमा मात्र होइन, डिजिटल उत्पादन डिजाइनमा पनि उत्तिकै महत्वपूर्ण हुने उनी बताउँछिन् ।

यस अन्तर्वार्तामा मानन्धरले आफ्नो करियर परिवर्तनको कथा, महामारीको समयमा भोगेको मानसिक चुनौती, पर्यटन व्यवसायबाट सिकेका सीप, प्रविधि उद्योगमा प्रवेश गर्दा सामना गरेको ‘क्रेडिबिलिटी ग्याप’, नेटवर्किङको महत्व, नेपालबाटै अन्तर्राष्ट्रिय अवसर खोज्ने सम्भावना, Lose It! मा गरेको महत्वपूर्ण प्रोजेक्ट, एआई लाई ‘सेकेन्ड ब्रेन’ का रूपमा प्रयोग गर्ने आफ्नो कार्यशैली, एआईका सीमितता, नयाँ UX डिजाइनरले गर्ने सामान्य कमजोरी, आवश्यक सीप तथा टुल र असफलताबाट सिकेर अगाडि बढ्ने तरिकाबारे विस्तृत रूपमा आफ्नो अनुभव साझा गरेकी छन् ।

विशेष गरी, एआईले डिजाइन प्रक्रियालाई तीव्र बनाइरहेको वर्तमान समयमा मानव डिजाइनरको भूमिका कहाँ रहन्छ भन्ने प्रश्नमा उनको धारणा महत्वपूर्ण छ । उनका अनुसार एआईले डिजाइन प्रक्रियामा शक्तिशाली सहयोग पुर्‍याउन सक्छ, तर प्रयोगकर्ताको भावना, संस्कृति, व्यवसायिक आवश्यकता, ब्रान्ड पहिचान र सूक्ष्म मानवीय अनुभवलाई पूर्ण रूपमा बुझेर अन्तिम निर्णय गर्न अझै मानव क्षमताको आवश्यकता पर्छ ।

नेपालका युवा UX डिजाइनरहरूका लागि पनि उनको सन्देश स्पष्ट छ; आफ्नो सीप निरन्तर विकास गर्ने, पोर्टफोलियो बलियो बनाउने, अन्तर्राष्ट्रिय समुदायसँग जोडिने, डिजाइनबारे सार्वजनिक रूपमा कुरा गर्ने र AI को समयमा पनि डिजाइनको आधारभूत ज्ञानलाई अझ गहिरो बनाउने ।

प्रस्तुत छ सिलु मानन्धरसँग आईसिटी समाचारका लागि स्नेहा झाले गरेको कुराकानी :


तपाईंले पेरिसमा आफ्नै फुड टुर व्यवसाय सञ्चालन गरिरहनुभएको अवस्थाबाट प्रोडक्ट UI/UX डिजाइनर बन्नेसम्मको यात्रा तय गर्नुभयो । तपाईंलाई आफ्नो करियर पूर्ण रूपमा परिवर्तन गर्ने निर्णय लिन केले प्रेरित गर्‍यो ?

हो, मलाई लाग्छ, मभित्र पहिलेदेखि नै केही त्यस्तो कुरा थियो। म सधैँ मानिसहरूका लागि अनुभवहरू सिर्जना गर्न र त्यसलाई व्यवस्थित गर्न रुचि राख्ने व्यक्ति थिए । उदाहरणका लागि, मेरो व्यक्तिगत जीवनमै पनि मेरो मिल्ने साथीको जन्मदिन वा त्यस्तै कुनै अवसर आउँदा हामी साथीहरूका लागि विशेष अनुभव सिर्जना गर्ने, सरप्राइज बर्थडे आयोजना गर्ने जस्ता काम गर्थ्यौँ । त्यसैले, मलाई लाग्छ त्यो कुरा मभित्र पहिलेदेखि नै थियो ।

UI/UX डिजाइनर हुनु पनि प्रयोगकर्ताका लागि अनुभव सिर्जना गर्ने विषय हो । UI र UX डिजाइन गर्नुको मुख्य उद्देश्य नै त्यो प्लेटफर्म प्रयोग गर्ने व्यक्तिका लागि राम्रो अनुभव सिर्जना गर्नु हो । त्यसैले यी दुई कुरा एकअर्कासँग जोडिएका छन् जस्तो लाग्छ ।

सुरुमा म संस्कृति र यात्रामा पनि निकै रुचि राख्ने व्यक्ति थिए । त्यसैले मैले पर्यटनको क्षेत्रमा केही गर्ने सोच बनाए । पेरिसमा मास्टर्स पूरा गरेपछि मैले पर्यटकहरूलाई पेरिसको स्थानीय पक्ष देखाउने कामतर्फ आफूलाई अघि बढाए । तर, कोभिड १९ महामारीका कारण पर्यटन व्यवसाय पूर्ण रूपमा बन्द भयो । सबै कुरा लकडाउनमा गएपछि मैले एकै दिनमा आफ्नो व्यवसाय बन्द गर्नुपर्‍यो ।

त्यस लकडाउनको अवधिमा मैले आफूलाई प्रश्न गर्न थालेँ; अब म के गर्न सक्छु ? मेरो कुन क्षमता वा रुचिलाई म आफ्नो पेशाका रूपमा अघि बढाउन सक्छु ? त्यही क्रममा मैले डिजाइनको संसारबारे थाहा पाए । मलाई कलामा पनि निकै रुचि भएकाले डिजाइनको क्षेत्र त्यससँग केही हदसम्म सम्बन्धित थियो ।

त्यसपछि मैले डिजाइन अध्ययन गरेँ र मलाई लाग्यो, हो, मैले अब गर्न चाहेको यही हो । यो मेरो अर्को यात्रा हुनेछ । यसरी नै म UI/UX डिजाइनर बन्ने बाटोमा अघि बढेँ ।

त्यसो भए तपाईंले एउटा चुनौतीलाई अवसरमा परिणत गर्नुभयो । महामारी अचानक आइपर्दा र त्यसका कारण करियर परिवर्तन गर्नुपर्दा तपाईंको मानसिक अवस्था कस्तो थियो ? मनोवैज्ञानिक रूपमा तपाईंले त्यसलाई कसरी सामना गर्नुभयो ?

यो पनि निकै राम्रो प्रश्न हो । त्यो निकै कठिन समय थियो । तपाईंले कुनै काम गर्ने उद्देश्यका साथ यात्रा सुरु गर्नुभएको हुन्छ, तर संसारभरि घटिरहेको परिस्थितिले तपाईंले बनाएको सबै योजना नै ध्वस्त पारिदिन्छ । त्यसबेला मेरो मानसिक अवस्था निकै खराब थियो । म निश्चित रूपमा निराश थिएँ, यसमा कुनै प्रश्न नै छैन ।

तर म यथार्थवादी व्यक्ति पनि हुँ । म परिस्थिति, मानिसहरू, आफू र आफ्नो सोच्ने प्रक्रियाको पनि धेरै विश्लेषण गर्छु । महामारीको सुरुवाती समय भएकाले हामी धेरै समाचारहरू पनि हेरिरहेका थियौँ ।

समाचार हेर्दै गर्दा मलाई एउटा कुरा महसुस भयो, अब संसार पहिलेको जस्तो रहने छैन । त्यसैले यो परिवर्तनसँगै मैले पनि आफूलाई परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो ।

मैले आफैँलाई भनेँ; ठीक छ, अहिले जुन परिस्थितिमा छु, त्यसको सदुपयोग गरौँ। लकडाउनको यो समयलाई आफूले गर्न चाहेको काममा समर्पित गरौँ। त्यो काम डिजाइन थियो ।

त्यसैले मैले आफूलाई सम्झाइरहेँ, केही न केही गरिरहनुपर्छ, डिजाइनमा काम गरिरहनुपर्छ र अन्ततः सबै कुरा ठीक हुँदै जानेछ । कसरी हुन्छ भन्ने अहिले थाहा छैन, तर भविष्यमा के हुन्छ हेर्दै जाऔँ ।

त्यसैले त्यो समय निश्चित रूपमा निकै पीडादायी थियो । तर मैले यथार्थवादी बन्ने प्रयास गरेँ र जीवनमा अब अर्को मोड के हुन सक्छ भन्ने रणनीति खोज्न थालेँ ।

त्यो निर्णय तपाईंका लागि निकै राम्रो साबित भयो । हैन त ?

हो । त्यो निर्णय सफल भयो भन्नेमा म निकै आभारी छु । अहिले म जे गर्छु, त्यसलाई म धेरै मन पराउँछु । त्यसैले हो, यसले राम्रो काम गर्‍यो ।

पेरिसमा व्यवसाय सञ्चालन गरेको अनुभवले मानिसहरू र प्रयोगकर्ताको व्यवहारलाई बुझ्ने तपाईंको क्षमतालाई कसरी प्रभावित गर्‍यो ? त्यो अनुभवले डिजाइन र संस्कृति उद्योगमा काम गर्न तपाईंलाई कसरी सहयोग गर्‍यो ?

मलाई लाग्छ, त्यो मेरो यात्राको निकै महत्वपूर्ण हिस्सा थियो । उदाहरणका लागि, UX/UI डिजाइन भनेकै प्रयोगकर्ताको व्यवहार र मानव व्यवहार बुझ्ने विषय हो । प्रयोगकर्ताले कुनै एप्लिकेसन वा डिजिटल प्लेटफर्ममा के गर्नुपर्छ र त्यस क्रममा उसको अनुभव कस्तो बनाउने भन्ने कुरा बुझ्नुपर्छ ।

त्यसका लागि प्रयोगकर्तालाई के चाहिन्छ, उसको मानसिक सोच वा ‘मेन्टल मोडल’ कस्तो छ र उसले कसरी व्यवहार गर्छ भन्ने कुरा बुझ्नुपर्छ। यी UX/UI डिजाइनका आधारभूत पक्षहरू हुन् ।

मैले स्थापना गरेको र आफैँले काम गरेको टुर कम्पनीमा पनि यस्तै कुरा थियो । त्यो केवल ‘हेर्नुहोस्, यो ठाउँ कति सुन्दर छ’ भन्ने मात्र थिएन । हो, त्यो पनि थियो । तर मुख्य कुरा मानिसहरू के हेर्न चाहन्छन् भन्ने थियो ।

उदाहरणका लागि, दुई जना मानिस एउटै पर्यटकीय गन्तव्यमा जान सक्छन् । तर उनीहरूले त्यस ठाउँको कथा कसरी प्रस्तुत गर्छन् भन्ने कुराले उनीहरूको सम्पूर्ण अनुभवमा ठूलो फरक पार्छ ।

त्यसैले मानव व्यवहारको त्यो सूक्ष्म पक्ष, मानिसले के चाहन्छ भन्ने बुझ्ने र उनीहरूलाई रमाइलो तथा उत्कृष्ट अनुभव दिने प्रयास; यी मूल मूल्यहरू डिजाइनसँग निकै नजिकबाट सम्बन्धित छन् ।

पर्यटन क्षेत्रमा मैले विकास गरेका सीपहरूलाई प्रविधि र डिजाइनको क्षेत्रमा ल्याउन यसले मलाई निकै सहयोग गर्‍यो ।

null

दुई पूर्ण रूपमा फरक क्षेत्रलाई जोडेर पर्यटन र आइटी उद्योगबीच अझ धेरै काम गर्न सकिन्छ जस्तो लाग्छ ?

पर्यटन र यात्रा मेरो हृदयसँग जोडिएको विषय हो । यो कुरा मेरो दिमागको कुनै कुनामा अहिले पनि छ । भविष्यमा मैले यस क्षेत्रमा के गर्न सक्छु भनेर हेर्नेछु । तर अहिले तत्कालै त्यससम्बन्धी कुनै योजना छैन । यद्यपि मैले त्यो क्षेत्रलाई बिर्सेकी भने छैन ।

तपाईंले करियर परिवर्तन गर्दा सामना गर्नुपरेको ‘क्रेडिबिलिटी ग्याप’ अर्थात् विश्वसनीयताको खाडलबारे पनि बताउनुभएको छ । त्यसलाई कसरी पार गर्नुभयो र आफूलाई टेक उद्योगमा कसरी स्थापित गर्नुभयो ?

त्यसका लागि म ‘सेल्फ–स्टडी’ अर्थात् स्वअध्ययनलाई मुख्य कुरा भन्न चाहन्छु । महामारीको समयमा मैले धेरै अध्ययन गरेँ । युट्युब लगायत विभिन्न लर्निङ प्लेटफर्ममा धेरै मानिसहरूले आफ्ना सामग्रीहरू राखेका हुन्छन् । मैले उनीहरूबाट सिकेँ ।

UX डिजाइनरका रूपमा पहिले नै स्थापित भइसकेका धेरै मानिसका भिडियोहरू हेरेँ । धेरै सामाग्री, लेख र आर्टिकल पढेँ र निकै मेहनत गरेँ । त्यससँगै मेरो मास्टर्स इन ह्युमन–कम्प्युटर इन्टरयाक्सनले पनि मलाई थप अध्ययन गर्ने र उद्योगका मानिसहरूलाई चिन्ने अवसर दियो ।

त्यसमाथि मैले उद्योगमा काम गरिरहेका मानिसहरूलाई सम्पर्क गर्ने, विभिन्न सम्मेलन तथा वेबिनारमा सहभागी हुने, उनीहरूबाट सिक्ने र उनीहरूसँग सम्बन्ध स्थापित गर्ने काम गरेँ । यसरी मैले उद्योगका नयाँ ट्रेन्डहरूबारे पनि निकै छिटो जानकारी लिन सकेँ ।

यी सबै कुराले यात्रा तथा संस्कृति उद्योगबाट प्रविधि र डिजाइन उद्योगमा आउँदा मसँग रहेको ‘ग्याप’ पूरा गर्न निकै सहयोग गर्‍यो ।

युवा पुस्तालाई सुझाव दिनुपर्दा उद्योगमा अगाडि बढ्न नेटवर्किङ कत्तिको महत्वपूर्ण छ भन्नुहुन्छ ?

मेरो अनुभवका आधारमा नेपालका नयाँ पुस्ताका UX डिजाइनरहरूलाई म भन्न चाहन्छु, नेटवर्किङ निश्चित रूपमा महत्वपूर्ण छ । तर केवल मानिसहरूलाई चिन्नका लागि मात्र होइन, उनीहरूबाट सिक्नका लागि नेटवर्किङ महत्वपूर्ण छ । सबैभन्दा महत्वपूर्ण कुरा यही हो ।

तपाईं बढ्दै जाँदा सिक्दै जानुहुन्छ । यो एकदमै सरल कुरा हो । मानिसहरूलाई चिन्नु निश्चित रूपमा महत्वपूर्ण छ । तपाईंलाई कहिले, कहाँ र कसरी कसैसँग समान आधार भेटिन्छ भन्ने थाहा हुँदैन ।

तर सबैभन्दा महत्वपूर्ण कुरा तपाईंले भेट्ने प्रत्येक व्यक्तिबाट के सिक्न सक्नुहुन्छ भन्ने हो । तपाईंले भेटेको व्यक्ति तपाईंभन्दा १० वर्ष अगाडि हुन सक्छ वा पाँच वर्ष पछाडि हुन सक्छ । तर प्रत्येक व्यक्तिबाट सिक्नका लागि धेरै कुरा हुन्छ । त्यसले तपाईंलाई आफूलाई विकास गर्न सहयोग गर्छ ।

त्यसैले नेटवर्किङका दुईवटा पक्ष छन्ए; कातर्फ सिकाइ र अर्कोतर्फ साथी बनाउने तथा उद्योगका मानिसहरूलाई चिन्ने अवसर ।

अहिले हामी धेरैजसो रिमोट रूपमा काम गर्छौँ । त्यसैले काम कहिले काहीँ निकै एक्लो महसुस हुन सक्छ । यस्तो अवस्थामा मानवीय सम्बन्ध कायम राख्नु, मानिसहरूसँग कुरा गरिरहनु र उनीहरूबाट सिकिरहनु निकै महत्वपूर्ण हुन्छ ।

र, तपाईंले अरू मानिसलाई पनि केही सिकाउन सक्नुहुन्छ । त्यसैले नेटवर्किङ दुवै दिशामा उपयोगी हुन्छ ।

null

लुज इट (Lose It) मा तपाईंले गरेको सबैभन्दा महत्वपूर्ण वा स्मरणीय प्रोजेक्ट कुन हो ? लाखौँ मानिसले प्रयोग गर्ने उत्पादन डिजाइन गर्दा तपाईंले के सिक्नुभयो ?

Lose It मा मैले गरेका दुईवटा प्रोजेक्ट मेरा लागि निकै स्मरणीय छन् । पहिलो भनेको हाम्रा प्रिमियम प्रयोगकर्ताका लागि विभिन्न ‘थिम’ डिजाइन गर्नु थियो । त्यो बढी भिजुअल डिजाइनसँग सम्बन्धित प्रोजेक्ट थियो । त्यसैले मलाई निकै रमाइलो लाग्यो, किनभने यो कलासँग पनि केही हदसम्म जोडिएको थियो ।

तर त्यसबाहेक मेरो सबैभन्दा स्मरणीय र महत्वपूर्ण प्रोजेक्ट भनेको हाम्रा प्रयोगकर्ताका लागि ‘GOP1’ नामको एउटा फिचर विकास गर्नु थियो ।

GOP1 प्रयोगकर्ताहरूको डाइट र आवश्यकताहरू निकै फरक हुन्छन् । उनीहरूले आफ्नो औषधिको स्तर ट्र्याक गर्नुपर्ने हुन्छ र त्यसले उनीहरूले कति क्यालोरी लिनुपर्छ भन्ने कुरामा प्रभाव पार्छ । त्यसैले यो एउटा पूर्ण प्याकेजजस्तै थियो ।

यो मेरो सबैभन्दा स्मरणीय प्रोजेक्टमध्ये एक हुनुको अर्को कारण म यसलाई नेतृत्व गर्ने एक मात्र डिजाइनर थिए । हामीले यो फिचर सुरुदेखि अन्त्यसम्म शून्यबाट विकास गरेका थियौँ ।

मैले यसमा सम्पूर्ण UX पक्षमा योगदान गर्ने अवसर पाए । मेरो प्रोडक्ट म्यानेजरसँग मिलेर यस फिचरको सम्पूर्ण रणनीति तयार गर्‍यौँ ।

हामीले सुरुवातमा अनुसन्धान गर्‍यौँ, त्यसपछि लो-फिडेलिटी डिजाइनहरू बनायौँ । विकासकर्ताहरूसँग पनि हाम्रो निकै नजिकको सहकार्य थियो । यो प्रोजेक्टमा धेरै पटक छलफल र सुधार गर्नुपर्ने अवस्था आयो ।

प्रोजेक्ट निकै ठूलो पनि थियो । अन्त्यसम्म पुगेर सम्पूर्ण प्रोजेक्ट पूरा गरेपछि मैले मार्केटिङका लागि आवश्यक सामग्रीहरू तयार गर्न पनि योगदान गरेँ र अन्य विभागलाई आवश्यक सहयोग पनि गरेँ ।

त्यसैले सुरुदेखि अन्त्यसम्म र कम्पनीका अन्य विभागसँग समन्वय गर्दै यो प्रोजेक्टमा योगदान गर्न पाउनु मेरो लागि निकै स्मरणीय रह्यो ।

यो फिचर निकै प्रभावकारी पनि थियो । अहिले तौल घटाउने विषयमा धेरै मानिसहरू, विशेष गरी पश्चिमी विश्वमा, GOP1 तर्फ आकर्षित भइरहेका छन् । यसलाई प्रयोग गर्ने तरिका र यसको प्रयोग गरिरहेका बेला आफ्नो पोषणको ख्याल राख्ने विषयमा पनि धेरै सूक्ष्म पक्षहरू छन् ।

त्यसैले यो हाम्रो प्रिमियम प्रयोगकर्ताका लागि निकै प्रभावकारी प्रोजेक्ट पनि थियो । त्यसैले यो मेरा लागि सबैभन्दा स्मरणीय प्रोजेक्टमध्ये एक हो ।

यस्तो एप नेपालको सन्दर्भमा कत्तिको सान्दर्भिक छ जस्तो लाग्छ ? अहिले मानिसहरू आफूले के खानुपर्छ भन्नेबारे बढी सचेत हुँदै गएका छन् कि ?

हो । यो स्वास्थ्य तथा पोषणसम्बन्धी एप हो । नेपालको सन्दर्भमा पनि यो महत्वपूर्ण छ जस्तो मलाई लाग्छ । नेपालमा मधुमेह र उच्च रक्तचापका साथै ग्यास्ट्रोइन्टेस्टाइनल अर्थात् पाचन प्रणालीसँग सम्बन्धित रोगहरू पनि निकै सामान्य छन् ।

हामीलाई लाग्ने धेरै रोगको मूल कारण हाम्रो खानपानसँग जोडिएको हुन्छ । हामी दैनिक के खान्छौँ, कति खान्छौँ, कति शारीरिक गतिविधि गर्छौँ र हाम्रो दैनिक पोषण कस्तो छ भन्ने कुराले ठूलो प्रभाव पार्छ ।

यीमध्ये धेरै कुरा हाम्रो पारिवारिक तथा पुस्तौँदेखि चलिआएको खानपानसँग पनि सम्बन्धित हुन्छन् । त्यसैले दैनिक रूपमा आफ्नो स्वास्थ्यको ख्याल राख्नु निकै महत्वपूर्ण छ ।

नेपालमा पनि यस्ता एप्लिकेसन प्रयोग गर्नु राम्रो हुन्छ जस्तो मलाई लाग्छ । मानिसहरूले सानै उमेरदेखि आफ्नो स्वास्थ्यको ख्याल राख्न सके उनीहरूले लामो र स्वस्थ जीवन बाँच्न सक्छन् ।

नेपाल चाडपर्व र संस्कृतिको देश हो र यहाँ सबै कुरा कुनै न कुनै रूपमा खानासँग जोडिएको हुन्छ । हामीसँग खानाका धेरै विविधता छन् । त्यसैले कहिले काहीँ हामी खानामा अलि बढी नै केन्द्रित हुन्छौँ, किनभने हाम्रा धेरै चाडपर्व र सांस्कृतिक गतिविधि खानासँग जोडिएका छन् । त्यसैले आफूले के खाइरहेको छु भनेर ट्र्याक गर्नु राम्रो हुन्छ । यसको उद्देश्य केवल तपाईंले के खाइरहनुभएको छ भनेर बुझ्नु हो, ताकि तपाईं स्वस्थ र राम्रो जीवन बिताउन सक्नुहोस् । यति नै हो ।

Lose It Now मा तपाईंले भर्खरै उल्लेख गर्नुभएको ट्र्याकिङ तथा AI सञ्चालित ‘me log in’ जस्ता फिचरहरू पनि समावेश छन् । यस्तो बिल्ट-इन AI फिचर डिजाइन गर्दा सबैभन्दा ठूलो UX चुनौती के-के हुन्छन् ?

मलाई लाग्छ, यस्ता फिचर डिजाइन गर्दा सबैभन्दा ठूलो चुनौतीमध्ये केही कुरा परिस्थितिमा निर्भर गर्छन् । तर मुख्य रूपमा दुई तीनवटा कुरा छन् ।

कहिले काहीँ यो समयको सीमासँग सम्बन्धित हुन्छ । हामी अन्ततः सबै कुरा समेटिएको उच्च गुणस्तरको फिचर बनाउन चाहन्छौँ । तर कहिले काहीँ हामीले प्रविधिको ट्रेन्ड र समयसँग पनि तालमेल गर्नुपर्छ ।

टेक उद्योग निकै तीव्र गतिमा अघि बढिरहेको छ र हामीले पनि त्यही गतिमा अघि बढ्नुपर्छ । अर्को कुरा कम्पनीसँग उपलब्ध स्रोतसाधनको मात्रा पनि हो । यी सबै ठूला सीमाहरू हुन् ।

त्यसैले हामी सबैभन्दा पहिले कुन फिचर महत्वपूर्ण छ र फिचरको कुन पक्ष सबैभन्दा महत्वपूर्ण छ भनेर प्राथमिकता निर्धारण गर्छौँ ।

त्यसपछि हामी पहिले ती महत्वपूर्ण पक्षहरू समावेश गर्छौँ । आधारभूत संरचना तयार भएपछि अर्को चरणमा गएर फिचर वा एप्लिकेसनको सम्बन्धित पक्षलाई अझ राम्रो बनाउने काम गर्छौँ ।

त्यसैले तीव्र गतिमा अघि बढिरहेको उद्योग र समयको सीमितता कहिले काहीँ सबैभन्दा ठूलो चुनौती बन्ने गर्छ ।

तपाईंले एआईलाई ‘फास्टर ब्रेन’ भन्दा पनि ‘सेकेन्ड ब्रेन’ अर्थात् दोस्रो दिमागका रूपमा परिभाषित गर्नुभएको सुनिएको छ । तपाईं आफ्नो डिजाइन प्रक्रियामा एआई लाई वास्तवमा कसरी प्रयोग गरिरहनुभएको छ ? पहिलेको तुलनामा अहिले एआईसँगको काम गर्ने तरिका कसरी फरक भएको छ ?

एआई आएपछि सबै कुरा निकै छिटो भएको छ । पहिले पनि चीजहरू निकै तीव्र गतिमा परिवर्तन भइरहेका थिए, तर अहिले त्यो गति अझ धेरै बढेको छ । म निश्चित रूपमा एआई प्रयोग गर्छु । तर एआईले डिजाइन गर्छ र त्यसैलाई अन्तिम मान्नुपर्छ भन्ने मेरो सोच होइन ।

एआई एउटा पूर्वानुमानमा आधारित प्रविधि हो । डिजाइन गर्दा ध्यान दिनुपर्ने सबै कुरालाई यसले समेट्न सक्दैन । उदाहरणका लागि, प्रयोगकर्ता, व्यवसाय, मानव व्यवहार, ट्रेन्ड, संस्कृति र मानिसहरूको संवेदनशीलता; यी सबै कुरालाई ध्यानमा राख्नुपर्छ ।

यी सबै पक्ष एआईले पूर्ण रूपमा विचार गर्दैन । यसले आफूलाई उपलब्ध जानकारीका आधारमा सबैभन्दा राम्रो हुन सक्ने विकल्पको पूर्वानुमान गर्छ र केही सम्भावित डिजाइनहरू दिन्छ । त्यसैले म एआईलाई ‘मलाई डिजाइन देऊ’ भनेर मात्र प्रयोग गर्दिन । म यसलाई मसँग बसेर ब्रेनस्टर्मिङ गर्ने साथीका रूपमा प्रयोग गर्छु ।

जब हामी काम गर्छौँ, हामीसँग विचार आदानप्रदान गर्ने र विभिन्न विचारहरू निकाल्न सहयोग गर्ने साथी हुनु उपयोगी हुन्छ । म एआईलाई त्यस्तै रूपमा प्रयोग गर्छु । डिजाइन प्रक्रियाको प्रत्येक चरणमा म एआईलाई आफूसँगै राख्छु र त्यससँग विचार आदानप्रदान गर्छु ।

उदाहरणका लागि, यदि म अनुसन्धान गरिरहेको छु भने म कुनै एआई टुलसँग बारम्बार छलफल गर्छु । हामीले समाधान गर्न खोजेको मुख्य समस्या के हो ? वास्तवमा हामी कुन समस्या समाधान गर्न खोजिरहेका छौँ ? भन्ने प्रश्नमा ब्रेनस्टर्म गर्छु ।

समस्यालाई विभिन्न कोणबाट हेर्नु पनि आवश्यक हुन्छ । कहिले काहीँ मैले कुनै अर्को दृष्टिकोण छुटाउन सक्छु । त्यसैले म एआईलाई कुनै निश्चित समस्या अरू मानिसको दृष्टिकोणबाट हेर्न अनुरोध गर्छु ।

म त्यसलाई विशेष दृष्टिकोणहरू दिन्छु र त्यसका आधारमा हेर्न भन्छु । यसले मलाई मूल समस्या के हो र त्यसको समाधान के हुन सक्छ भन्ने विषयमा थप दृष्टिकोण दिन्छ । त्यसैले मलाई यो ‘सेकेन्ड ब्रेन’ जस्तो लाग्छ ।

डिजाइनको कुरा गर्दा पनि म एआईलाई डिजाइन दिन अनुरोध गर्छु । तर त्यसपछि म त्यसलाई आफैँ विश्लेषण गर्छु; यसले हामीले समाधान गर्न खोजेको समस्या वास्तवमै समाधान गर्छ कि गर्दैन ? भन्ने कुरा हेर्छु ।

त्यसैगरी उत्पादकत्वसँग सम्बन्धित काममा पनि एआई निकै उपयोगी छ । उदाहरणका लागि, तपाईंले पूरा च्याट, कुराकानी वा मिटिङका नोटहरू एआई लाई दिन सक्नुहुन्छ । त्यसपछि कुनै कुरा बिर्सिए भने ‘हामीले यो विषयमा के कुरा गरेका थियौँ ?’ भनेर सोध्न सकिन्छ ।

यसले कामलाई अझ छिटो बनाउँछ । त्यसैले म एआईलाई यसरी प्रयोग गर्छु । मलाई लाग्छ, यो निकै राम्रो उपकरण हो । तर हामी पूर्ण रूपमा एआई माथि निर्भर भने हुँदैनौँ । यो प्रयोग गर्न सकिने निकै शक्तिशाली उपकरण हो ।

तपाईंको एआई-सहयोगी डिजाइन कार्यप्रवाहले कुनै प्रोजेक्टलाई उल्लेखनीय रूपमा सुधार गरेको वा व्यवसायमा प्रभाव पारेको वास्तविक उदाहरण दिन सक्नुहुन्छ ?

हो । म GOP1 प्रोजेक्टको उदाहरण दिन सक्छु । हामीले यो प्रोजेक्टमा काम गर्दा हामीसँग निकै सीमित समय थियो । हामीले सुरुदेखि अन्त्यसम्म सम्पूर्ण काम गर्नुपर्ने थियो ।

यसका लागि हामीले लो-फिडेलिटी डिजाइनमा काम गर्नुपर्थ्यो । पूरै एपका विभिन्न भागमा रहने एउटा फिचरका लागि लो–फिडेलिटी डिजाइन तयार गर्न पनि धेरै समय लाग्छ । त्यसैले मैले लो–फिडेलिटी वायरफ्रेम र UX डिजाइन गर्न एआई प्रयोग गरेँ ।

यसको परिणामस्वरूप सामान्यतया १० दिन लाग्ने काम हामीले तीन दिनमै गर्न सक्यौँ । ती तीन दिनमै हामीले निकै छिटो निर्णयहरू लिन सक्यौँ र त्यसपछि अझ राम्रो डिजाइन तयार गर्ने चरणमा अघि बढ्न सक्यौँ ।

अहिलेको अवस्थामा प्रोडक्ट डिजाइनमा एआई कहाँ कमजोर देखिन्छ ? डिजाइन प्रक्रियाका कुन पक्षमा अझै विशिष्ट मानवीय क्षमताको आवश्यकता पर्छ ?

मलाई लाग्छ, एआई कमजोर हुने ठाउँ भनेको सम्पूर्ण UX अनुभव हो । एआईले भिजुअल डिजाइन बनाउन सक्छ । तर प्रयोगकर्ताले कुनै एप्लिकेसन वा फिचर प्रयोग गर्दा कस्तो महसुस गर्छ, सम्पूर्ण अनुभव कस्तो हुन्छ भन्ने पक्षमा एआई अझै कमजोर छ । त्यसैले यही क्षेत्रमा एआई ले केही कुरा छुटाउँछ ।

उदाहरणका लागि, तपाईंलाई एउटा सामान्य फर्म चाहिएको छ भने एआईले त्यो सजिलै बनाउन सक्छ, किनभने त्यो पूर्वानुमानमा आधारित प्रविधि हो र त्यस्ता आधारभूत कुरा गर्न यसलाई सजिलो हुन्छ । तर धेरै सूक्ष्म र विस्तृत पक्षहरूमा यो त्यति प्रभावकारी हुँदैन ।

त्यही ठाउँमा हामी मानव UX डिजाइनरहरूको भूमिका महत्वपूर्ण हुन्छ । सम्पूर्ण UX उचित छ कि छैन भनेर सुनिश्चित गर्ने काम हामीले गर्नुपर्छ । भिजुअल डिजाइन अर्थात् UI डिजाइनमा पनि यही कुरा लागू हुन्छ । प्रत्येक कम्पनीको आफ्नै ब्रान्ड पहिचान हुन्छ । त्यो ब्रान्ड पहिचानलाई बुझेर डिजाइन गर्नु एआईका लागि अझै चुनौतीपूर्ण छ ।

मानिसहरूले भिजुअल डिजाइनमार्फत कस्तो अनुभूति गर्न चाहन्छन् भन्ने कुरा पनि एआईले सधैँ सही रूपमा बुझ्न सक्दैन । त्यसैले अझै पनि हामीलाई मानिसहरूको आवश्यकता छ । हामी एआईबाट आधारभूत सहयोग लिन सक्छौँ, तर मुख्य निर्णयहरू लिनका लागि मानव नै आवश्यक हुन्छ ।

तपाईंले धेरै करियर परिवर्तन गरिरहेका मानिसहरूलाई मेन्टरिङ पनि गर्दै आउनुभएको छ । नयाँ डिजाइनरहरूको पोर्टफोलियो र करियर रणनीतिमा तपाईंले देख्ने सामान्य कमजोरीहरू के–के हुन् ?

रोचक प्रश्न हो । म त्यसलाई गल्ती भन्न चाहन्न, किनभने पोर्टफोलियो डिजाइन आफैँमा धेरै ठूलो काम हो । तर मैले अहिलेसम्म मानिसहरूमा देखेका केही कमजोरीहरू छन् । यसमा दुईवटा पक्ष छन् । पहिलो पक्ष भनेको सम्पूर्ण पोर्टफोलियो हो । कहिले काहीँ तपाईंले आफ्नो पोर्टफोलियो बनाउँदा केस स्टडी कसरी बनाउने, आफ्नो कथा कसरी प्रस्तुत गर्ने वा आफ्नै ल्यान्डिङ पेज कसरी बनाउने भन्ने कुरा स्पष्ट नहुन सक्छ ।

यस्तो अवस्थामा यसबारे काम गरिसकेका मानिसहरूका युट्युब भिडियोहरू हेर्न सकिन्छ । पोर्टफोलियो कसरी बनाउने भनेर व्याख्या गर्ने धेरै मानिसहरू छन् । त्यसैले उनीहरूबाट सिकेर अघि बढ्नु उपयोगी हुन्छ । तर यो आधारभूत कुरा हो । सही तरिकाले पोर्टफोलियो बनाउनेबारे केही सामाग्री हेरेपछि मानिसहरूले यसलाई बुझ्न सक्छन् ।

तर यसभन्दा महत्वपूर्ण कुरा मैले देखेको भनेको धेरै नयाँ UX डिजाइनरहरूलाई आफूलाई सही रूपमा ‘पोजिसन’ गर्न कठिनाइ हुन्छ । उनीहरू यो ठूलो बजारमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा अन्योलमा हुन्छन् । किनभने UX डिजाइनको क्षेत्र निकै ठूलो छ र सबै UX डिजाइनर एकै प्रकारका हुँदैनन् ।

उदाहरणका लागि, केही UX डिजाइनरले कोडिङ पनि गर्छन् । उनीहरूलाई ‘युनिकर्न डिजाइनर’को समूहमा राख्न सकिन्छ । त्यस्तै, केही UX डिजाइनरले एनिमेसन पनि गर्छन् । उनीहरू डिजाइनको अर्को समूहमा पर्छन् । त्यसैले डिजाइनको क्षेत्रमा UX डिजाइनरका विभिन्न समूह र विशेषताहरू छन् ।

मलाई लाग्छ, नयाँ डिजाइनरहरू यही कुरामा कमजोर देखिन्छन् । तर म यसलाई बुझ्छु, किनभने धेरै कुरा एकैपटक गरिरहेका बेला आफू कुन क्षेत्रमा पर्छु भन्ने बुझ्न कहिले काहीँ कठिन हुन्छ । त्यसैले मेरो मेन्टरिङको मुख्य काममध्ये एउटा मानिसहरूलाई उनीहरू वास्तवमा को हुन्, उनीहरूका बलिया पक्ष के हुन् र ती पक्षलाई आफ्नो पोर्टफोलियोमा कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा बुझाउन सहयोग गर्नु हो ।

तपाईंले युरोप र संयुक्त राज्य अमेरिकामा आफ्नो करियर बनाउनुभएको छ । के तपाईंलाई नेपालमा रहेका डिजाइनरहरूले स्थानान्तरण नगरी अन्तर्राष्ट्रिय अवसर प्राप्त गर्न सक्छन् भन्ने विश्वास छ ?

हो, बिल्कुल । म यसमा शतप्रतिशत विश्वास गर्छु । हामी अहिले सूचनाको संसारमा बाँचिरहेका छौँ । सूचना हरेक ठाउँमा उपलब्ध छ । इन्टरनेट छ, सूचना छ र अहिले एआईका कारण सिक्न पनि निकै सजिलो भएको छ । त्यसैले सूचना र सिकाइ दुवै निकै सहज भएका छन् ।

म पूर्ण रूपमा विश्वास गर्छु कि नेपालमा रहेका UX डिजाइनरहरूले विश्वका अन्य ठाउँका डिजाइनरसँग प्रतिस्पर्धा गर्न सक्छन्। शतप्रतिशत ।

नेपाली डिजाइनरले अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्न र आफ्नो कामलाई विश्वव्यापी कम्पनीहरूसम्म पुर्‍याउन व्यावहारिक रूपमा के-के गर्नुपर्छ ?

मलाई लाग्छ, यसको पहिलो उपाय भनेको आफ्नो कामलाई राम्रो बनाउनु हो । आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा स्पष्ट गर्नुपर्छ । तपाईं को हुनुहुन्छ भन्ने कुरा अरूले स्पष्ट रूपमा बुझ्न सक्ने हुनुपर्छ ।

अर्को उपाय भनेको मानिसहरूसँग निरन्तर कुराकानी गर्नु, उनीहरूलाई सम्पर्क गर्नु र नेटवर्किङ गरिरहनु हो । विश्वका अन्य भागमा उद्योग कसरी सञ्चालन भइरहेको छ भनेर सिक्नुपर्छ ।

निरन्तर नेटवर्किङ गर्नुपर्छ । साथै, डिजाइनसँग सम्बन्धित धेरै अन्तर्राष्ट्रिय सम्मेलन र वेबिनारहरू अनलाइन हुने गर्छन् । त्यस्ता कार्यक्रममा सहभागी हुनुपर्छ । मलाई लाग्छ, यिनै माध्यमबाट नयाँ अवसरका ढोकाहरू विस्तारै खुल्दै जान्छन् ।

विद्यार्थी तथा भविष्यमा प्रोडक्ट डिजाइनर बन्न चाहने व्यक्तिले कुन सीप र टुललाई प्राथमिकता दिनुपर्छ ?

टुल र सीपको कुरा गर्दा, अहिले निश्चित रूपमा एआई टुलहरू महत्वपूर्ण छन् । एआई टुलहरूकै कुरा गर्दा अहिले धेरै प्रकारका एआई टुलहरू उपलब्ध छन् । मेरो सुझाव भनेको आफ्नो कार्यप्रवाहमा कुन टुल उपयुक्त हुन्छ भनेर हेर्नु हो ।

हरेक व्यक्तिको काम गर्ने प्रक्रिया अलि फरक हुन्छ । त्यसैले आफ्नो कामका लागि कुन टुल सबैभन्दा उपयुक्त हुन्छ भन्ने तपाईंले आफैँ पत्ता लगाउनुपर्छ । तपाईंको आफ्नै एआई डिजाइन टुलहरूको सेट हुन सक्छ । त्यसैगरी एआई रिसर्च टुलहरू पनि छन् ।

सामान्य डिजाइन टुलहरूमा Figma जस्ता टुलहरू छन् र अहिले क्लाउड डिजाइनलगायतका विकल्पहरू पनि छन् । सीपको कुरा गर्दा प्रोटोटाइप कसरी बनाउने, वायरफ्रेम कसरी बनाउने, UI र UX कसरी बुझ्ने जस्ता सामान्य सीपहरू त आवश्यक नै छन् ।

तर यी सीपभन्दा माथि अहिले सबैभन्दा महत्वपूर्ण सीप भनेको कुनै कुरा किन त्यस्तो छ भनेर गहिरो रूपमा विश्लेषण गर्न सक्नु हो ।

कुनै कुरा किन त्यसरी बनाइएको छ ? त्यसको पछाडिको कारण के हो ? भन्ने कुरा बुझ्न सक्नुले तपाईंलाई अझ राम्रो डिजाइनर र राम्रो समस्या समाधानकर्ता बन्न सहयोग गर्छ । मलाई लाग्छ, अहिले डिजाइनबारे अझ धेरै सिक्नका लागि पनि यो निकै राम्रो समय हो । किनभने तपाईं कुनै परिस्थितिमा हुनुहुन्छ र तपाईंले AI प्रयोग नगरी तत्कालै कुनै प्रश्नको उत्तर दिनुपर्ने भयो भने त्यो उत्तर तपाईं आफैँबाट आउनुपर्छ । त्यही क्षणमा तपाईं AI प्रयोग गर्न सक्नुहुन्न । त्यसैले डिजाइनबारे अझ धेरै सिक्नु झनै महत्वपूर्ण भएको छ ।

अहिले पनि एआईको डिजाइन पूर्ण रूपमा राम्रो छैन । त्यसैले AI ले बनाएको डिजाइनलाई सुधार्नुपर्ने हुन्छ । त्यसैले डिजाइन के हो र डिजाइनरका रूपमा हामी कसरी समस्या समाधान गर्छौँ भन्ने विषयमा अझ धेरै अध्ययन र सिकाइ आवश्यक छ ।

महामारीका कारण तपाईंको पर्यटन व्यवसाय बन्द भएपछि तपाईंको करियरमा ठूलो अवरोध आयो । त्यो असफलता, पुनः आविष्कार र दृढताबारेको अनुभवले तपाईंलाई के सिकायो ? त्यसबाट सिकेर हामी कसरी अगाडि बढ्नुपर्छ ?

मलाई लाग्छ, ती सबै असफलताले मलाई एउटा कुरा सिकायो, तपाईं असफल हुनुभयो भने पनि त्यो असफलताबाट केही न केही लिएर अघि बढ्नुपर्छ । त्यो असफलताबाट मैले के सिकेँ ? त्यसबाट के पाठ पाए ? भन्ने कुरा हेर्नुपर्छ ।

मलाई लाग्छ, असफलतामै अल्झिएर बस्नु हुँदैन । जीवनमा तपाईं पटक-पटक असफल हुनुहुन्छ । असफलता जीवनको एउटा हिस्सा हो ।

त्यसैले त्यो असफलताबाट सिकेको एउटा महत्वपूर्ण कुरा लिनुहोस् । त्यसको जिम्मेवारी लिनुहोस् र अर्को प्रोजेक्टमा पहिलेभन्दा अझ बलियो भएर अघि बढ्नुहोस् ।

मलाई थाहा छ, भन्न सजिलो छ तर गर्न निकै कठिन छ । वास्तवमै गर्न अत्यन्तै कठिन हुन्छ । तर मलाई लाग्छ, अघि बढ्ने बाटो यही हो; सिकाइ लिनुहोस्, त्यसलाई अर्को काममा प्रयोग गर्नुहोस् र निरन्तर अघि बढिरहनुहोस् । तपाईं फेरि असफल हुनुहुनेछ, तर फेरि उठ्नुहुनेछ ।

नेपालका युवा डिजाइनरहरूलाई तपाईंको सन्देश के छ, जसलाई अन्तर्राष्ट्रिय अवसरका लागि आवश्यक पृष्ठभूमि, नेटवर्क वा अवसर आफूमा छैन जस्तो लाग्छ ?

मेरो सन्देश यही हो, निरन्तर सिकिरहनुहोस् । आफ्नो पोर्टफोलियो बनाउँदै जानुहोस् । डिजाइनबारे अध्ययन गरिरहनुहोस् । एआई टुलहरूबारे सिकिरहनुहोस् ।​​​​​​​ अर्को महत्वपूर्ण कुरा भनेको आफूले सिकिरहेको कुरा अरूसँग पनि साझा गर्नु हो ।

यदि तपाईं अगाडि बढ्न चाहनुहुन्छ भने डिजाइनबारे कुरा गर्नुहोस् । एउटा भनाइ छ, ‘अरूलाई सिकाउँदा आफूले सिकिन्छ ।’ त्यसैले नेपालमा डिजाइनका विषयमा बोल्ने र आफ्ना विचार व्यक्त गर्ने अवसर खोज्नुहोस् ।

भिजुअल डिजाइन र UX डिजाइनको सन्दर्भमा नेपालको आफ्नै छुट्टै संसार छ । त्यसबारे कुरा गर्नुहोस्, अझ धेरै अध्ययन गर्नुहोस् र अन्य मानिसहरूसँग नेटवर्किङ गरिरहनुहोस् । मलाई लाग्छ, अगाडि बढ्ने बाटो यही हो ।