काठमाडौं । आजकल धेरै मानिसहरू हवाई यात्रा गर्न रुचाउँछन् । हवाई यात्राले फरक अनुभव दिने भएकाले यसको महत्त्व पनि विभिन्न व्यक्तिका लागि फरक हुन्छ । बच्चाहरू जहाजबाट बाहिरको दृश्य हेरेर रमाउँछन् भने व्यवसायी तथा अन्य काम गर्ने मानिसहरू यात्रा गर्दासमेत आफ्नो कामलाई निरन्तरता दिन चाहन्छन् । यही कारणले अहिले इन फ्लाइट वाइफाई सेवा धेरै लोकप्रिय बन्दै गएको छ ।
विश्वका धेरै एयरलाइन्सहरूले विमानभित्र इन्टरनेट तथा मोबाइल कम्युनिकेसन सेवा सुरु गरिसकेका छन् । एयर एसिया, एयर फ्रान्स, ब्रिटिस एयर, इजिप्ट एयर र कतार एयरवेजलगायत धेरै एयरलाइन्सहरूले अन्बोर्ड कनेक्टिभिटी सेवा प्रदान गरिरहेका छन् । विभिन्न देशहरूले पनि विमानभित्र मोबाइल सेवा प्रयोग गर्न अनुमति दिएका छन् ।
इन फ्लाइट वाइफाई मुख्य रूपमा दुई प्रविधिबाट सञ्चालन हुन्छ । पहिलो, ग्राउन्ड बेस्ड सेल टावर अर्थात् एयर टु ग्राउन्ड (ATG) प्रणाली र दोस्रो, स्याटेलाइट प्रविधि । ग्राउन्ड बेस्ड प्रणालीमा जमिनमा रहेका सेल टावरहरूले सिग्नल पठाउँछन् र जहाजको तल जडान गरिएको एन्टेनाले ती सिग्नल ग्रहण गर्छ । यस प्रणालीबाट सामान्य इमेल, फेसबुक तथा अन्य एप प्रयोग गर्न सकिने वाइफाई उपलब्ध हुन्छ ।
दोस्रो प्रविधि स्याटेलाइट प्रणाली हो । यसमा जहाजको माथिल्लो भागमा रहेको एन्टेनाले नजिकको स्याटेलाइटसँग सम्पर्क गर्छ । त्यसपछि सिग्नल वायरलेस एक्सेस पोर्टल (WAP) मार्फत यात्रुहरूको मोबाइल वा ल्यापटपमा पुर्याइन्छ । यस प्रविधिले समुद्र माथि उड्दा पनि इन्टरनेट सेवा उपलब्ध गराउन सक्छ, तर उत्तरी र दक्षिणी ध्रुव क्षेत्रमा भने सेवा प्रभावकारी हुँदैन ।
हवाईजहाजमा यात्रा गर्दा यात्रुहरूलाई मोबाइल फोन एयरप्लेन मोडमा राख्न भनिन्छ । एयरप्लेन मोडले मोबाइलको सेलुलर नेटवर्क, वाइफाई, ब्लुटुथ र जीपीएसजस्ता वायरलेस सेवाहरू बन्द गर्छ । यसले जहाजको सञ्चार प्रणालीमा असर नपरोस् भन्ने उद्देश्य राख्छ । तर एयरप्लेन मोडमा पनि मोबाइलका क्यामेरा, गेम्स तथा अन्य अफलाइन फङ्सनहरू प्रयोग गर्न सकिन्छ ।
यसरी इन फ्लाइट वाइफाई र एयरप्लेन मोड आधुनिक हवाई यात्राका महत्त्वपूर्ण प्रविधि बनेका छन् । यी प्रविधिले यात्रुलाई आकाशमै बसेर पनि इन्टरनेट प्रयोग गर्न र आवश्यक काम गर्न सहज बनाएका छन् ।
आईसीटी समाचार