सरकारले खाद्य तथा दाना उद्योगहरूको अनुमतिपत्र अनलाइन प्रणालीबाट जारी गर्ने व्यवस्था लागू गरेको छ। सोही क्रममा उद्योग विभागले ट्रेडमार्क दर्ता गर्दा मौलिक सिर्जनामा आधारित हुनुपर्ने र निश्चित विषयवस्तु समावेश भएमा दर्ता प्रक्रिया अगाडि नबढाउने स्पष्ट पारेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘नेपाल खाद्य तथा दाना उद्योग अनुमति प्रणाली’ (NeFFILS) सञ्चालनमा ल्याएको हो। यस प्रणालीमार्फत उद्योग स्थापनाको सिफारिस, नयाँ अनुमतिपत्र प्राप्ति, नवीकरण, उत्पादन थप तथा अनुमतिपत्र खारेजीसम्बन्धी सेवा अनलाइन लिन सकिने विभागले जनाएको छ।
विभागका अनुसार समयको बचत र सुशासन प्रवर्द्धनका लागि सम्पूर्ण सेवाग्राहीलाई यस अनलाइन प्रणालीबाट सेवा लिन अनुरोध गरिएको छ। सेवा लिनको लागि https://neffils.dftqc.gov.np मा गई राजस्व तिर्नुपर्ने र प्रयोगकर्ता निर्देशिका हेर्नसमेत सूचनामा उल्लेख छ। थप जानकारीका लागि विभागको बबरमहलस्थित कार्यालय वा फोन नं. ०१-५३६२३६६, इमेल [email protected] मा सम्पर्क गर्न सकिने बताइएको छ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले ट्रेडमार्क दर्ताका लागि पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०२२ र ट्रेडमार्क निर्देशिका, २०७२ अनुसूची ५ बमोजिम निम्नलिखित विषयवस्तु समावेश भएको आवेदन दर्ता प्रक्रियामा नलिने स्पष्ट पारेको छ:
-
कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पर्ने,
-
सर्वसाधारणको सदाचार, नैतिकता, धार्मिक, सामाजिक वा सांस्कृतिक मर्यादा वा राष्ट्रिय हितमा प्रतिकूल असर पर्ने,
-
अरूको ट्रेडमार्कको ख्यातिमा धक्का पर्ने वा दर्ता भएको वा प्रक्रियामा रहेको ट्रेडमार्कसँग भ्रम पर्ने,
-
कुनै राष्ट्र वा अन्तर्राष्ट्रिय सङ्गठनको झण्डा, प्रतीक चिन्ह, नाम वा संक्षिप्त रूप, सरकारी निकायको नाम, छाप तथा लोगोसँग मिल्दोजुल्दो,
-
विश्व स्वास्थ्य सङ्गठनको जेनेरिक सूचीमा परेको औषधीको नाम,
-
ओलम्पिक चिन्हसँग मिल्दो,
-
सुपरिचित (Well Known) ट्रेडमार्कसँग मिल्दो,
-
सार्वजनिक निकायको नाम वा पदनामसँग मिल्दो,
-
छिमेकी वा मित्र राष्ट्र वा अन्तर्राष्ट्रिय सङ्गठनसँगको सम्बन्धमा प्रतिकूल असर पर्ने,
-
पहिला दर्ता रहेको ट्रेडमार्कमा अघि वा पछि सर्ग, उपसर्ग जोडिएको,
-
भौगोलिक नामसँग मिल्दो वा भौगोलिक स्रोतको गलत संकेत दिने,
-
राष्ट्रिय जनगणनाको पछिल्लो प्रतिवेदनमा उल्लिखित जातजाति जनाउने शब्द भएको,
-
सम्बन्धित वस्तु तथा सेवाकै वर्णनात्मक शब्द भएको,
-
प्रचलित कानूनले निषेध गरेको चिन्ह, शब्द वा लोगो भएको।
उद्योग विभागले उक्त सूचना मिति २०८३/१२/१८ (ने.सं. ११४६ चौलाथ्व) मा जारी गर्दै यस्ता प्रकृतिका आवेदन आएमा ट्रेडमार्क दर्ता प्रक्रिया अगाडि नबढाइने चेतावनी दिएको छ।
दुवै सूचनाले व्यवसायी तथा उद्योगीलाई डिजिटल सेवा अपनाउन र बौद्धिक सम्पत्तिको संरक्षणमा पारदर्शिता कायम गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
आईसीटी समाचार