काठमाडौं । सडकमा ट्राफिक प्रहरी परिचालन गरेर हातको इशारामार्फत सवारीसाधन व्यवस्थापन गर्ने परम्परागत प्रणालीलाई विस्थापित गर्दै प्रविधिमा आधारित स्मार्ट ट्राफिक प्रणाली लागू गर्नुपर्नेमा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले जोड दिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीमा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति गजुरेलले यातायात व्यवस्थापनलाई आधुनिक, सहज र प्रभावकारी बनाउन प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका हुन् ।
उनका अनुसार ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी चोकमा उभिएर हात हल्लाउँदै सवारीसाधन सञ्चालन गराउनु मात्र नभई ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउनु र सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्नु हुनुपर्छ ।
गजुरेलले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि स्मार्ट ट्राफिक प्रणालीमा लगानी बढाइने जानकारी दिए । अहिले बिग्रिएका ट्राफिक बत्ती मर्मत गर्ने तथा आवश्यक स्थानमा नयाँ ट्राफिक बत्ती जडान गर्ने काम भइरहेको उनले बताए । साथै, ट्राफिक नियन्त्रण कक्ष (कन्ट्रोल रुम) लाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने योजना रहेको उनको भनाइ छ ।
कार्यक्रममा आकाशे पुल निर्माणको आवश्यकताबारे उठेको प्रश्नको जवाफ दिँदै गजुरेलले स्मार्ट ट्राफिक लाइट प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके सडक पार गर्न आकाशे पुलमाथिको निर्भरता घटाउन सकिने बताए ।
विकसित मुलुकहरूमा समेत आकाशे पुलको प्रयोग तुलनात्मक रूपमा कम हुने गरेको उदाहरण दिँदै उनले अबको प्राथमिकता आकाशे पुलभन्दा पनि इन्टेलिजेन्ट ट्रान्सपोर्टेसन सिस्टम (आईटीएस) को विकासमा रहने स्पष्ट पारे । यद्यपि, आवश्यक देखिएका स्थानमा आकाशे पुल निर्माणलाई निरन्तरता दिइने उनले बताए ।
यसैबीच, सडकमा खटिने ट्राफिक प्रहरीका लागि आवश्यक आधारभूत सुविधाको अभावबारे उठेका गुनासाप्रति पनि गजुरेलले चासो व्यक्त गरेका छन् । ड्युटीका क्रममा बस्ने ठाउँ, पिउने पानी र शौचालयजस्ता न्यूनतम सुविधा समेत पर्याप्त नभएको विषयमा आफू गम्भीर रहेको उनले बताए ।
घामपानीको प्रवाह नगरी सडकमा खटिने ट्राफिक प्रहरीको कार्यस्थललाई सहज र सुविधासम्पन्न बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
आईसीटी समाचार