कीवर्डहरू -

भ्रामक रोजगारी विज्ञापनमा सरकारको कडा चेतावनी, सामाजिक सञ्जाल निगरानीमा

भ्रामक रोजगारी विज्ञापनमा सरकारको कडा चेतावनी, सामाजिक सञ्जाल निगरानीमा

काठमाडौं । सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीका नाममा फैलिरहेका भ्रामक विज्ञापन नियन्त्रण गर्न सरकारले कडा कदम चाल्ने संकेत दिएको छ । विज्ञापन बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी कारबाही गरिने चेतावनी दिएको हो ।

पछिल्लो समय फेसबुक, टिकटक, ह्वाट्सएप जस्ता माध्यम प्रयोग गरी आकर्षक रोजगारीको प्रलोभन देखाएर युवायुवतीलाई विदेश पठाउने र भन्दै ठगी गर्ने कार्य बढ्दै गएको जनाइएको छ । यसबारे विभिन्न देशस्थित नेपाली दूतावासमार्फत उजुरी समेत प्राप्त भएको बताइएको छ ।

सम्बन्धित निकायका अनुसार मानव तस्करीमा संलग्न समूहहरूले सामाजिक सञ्जाललाई माध्यम बनाउँदै नेपाली युवालाई भ्रममा पार्ने र ठगी गर्ने क्रम बढ्दो छ । यस्ता प्रलोभनमा परेर विदेश पुगेका केही नेपालीहरू बेवारिसे अवस्थामा फेला परेका छन्, जसको उद्धार दूतावासमार्फत भइरहेको छ ।

यस परिस्थितिलाई ध्यानमा राख्दै वैदेशिक रोजगार विभागबाट इजाजतपत्र प्राप्त कम्पनीमार्फत मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरिएको छ । साथै, सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापनको भरमा नपर्न सर्वसाधारणलाई सचेत गराइएको छ ।

कानुनी रूपमा पनि यस्ता भ्रामक विज्ञापन प्रतिबन्धित छन् । वैदेशिक रोजगार ऐन, २०६४ र सम्बन्धित नियमावलीले अनुमति बिना रोजगारी सम्बन्धी विज्ञापन गर्न नदिने व्यवस्था गरेको छ भने विज्ञापन ऐन, २०७६ ले भ्रम फैलाउने वा झुटा सूचना दिने सामाग्री प्रकाशनलाई गैरकानुनी ठहर गरेको छ ।

बोर्डले त्यस्ता विज्ञापन तत्काल हटाउन र भविष्यमा नदोहोऱ्याउन निर्देशन दिएको छ । यदि नियम विपरीत गतिविधि भेटिएमा कानुनअनुसार कारबाही हुने स्पष्ट पारिएको छ, जसअन्तर्गत कैद वा जरिवाना दुवै हुन सक्ने प्रावधान रहेको छ ।

सरकारले सर्वसाधारणलाई सचेत रहन र शंकास्पद विज्ञापन देखिएमा सम्बन्धित निकायमा उजुरी गर्न समेत आग्रह गरेको छ ।