काठमाडौं । विश्वविद्यालयको परीक्षा कहिले हुने, नतिजा कहिले आउने र अर्को तहको पढाइ कहिले सुरु हुने भन्ने अनिश्चितता अन्त्य गर्ने उद्देश्यले सरकारले उच्च शिक्षाका लागि नयाँ राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगको सिफारिसमा ‘उच्च शिक्षाको प्रस्तावित राष्ट्रिय क्यालेन्डर २०८३/०८४’ स्वीकृत गरेको हो ।
नयाँ क्यालेन्डर लागू भएपछि विश्वविद्यालयहरूको शैक्षिक गतिविधि निश्चित समयतालिकामा सञ्चालन गर्नुपर्नेछ । विद्यार्थी भर्नादेखि प्रवेश परीक्षा, कक्षा सञ्चालन, परीक्षा र नतिजा प्रकाशनसम्मका गतिविधिलाई एउटै राष्ट्रिय मापदण्डमा बाँध्ने सरकारको योजना छ ।
नयाँ व्यवस्था विद्यार्थीको सबैभन्दा महत्वपूर्ण चरणमध्ये एक कक्षा १२ को नतिजा प्रकाशनलाई आधार बनाएर तयार गरिएको छ । क्यालेन्डरअनुसार स्नातक तहको भर्ना आवेदन असारदेखि सुरु हुनेछ । साउनभित्र प्रवेश परीक्षा सञ्चालन गरी नतिजा पनि सार्वजनिक गरिसक्नुपर्नेछ ।
भर्ना प्रक्रिया भदौभित्र सम्पन्न गरेर सोही महिनादेखि कक्षा सुरु गर्नुपर्नेछ । अर्थात् कक्षा १२ को नतिजा सार्वजनिक भएपछि विद्यार्थीले विश्वविद्यालयमा भर्ना र कक्षा सुरु गर्न लामो समय कुर्नुपर्ने अवस्थालाई घटाउने लक्ष्य राखिएको छ । सरकारले कक्षा १२ को नतिजा आएको आठ हप्ताभित्र पठनपाठन सुरु गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।
सेमेस्टर प्रणालीमा पनि समय तोकियो
नयाँ क्यालेन्डरले सेमेस्टर प्रणालीलाई पनि निश्चित समयसीमामा सञ्चालन गर्ने व्यवस्था गरेको छ । पहिलो सेमेस्टरको कक्षा भदौदेखि माघसम्म सञ्चालन हुनेछ । माघमै अन्तिम परीक्षा लिएर फागुनभित्र नतिजा सार्वजनिक गर्नुपर्नेछ ।
दोस्रो सेमेस्टर फागुनदेखि सुरु भई २०८४ असारसम्म सञ्चालन हुनेछ । असारमा परीक्षा लिएर साउनमा नतिजा प्रकाशन गर्नुपर्ने कार्यतालिका छ । सेमेस्टर प्रणालीमा कम्तीमा ९० घण्टा वा १६ हप्ता पठनपाठन हुनुपर्नेछ । दुई हप्ताभन्दा लामो सेमेस्टर ब्रेक लिन पाइने छैन ।
परीक्षा सकिएपछि नतिजाका लागि महिनौँ कुर्न नपर्ने
विश्वविद्यालयमा परीक्षा सकिएपछि नतिजा आउन महिनौँ लाग्ने समस्या अन्त्य गर्ने प्रयास पनि नयाँ क्यालेन्डरमा गरिएको छ । नियमित परीक्षाको नतिजा अधिकतम ६० दिनभित्र प्रकाशित गर्नुपर्नेछ । अन्तिम सेमेस्टरको नतिजा भने परीक्षा सकिएको ३० दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
स्नातक तहको अन्तिम नतिजा सार्वजनिक भएपछि पनि विद्यार्थीले अर्को तह सुरु गर्न लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले स्नातकोत्तर तहको भर्ना ३० देखि ४५ दिनभित्र सम्पन्न गरी कक्षा सुरु गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सबै भर्ना प्रक्रिया क्रमश: अनलाइनतर्फ
नयाँ क्यालेन्डरले विश्वविद्यालयको भर्ना प्रणालीलाई पनि डिजिटल बनाउने लक्ष्य लिएको छ । विश्वविद्यालयहरूले क्रमश: डिजिटल तथा केन्द्रीकृत अनलाइन भर्ना प्रणाली अपनाउनुपर्नेछ ।
प्रवेश परीक्षा आवश्यक नपर्ने सामान्य शैक्षिक कार्यक्रममा कक्षा १२ को जीपीएका आधारमा भर्ना लिन सकिनेछ । तर प्रोफेसनल तथा प्राविधिक विषयमा भने विद्यार्थीको क्षमता र रुचि परीक्षणका लागि प्रवेश परीक्षा अनिवार्य हुनेछ ।
कक्षा १२ को मौका वा ग्रेड वृद्धि परीक्षामा सहभागी विद्यार्थीलाई समेत प्रवेश परीक्षामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।
वार्षिक प्रणालीको पनि छुट्टै तालिका
वार्षिक प्रणालीतर्फ २०८३ भदौदेखि २०८४ वैशाखसम्म पठनपाठन सञ्चालन गर्ने कार्यतालिका छ । २०८४ जेठमा अन्तिम परीक्षा सञ्चालन गरी त्यसको नतिजा साउन वा भदौभित्र सार्वजनिक गर्नुपर्नेछ । यसरी वार्षिक र सेमेस्टर दुवै प्रणालीलाई निश्चित समयतालिकामा बाँध्ने सरकारको तयारी छ ।
विश्वविद्यालयको ‘ढिलासुस्ती’ रोक्ने प्रयास
नेपालका विश्वविद्यालयमा शैक्षिक सत्र नियमित नहुने, परीक्षा समयमै नहुने र नतिजा सार्वजनिक हुन लामो समय लाग्ने समस्या पुरानै हो । नयाँ राष्ट्रिय क्यालेन्डरले यही समस्यालाई लक्षित गर्दै पढाइ, परीक्षा र नतिजालाई समय सीमाभित्र राख्ने प्रयास गरेको छ ।
विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० तथा अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को प्रावधानअनुसार क्यालेन्डर कार्यान्वयन गर्न देशभरका विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थालाई निर्देशन दिइएको छ ।
सरकारको अपेक्षा छ- क्यालेन्डर प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा विश्वविद्यालयको शैक्षिक सत्र नियमित हुनेछ, विद्यार्थीको समय बच्नेछ र एउटा तह पूरा गरेपछि अर्को तह सुरु गर्न वर्षौं कुर्नुपर्ने अवस्था क्रमश: हट्नेछ । तर यसको वास्तविक प्रभाव भने विश्वविद्यालयहरूले तोकिएको समयतालिका व्यवहारमै कति कडाइका साथ लागू गर्छन् भन्नेमा निर्भर हुनेछ ।
आईसीटी समाचार