कीवर्डहरू -

ग्रेड सुधार परीक्षार्थीले पनि बीटेक फुड टेक्नोलोजीको प्रवेश परीक्षा दिन पाउने

ग्रेड सुधार परीक्षार्थीले पनि बीटेक फुड टेक्नोलोजीको प्रवेश परीक्षा दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले स्नातक तह बीटेक इन फुड टेक्नोलोजी कार्यक्रममा भर्ना हुन चाहने ग्रेड सुधार (Grade Improvement) परीक्षार्थीलाई पनि प्रवेश परीक्षामा सहभागी हुने अवसर दिएको छ ।

डीनको कार्यालयले जारी गरेको सूचनाअनुसार विज्ञान विषय लिएर कक्षा १२ वा सो सरहको परीक्षा दिएका तथा बढीमा दुई विषयमा नन ग्रेडेड (एनजी) भई ग्रेड सुधार परीक्षाको नतिजा प्रतीक्षामा रहेका विद्यार्थीले समेत प्रवेश परीक्षाका लागि आवेदन दिन सक्नेछन् ।

यद्यपि, अन्तिम भर्नाका लागि विश्वविद्यालयले तोकेको न्यूनतम शैक्षिक योग्यता भने अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ । ग्रेड सुधारपछि पनि आवश्यक योग्यता हासिल गर्न नसकेका विद्यार्थीलाई भर्ना नदिइने डीनको कार्यालयले स्पष्ट गरेको छ ।

आईओएसटीले प्रवेश परीक्षासम्बन्धी अन्य सबै प्रक्रिया र मापदण्ड भने यसअघि प्रकाशित सूचनाअनुसार नै लागू हुने जनाएको छ । नयाँ व्यवस्थाले ग्रेड सुधारको नतिजा पर्खिरहेका विद्यार्थीलाई प्रवेश परीक्षा छुट्ने चिन्ता बिना आवेदन दिने अवसर प्रदान गरेको विश्वविद्यालयको भनाइ छ ।