कीवर्डहरू -

सरकारी वेबसाइटमा पहुँचमैत्री सुविधा लागू, अपांगता भएका प्रयोगकर्तालाई सहज पहुँच

सरकारी वेबसाइटमा पहुँचमैत्री सुविधा लागू, अपांगता भएका प्रयोगकर्तालाई सहज पहुँच

काठमाडौं । सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई अझ सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस प्रणाली विशेष गरी अपांगता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार अब सरकारी वेबसाइटहरू किबोर्डको प्रयोगबाट मात्र पनि सहज रूपमा सञ्चालन गर्न सकिनेछ । प्रयोगकर्ताले Mouse प्रयोग नगरी वेबसाइटका सबै भागमा पहुँच पाउनेछन् । ‘स्किप नेभिगेसन’ लिंकको व्यवस्थाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोगकर्तालाई सिधै मुख्य सामाग्रीमा पुग्न सहयोग गर्नेछ ।

त्यसैगरी, वेबसाइटमा रहेका महत्वपूर्ण तस्वीर, लोगो तथा चिह्नहरूमा ‘अल्ट टेक्स्ट’ राखिएको छ, जसले स्क्रिन रिडर प्रयोगकर्तालाई सामाग्री बुझ्न सहज बनाउनेछ । फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू पनि अब स्पष्ट रूपमा सुन्न र बुझ्न सकिने गरी सुधार गरिएको विभागले जनाएको छ ।

सर्च तथा सम्पर्क फारमजस्ता इनपुट क्षेत्रमा स्पष्ट नाम र चिन्ह राखिएकाले प्रयोगकर्तालाई सजिलै प्रयोग गर्न मद्दत पुग्नेछ । साथै, किबोर्ड प्रयोगकर्ताले आफू वेबसाइटको कुन भागमा छन् भन्ने बुझ्न सक्ने गरी दृश्य संकेतहरू पनि समावेश गरिएको छ ।

फारम पेश गरेपछि प्राप्त हुने सन्देशहरू पनि स्क्रिन रिडर प्रयोगकर्ताले सजिलै थाहा पाउने व्यवस्था गरिएको छ । विभागका अनुसार यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि धेरै देखिने परिवर्तन नभए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि अत्यन्त उपयोगी हुनेछन् ।

महानिर्देशक साहले यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्याउने लक्ष्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । साथै, यसले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।