काठमाडाैं । आइतबार आयोजना गरिएको बेइजिङ ई-टाउन ह्युमनोइड रोबोट हाफ म्याराथनले प्रविधिको दुनियाँमा नयाँ इतिहास रचिदियो । यस दौडमा पहिलो पटक यस्तो भयो, जब धेरै ह्युमनोइड रोबोटहरूले प्रोफेसनल मानव धावकहरूलाई पछि पारे । यो ‘ह्युमन-रोबोट जोइन्ट रन’ थियो, जसमा १०० भन्दा बढी रोबोट र करिब १२,००० मानिस धावक एउटै २१.१ किलोमिटरको ट्र्याकमा दौडे, यद्यपि सुरक्षाका लागि दुवै समूहबीच बेरियर लगाइएको थियो ।
Just wrapped up: Beijing Yizhuang Humanoid Robot Half Marathon 2026.
— Tesla Aaron L (@TeslaAaronL) April 19, 2026
Champion: Honor’s “Lightning” robot finished in 50:26 — smashing the human half-marathon world record by ~17 minutes. pic.twitter.com/3B4XUPrYSS
‘लाइटनिङ’ रोबोटले बनायो नयाँ रेकर्ड
यस दौडको सबैभन्दा ठूलो आकर्षण ‘लाइटनिङ’ नामको रोबोट रह्यो, जसलाई चिनियाँ टेक कम्पनी अनरले विकास गरेको हो । यो रोबोटले २१.१ किलोमिटरको दूरी केवल ५० मिनेट २६ सेकेन्डमा पूरा गर्यो । यो समय मानव विश्व रेकर्डभन्दा करिब ७ मिनेट छिटो हो, जुन ज्याकब किप्लिमोले ५७ मिनेट २० सेकेन्डमा बनाएका थिए । यो उपलब्धि पछिल्लो वर्षको तुलनामा अत्यन्तै ठूलो फड्को हो, किनकि २०२५ मा सबैभन्दा छिटो रोबोटले यति दूरी तय गर्न २ घण्टा ४० मिनेटभन्दा बढी समय लगाएको थियो ।
यस प्रतिस्पर्धामा अनरका टोलीहरूको दबदबा स्पष्ट देखियो । पहिलो तीनै स्थान यही कम्पनीका रोबोटहरूले हात पारे । दोस्रो र तेस्रो स्थानमा रहेका रोबोटहरूले क्रमशः करिब ५१ र ५३ मिनेटमा दौड पूरा गरे । यी सबै रोबोटहरूमा स्मार्टफोनमा प्रयोग हुने उन्नत लिक्विड कुलिङ टेक्नोलोजी प्रयोग गरिएको थियो, जसले दौडका क्रममा उत्पन्न हुने तापलाई नियन्त्रण गर्न मद्दत गर्यो ।
एआई र अटोम्याटिक नेभिगेसनमा चीनको अग्रसरता
यसपटकको दौडमा प्रविधिको स्तर अझै अगाडि बढेको देखियो । २०२५ मा सबै रोबोटहरू रिमोटबाट नियन्त्रण गरिन्थे भने यसपटक करिब ४० प्रतिशत रोबोटहरूले आफ्नै अनबोर्ड सेन्सर र एआईको मद्दतले आफैं बाटो तय गरे ।
यस दौडमा केही अनौठा दृश्य पनि देखिए । एउटा रोबोट ट्राफिक मार्शलको भूमिकामा देखियो, जसले इशारा र आवाजमार्फत धावकहरूलाई दिशा दिइरहेको थियो । यद्यपि, सबै रोबोटहरूको प्रदर्शन पूर्ण थिएन । केही स्टार्ट लाइनमै लडे, केही बाटो भुले वा बेरियरसँग ठोक्किए ।
रोचक कुरा के रह्यो भने, अनरकै अर्को रोबोट ४८ मिनेट १९ सेकेन्डको समयसहित सबैभन्दा छिटो थियो, तर प्रतिस्पर्धामा अटोनोमस प्रदर्शनलाई प्राथमिकता दिइएकाले त्यसलाई विजेता मानिएन ।
रोबोटिक्समा चीनको बढ्दो शक्ति
चीन यस उदीयमान प्रविधिमा आफूलाई विश्व नेताका रूपमा स्थापित गर्न तीव्र गतिमा काम गरिरहेको छ । सरकारले सब्सिडी, पूर्वाधार र पोलिसी सपोर्टमार्फत यो क्षेत्रलाई प्रोत्साहन दिइरहेको छ । रिपोर्टहरूका अनुसार एजीबोट, युनिट्री रोबोटिक्स र युबीटेक रोबोटिक्स जस्ता कम्पनीहरूले विश्वमै सबैभन्दा धेरै ह्युमनोइड रोबोटहरू आपूर्ति गरिरहेका छन् । यसको उदाहरण हालै आयोजित सीसीटीभी स्प्रिङ फेस्टिभल गालामा पनि देखिएको थियो, जहाँ धेरै ह्युमनोइड रोबोटहरूले नृत्य र मार्शल आर्ट्सको शानदार प्रदर्शन गरेका थिए ।
आईसीटी समाचार