कीवर्डहरू -

सम्पदाको सौन्दर्य बढाउन सरकारको नयाँ योजना, वार्म लाइट प्रयोग गरिने

सम्पदाको सौन्दर्य बढाउन सरकारको नयाँ योजना, वार्म लाइट प्रयोग गरिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलहरूको सौन्दर्य अभिवृद्धि गर्न हाल प्रयोग भइरहेका एलइडी र सिएफएल बत्ती हटाई वार्म लाइट जडान गर्ने तयारी गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्ने सरकारको नीति तथा कार्यक्रमअनुरूप सम्पदास्थलहरूको आकर्षण बढाउन वार्म लाइट जडानको योजना अघि बढाइएको हो ।

मन्त्रालयले हाल सम्पदास्थलहरूमा प्रयोग भइरहेका सेतो प्रकाश दिने एलइडी तथा सिएफएल बत्तीले ऐतिहासिक र सांस्कृतिक संरचनाको मौलिक सौन्दर्य उजागर गर्न नसकेको निष्कर्ष निकालेको जनाएको छ । त्यसैले सम्पदाको स्वरूप र वातावरणसँग मेल खाने पहेँलो तथा न्यानो प्रकाश दिने वार्म लाइट प्रयोग गर्ने तयारी गरिएको हो ।

केही दिनअघि सञ्चारकर्मीसँगको छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरणमा विशेष ध्यान दिन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइएको जानकारी दिए ।

‘पर्यटकको मुख्य आकर्षणका रूपमा रहेका सम्पदा क्षेत्रमा अहिले पनि सेतो उज्यालो दिने एलइडी र सिएफएल बत्ती प्रयोग भइरहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘अब यस्ता स्थानमा सम्पदाको मौलिकता र कलात्मकता झल्किने गरी वार्म लाइट जडान गरिनेछ ।’

सरकारको यो योजनाले सम्पदास्थलहरूको दृश्य सौन्दर्य बढाउनुका साथै रात्रीकालीन पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।