कीवर्डहरू -

बाढीको विपद्मा सहारा बन्दै सरकारी पोर्टल, हराएकादेखि सहयोगसम्मको विवरण एकै ठाउँमा

बाढीको विपद्मा सहारा बन्दै सरकारी पोर्टल, हराएकादेखि सहयोगसम्मको विवरण एकै ठाउँमा

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि प्रभावितको उद्धार, बेपत्ताको खोजी र आवश्यक सहयोगलाई व्यवस्थित बनाउन सरकारले सञ्चालनमा ल्याएको ‘उद्धार अनुरोध पोर्टल’ अहिले विपद्का बेला सहयोग र समन्वयको डिजिटल माध्यम बनेको छ ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकले आफूलाई आवश्यक सहयोगको विवरण पोर्टलमा राख्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले आफूले उपलब्ध गराउन सक्ने सहयोगको प्रस्ताव समेत पोर्टलमार्फत दर्ता गर्न सक्छन् ।

उद्धारदेखि खानेपानीसम्म सहयोग माग्न सकिने
बाढी तथा अन्य विपद्का कारण समस्यामा परेका व्यक्तिले पोर्टलमार्फत विभिन्न प्रकारका सहयोग माग्न सक्छन् । उद्धार, एम्बुलेन्स, चिकित्सकीय सेवा, खाना, खानेपानी, आश्रय, यातायात, स्वयंसेवक, भारी उपकरणलगायतका आवश्यकतालाई पोर्टलमा दर्ता गर्न सकिने व्यवस्था छ ।

त्यसैगरी सहयोग गर्न चाहने व्यक्ति, संस्था वा समूहले पनि आफूसँग उपलब्ध स्रोत साधनको विवरण राख्न सक्छन् । एम्बुलेन्स तथा सवारीसाधन, खाना, खानेपानी, औषधि, स्वास्थ्य सेवा, चिकित्सक, स्वयंसेवक, आश्रय, उद्धार उपकरण, भारी उपकरणलगायतका सहयोग प्रस्ताव गर्न सकिन्छ ।

यसले एकातर्फ सहयोग आवश्यक पर्ने व्यक्ति र अर्कोतर्फ सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाबीच समन्वय गर्ने काम गर्छ ।

हराएका र फेला परेका व्यक्तिको विवरण पनि एउटै प्रणालीमा
बाढीपछि परिवार वा आफन्तसँग सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि पनि पोर्टलमा छुट्टै व्यवस्था गरिएको छ । हराएका व्यक्तिको नाम, उमेर, लिङ्ग, अन्तिम पटक देखिएको स्थान, शारीरिक विवरण, लगाएको लुगा, तस्बिर तथा रिपोर्ट गर्ने व्यक्तिको सम्पर्क नम्बरलगायतका विवरण राख्न सकिन्छ ।

बाढी प्रभावित क्षेत्रमा कुनै व्यक्ति फेला परेको तर परिवार वा आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा पनि ‘फेला परेको मानिस’का रूपमा विवरण दर्ता गर्न सकिन्छ । पोर्टलमा हराएका र फेला परेका व्यक्तिको छुट्टाछुट्टै सूची राखिएको छ ।

नक्सामै देखिन्छ सहयोगको अवस्था
पोर्टलको अर्को महत्वपूर्ण विशेषता प्रत्यक्ष नक्सा हो । नक्सामार्फत कुन स्थानमा सहयोगको अनुरोध गरिएको छ, कहाँबाट सहयोगको प्रस्ताव आएको छ, कुन ठाउँमा मानिस हराएका छन् र कहाँ फेला परेका छन् भन्ने विवरण स्थानअनुसार हेर्न सकिन्छ ।

यसले विपद् प्रभावित क्षेत्रको अवस्था बुझ्न र आवश्यकताअनुसार उद्धार तथा सहयोग परिचालन गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

आपत्कालीन नम्बरदेखि उद्धार कोषसम्म
आपत्कालीन अवस्थामा आवश्यक पर्ने विभिन्न निकायका सम्पर्क नम्बर पनि पोर्टलमा राखिएका छन् । नेपाल प्रहरी १००, दमकल १०१, एम्बुलेन्स १०२, ट्राफिक प्रहरी १०३, आपतकालीन उद्धार हटलाइन १२३४ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ११५५ लगायतका नम्बर पोर्टलमा उपलब्ध छन् ।

त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न चाहनेका लागि क्यूआर कोड समेत राखिएको छ । स्वदेश तथा विदेशबाट सहयोग गर्न इच्छुकले आधिकारिक माध्यमबाट योगदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

हजारौँ हराइरहेका, हजारौँको उद्धार तथा खोजी जारी
पोर्टलमा हालसम्म दर्ता भएको विवरणले बाढी तथा विपद्को प्रभावको गम्भीरता पनि देखाएको छ । हालसम्म ६० वर्षमाथिका ५१४ ज्येष्ठ नागरिक र १८ वर्षमुनिका ९८३ बालबालिका हराइरहेको विवरण दर्ता भएको छ ।

पोर्टलका अनुसार ४ हजार ८७४ जना फेला परेका छन् भने १५ हजार ६५ जना अझै हराइरहेका छन् । त्यस्तै, ७०४ जना परिवारको प्रतीक्षामा रहेका छन् ।

यसैगरी, हालसम्म २४८ वटा सहयोग अनुरोध र ९९ वटा सहयोग प्रस्ताव दर्ता भएका छन् । १ हजार ८२१ वटा भेटघाट तथा खोजीसम्बन्धी विवरण समाधान भएको पोर्टलमा उल्लेख छ ।