काठमाडौं । सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवेयर खरिद प्रक्रिया एकीकृत गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब सरकारी कार्यालयहरूमा आवश्यक सफ्टवेयर खरिद एकै निकायमार्फत गरिने व्यवस्था लागू गरिने जानकारी दिएका हुन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले नागरिक एपमा सबै सरकारी सेवा समावेश गरिने घोषणा पनि गरे । सरकारी सेवामा डिजिटल पहुँच विस्तार गर्दै नागरिकलाई एउटै प्लेटफर्मबाट सेवा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उनले बताए ।
सरकारले नेपाललाई कृत्रिम बौद्धिकता (एआई) युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको जनाएको छ । बजेटमार्फत काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गरिने घोषणा गरिएको छ ।
अर्थमन्त्री वाग्लेका अनुसार एआई प्रविधिमा आधारित उद्यम र नवप्रवर्तनलाई प्रोत्साहन गर्न हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ । ती पूर्वाधारमार्फत एआई उद्यमी तथा स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइने सरकारको योजना छ ।
आईसीटी समाचार