कीवर्डहरू -

इनोभेटर: नेपालको आफ्नै घरेलु ‘सुपर एप’ जसले विद्यार्थीलाई सिक्न, बनाउन र आम्दानी गर्न एउटै डिजिटल चौतारी दिन खोज्दैछ

इनोभेटर: नेपालको आफ्नै घरेलु ‘सुपर एप’ जसले विद्यार्थीलाई सिक्न, बनाउन र आम्दानी गर्न एउटै डिजिटल चौतारी दिन खोज्दैछ

काठमाडौं । डिजिटल युगमा जहाँ विद्यार्थीहरू अनगिन्ती विज्ञापन र अनुपयुक्त सामग्रीमा अल्झिरहेका छन्, त्यहाँ नेपालकै आठ इन्जिनियरको एउटा टोलीले त्यसको विकल्प तयार पार्न एक वर्षभन्दा बढी समय खर्चिएको छ । उनीहरूले निर्माण गरेको प्लेटफर्मको नाम हो इनोभेटर

प्राविधिक र आविष्कारप्रति रुचि राख्ने पुस्ताका लागि यसलाई नेपालकै पहिलो ‘सुपर एप’ का रूपमा अघि सारिएको छ । यो एपले सामाजिक सञ्जाल, ई-लर्निङ, ई-कमर्स र मेसेजिङलाई एउटै विज्ञापनरहित प्लेटफर्ममा समेटेको छ, र कुनै औपचारिक प्रचारबिनै स्कुल स्तरमा यसको लोकप्रियता बढ्दै गएको छ ।

यसको अवधारणा ल्याउने व्यक्ति हुन्, संस्थापक राजू श्रेष्ठ र सिईओ तथा संस्थापक रोनित श्रीवास्तब । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ पृष्ठभूमिका श्रेष्ठले आफ्नै असहजतालाई उत्पादनमा बदलेका छन् ।

null(संस्थापक राजू श्रेष्ठ)

उनी भन्छन्, “यो कन्सेप्ट चाहिँ मेरो ब्याकग्राउन्ड इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ भएको कारणले गर्दा हो । इन्जिनियरिङलाई फोकस गरेर कुनै पनि सोसल मिडिया प्ल्याटफर्महरू नभएको कारणले र अहिलेका विद्यार्थीहरूलाई विश्वभरि चलिरहेका सामाजिक सञ्जालहरू एकदमै अनुपयुक्त लागिरहेको अवस्था छ । भल्गर कन्टेन्टदेखि लिएर अत्यधिक एडहरू आउने समस्या पनि धेरै देखिएको छ । त्यसैले हामीले यस्तो एप बनायौँ, जसमा उनीहरूले सोसल मिडिया जसरी प्रयोग पनि गर्न सकून, टेक्स्ट पनि गर्न सकून, र सँगसँगै उनीहरूले इनोभेसन गर्दैछन् भने त्यही प्लेटफर्ममै बसेर सामान पनि किन्न सकून, पढ्न मन छ भने एउटै प्लेटफर्मबाटै पढ्न पनि सकून । त्यसैले हामीले यसलाई ‘सुपर एप’ भनेका छौँ, जसमा ई-लर्निङ, ई-कमर्स, सोसल मिडिया र मसेजिङ सिस्टमहरू सबै इन्टिग्रेट गरिएको छ ।”

गुगल प्ले स्टोर विवरणले पनि ज्ञान बाँडफाँड र व्यावहारिक टूलहरूको यो साझा चौतारीको परिकल्पनालाई पुष्टि गर्छ । तर नेपालको भिडभाड स्टार्टअप क्षेत्रमा इनोभेटरलाई साँच्चै फरक बनाउने कुरा हो;  विद्यार्थीको आविष्कार र आम्दानीमा गरिएको तीक्ष्ण फोकस ।

फाइनल इयर प्रोजेक्टलाई कमाईमा बदल्ने प्रयास

हरेक वर्ष हजारौँ इन्जिनियरिङ, आईटी र रोबोटिक्सका विद्यार्थीले आफ्ना ब्ल्याक बुक, प्रोजेक्ट रिपोर्ट र प्रोटोटाइप विश्वविद्यालयमा बुझाउँछन् – ती मेहनतका दस्ताबेज प्रायः क्याम्पसकै कुनामा धुलो खाँदै बस्छन् । राजू स्वयंले यो पीडा भोगिसकेका छन् । “म इन्जिनियरिङ विद्यार्थी हुँदा फोर्थ इयर पुग्दासम्म डिफरेन्ट प्रोजेक्टहरू गरेँ, अराउन्ड १९ वटा प्रोजेक्ट गरेँ मैले । नेपालमा स्यानिटरी प्याड भेन्डिङ मेसिन चाहिँ लगभग पहिलोपटक मैले इन्ट्रोडुस गरेँ । त्यो मेरो फाइनल इयर प्रोजेक्ट पनि थियो । तर आज त्यसको ब्ल्याक बुक कलेजको कुनै कुनामा मात्रै सीमित छ,” उनी सुनाउँछन् ।

इनोभेटरले यही अवस्थालाई बदल्ने योजना बनाएको छ । “बिस्तारै हामीले युनिभर्सिटी लेभलमा पढिराखेका विद्यार्थीहरूको हरेक वर्षको ब्ल्याक बुक, रिपोर्ट, प्रपोजल र रिसर्चहरू त्यत्तिकै विश्वविद्यालयमा खेर जाने भएकाले उनीहरूले पनि यस प्लेटफर्ममा आफ्ना ब्ल्याक बुक, फाइनल इयर प्रोजेक्टहरू पब्लिस गरेर एउटा सोर्स अफ इन्कम जेनरेट गर्न सकून भनेर काम गरिरहेका छौँ । पन्ध्र दिन भित्र त्यो पनि सार्वजनिक भईसक्ने छ,” राजू बताउँछन् । प्लेटफर्मले बिक्रीमा निश्चित कमिसन लिनेछ, जसले आचारसंगत मुद्रीकरणको बाटो खुल्नेछ र फिड विज्ञापनमुक्त रहनेछ ।

प्रारम्भिक चरणमै रहे पनि एपले ‘एकदमै स्मुथ’ प्रतिक्रिया पाइरहेको छ । टोलीले विज्ञापन वा प्रायोजित लेखमा एक रुपैयाँ पनि खर्चेको छैन । “अहिलेसम्म हामीले त्यस्तो कुनै एडहरू, कुनै पनि लेख समाचारहरू यताउति कतै पनि दिएका छैनौँ । तर विद्यार्थीबीच लोकप्रियता बढ्दैछ र एकदमै धेरै प्रयोग गरिरहेका छन्,” राजू भन्छन् ।

संयुक्त राज्य अमेरिकामा रहेका केही साथीभाइ तथा प्रारम्भिक प्रयोगकर्ताले समेत सहज अनुभव सुनाएका छन् । “हाम्रो साथीभाइ जो युएसमा हुनुहुन्छ, त्यहाँबाट पनि हामीले रेस्पोन्स लिँदा ‘यहाँ युएसमा पनि हामीले एकदमै स्मुथली चलाइरहेका छौँ, यो कसरी भइरहेको छ ?’ भन्ने कुरा आउँछ । किनभने हाम्रो सम्पूर्ण सर्भर चाहिँ एनसेलको डेटा सर्भरमा राखेका छौँ, त्यसैले यो एकदमै स्मुथ, लाइट र इजी टु युज छ ।”

null(सह-संस्थापक एवं सीईओ रोनित श्रीवास्तव)

एपको संरचना माइक्रो सर्भिसमा आधारित छ, जुन पाठ कठिन तरिकाले सिकिएको थियो । सह-संस्थापक एवं सीईओ रोनित श्रीवास्तवसहितको टोलीले सुरुमा बलियो डिजाइनबिनै कोडिङ सुरु गरेको थियो । “हामी पहिलो प्रयासमा फेल भयौँ,” उनी स्वीकार्छन् ।

“एक-डेढ वर्ष अगाडि हामीले उचित योजना बिनानै केही बनाउन सुरु गर्यौँ तर फेल भयौँ । अनि किन फेल भयौँ भनेर आर्किटेक्चरहरू बनाउँदै जाँदा बुझ्यौँ– यसमा माइक्रो सर्भिसहरू युज गर्नुपर्ने रहेछ, इन्डिपेन्डेन्टली ह्यान्डल गर्नुपर्ने रहेछ । त्यति फेल हुँदासम्म हामीले धेरै लगानी डुबाइसकेका थियौँ । नेपालमा डेभलपरहरूको रेट बढिरहेको छ तर इफिसिएन्ट आर्किटेक्चर कसरी डिजाइन गर्ने भन्ने ट्रेनिङ नै हुँदैन । त्यसैले धेरै स्टार्टअपले फर्स्ट फेलियर भोग्नुपरेको छ ।”

सीप सर्कल, मार्गदर्शन र लगानीकर्ता सम्पर्क
इनोभेटर केवल प्रदर्शनी बोर्ड मात्र होइन । फिड नै ज्ञानले भरिपूर्ण हुने गरी डिजाइन गरिएको छ । “सामाजिक सञ्जालमा हालिएको सबै पोष्टहरु सान्दर्भिक रेहका छन् ।,” राजू टिप्पणी गर्छन् । आईओटी, रोबोटिक्स वा कोडिङ सिक्न चाहने नवशिक्षुहरूका लागि प्लेटफर्मले विज्ञ र मार्गदर्शकहरूलाई सहजै उपलब्ध गराउँछ । “डिफरेन्ट डेभलपरहरू अनि डिफरेन्ट रोबोटिक्स सेक्टरका मान्छे, विज्ञहरू यस एपमा हुनुहुन्छ । उहाँहरूले ‘यसरी मैले यो गरेको छु’ भनेर पोस्ट गरिरहनुभएको छ । नयाँले त्यो देखेर ‘मैले यस्तो गर्न खोज्दैछु, कसरी गर्ने ?’ भनेर सिधै सोध्न सक्नुहुन्छ ।”

राजूका अनुसार, सुरुवाती चरणमा रहेको सिफारिस इन्जिनले प्रयोगकर्ताको बायो र गतिविधिको आधारमा बौद्धिक स्तर मिल्ने व्यक्तिहरूको सुझाव दिनेछ । यसले नेटवर्कलाई केवल सामाजिक होइन, व्यापार र सिकाइको वास्तविक सम्पत्ति बनाउने अपेक्षा गरिएको छ ।

null

मल्टी-लेयर इन्क्रिप्सनसहितको गोपनीयता र (हाल) मानवीय निगरानी

डेटा सार्वभौमिकता बढ्दो चासोको विषय बन्दै गर्दा इनोभेटरले सुरक्षालाई केन्द्रमै राखेको छ । “हामीले डेटाहरूमा मल्टीलेभल इन्क्रिप्सन सिस्टम राखेका छौँ । तपाईंहरूले गरेको च्याट पनि ह्यास कोडको फर्ममा बस्छ, त्यो पनि मल्टीलेयरमा । हरेक एक्टिभिटी इन्क्रिप्सन भएर बस्छ । सेक्युरिटी लेभल एकदमै हाई छ,” राजू विश्वस्त पार्छन् ।

सामग्री नियमन भने हाल मानवीय नेतृत्वमा छ । कसैले एउटा मात्र रिपोर्ट गरे पनि टोलीको ड्यासबोर्डमा तत्काल अलर्ट आउँछ, र पोस्ट समीक्षा गरी हटाइन्छ वा प्रयोगकर्तालाई ब्लक गरिन्छ । एमएलमा आधारित सिफारिस र नियमन प्रणालीमा काम भइरहे पनि टोली अहिले प्रविधिलाई अझै ‘मस्ट इफिसिएन्ट’ बनाउनेमा केन्द्रित छ ।

विज्ञापनबिनाको मुद्रीकरण र सरकारसँग अपिल

संस्थापकहरूको व्यक्तिगत पुँजीबाट मात्र सञ्चालित – “ग्रान्ट फन्डिङ बिना, आफ-आफ्नो गोजीबाट पैसा उठाएर”, आठ सदस्यीय टोलीले एमएल/एआईदेखि एप डेभलपमेन्टसम्म सबै काम आन्तरिक रूपमै गरिरहेको छ । मुद्रीकरणको हालको स्रोत ई-लर्निङ कोर्स र ई-कमर्स साझेदारहरूबाट लिइने कमिसन हो, जसमा शिक्षा नेपाल, डिजिटल गुर्खा, साथै ब्याम्बु बजार जस्ता उपहार र इलेक्ट्रोनिक विक्रेता कम्पनी जोडिएका छन् । “स्टुडेन्टहरूलाई हेल्पफुल हुने खालको कम्पनी र संस्थाहरुलाई मात्र हामी अनबोर्ड गर्छौँ, अरु गर्दैनौँ,” राजू स्पष्ट पार्छन् ।

दीर्घकालीन योजनामा भ्वाइस कल, एट्याचमेन्ट र भिडियो कल समावेश छ, तर यसका लागि सर्भर स्तरोन्नति आवश्यक छ । “हामी भिडियो कल इम्प्लिमेन्ट गर्न सक्छौँ, तर हाम्रो बजेटको सर्भरले धान्दैन । कतै न कतैबाट ग्रान्ट वा डोनेसन आयो भने मात्र चलाउँछौँ,” उनी बताउँछन् । साथै उनले नीति निर्माताहरूलाई सीधै अपिल गरेका छन्- “यहाँबाट फेसबुक, इन्स्टा, लिंकडिनको डेटा बाहिर विदेशतिर ट्रान्सपोर्ट भइरहेको छ । हाम्रो प्लेटफर्मले डेटा नेपालमै राख्छ र त्यसको फाइदा छ । गभर्मेन्टले हाम्रो डेटा नेपालमै रहोस् भनेर यसलाई ध्यान दिनुपर्छ र ग्रान्ट वा फन्डिङमा सहयोग गर्नुपर्छ ।”

एपमा हाल धैरै सुविधाहरू तयारी अवस्थामा छन्; रिसर्च पेपर बजार, उन्नत सिफारिस प्रणाली, र क्रमशः एआई/एमएल-संचालित सामग्री नियमन । प्रोजेक्ट प्रकाशनको टूल सार्वजनिक भएपछि मात्र कलेजहरूमा पुग्ने कार्यक्रम सुरु हुनेछ । “त्यसपछि हामी अल्मोस्ट सबै कलेज र युनिभर्सिटीसँग समन्वय गर्छौँ,” राजू बताउँछन् ।
अहिले इनोभेटर मौन रूपमा प्रमाणित गर्दैछ कि नेपालमै बनेको सामाजिक प्लेटफर्म हलुका, प्रयोगकर्ताको गोपनीयताप्रति संवेदनशील र अर्थहीन स्क्रोलिङबाट थकित समुदायका लागि साँच्चै उपयोगी हुन सक्छ । प्ले स्टोरको सूची लाइभ डाउनलोडले बढ्दै जाँदा टोलीको आशा एउटा सरल समीकरणमा अडिएको छ; सीप + उपयोगिता + शून्य विज्ञापन = नेपालको नयाँ पुस्ताका सिर्जनकर्ताहरूका लागि डिजिटल घर ।