कीवर्डहरू -

युवालाई एआई सीप सिकाउँदै भारत, एक वर्षमा १ करोडलाई तालिम दिने मोदीको घोषणा

युवालाई एआई सीप सिकाउँदै भारत, एक वर्षमा १ करोडलाई तालिम दिने मोदीको घोषणा

काठमाडौं । भारत सरकारले आगामी एक वर्षभित्र १ करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप प्रदान गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।

भारतको ८० औँ स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीस्थित लालकिलाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले एआईको क्षेत्रमा दक्ष जनशक्ति तयार पार्ने घोषणा गरेका हुन् ।

मोदीले भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यमा युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रविधिको तीव्र विकाससँगै युवालाई नयाँ पुस्ताका सीपमा दक्ष बनाउन आवश्यक रहेको बताए ।

उनका अनुसार आगामी एक वर्षमा १ करोड युवालाई एआईसम्बन्धी तालिम दिएर उनीहरूलाई विश्वस्तरीय प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ ।

प्रधानमन्त्री मोदीले एआईको क्षेत्रमा भारतलाई केवल प्रयोगकर्ता नभई विश्व नेतृत्व गर्ने देशका रूपमा स्थापित गर्ने सरकारको उद्देश्य रहेको बताए ।

उनले विकसित भारत निर्माणको अभियानमा युवालाई केन्द्रमा राख्दै प्रविधि, सीप र नवप्रवर्तनमार्फत देशलाई तीव्र गतिमा अघि बढाउने सरकारको योजना रहेको पनि उल्लेख गरे ।

मोदीका अनुसार विश्वभर एआईको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला भारतले पनि यस क्षेत्रमा ठूलो संख्यामा दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि युवाको सीप विकासलाई प्राथमिकतामा राखिने सरकारको योजना छ ।