कीवर्डहरू -

प्रलोभनमा पारेर अनलाइनबाट ठगी गर्ने चारजना पक्राउ, बाइनान्सबाट १० करोड बढीको कोरोबार

प्रलोभनमा पारेर अनलाइनबाट ठगी गर्ने चारजना पक्राउ, बाइनान्सबाट १० करोड बढीको कोरोबार

अनलाईनमार्फत ठगी गरेर बाइनान्स एपबाट लगानी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । उक्त कार्यमा संलग्न काभ्रेका सुदीप प्याकुरेल, सोलुखुम्बुका सञ्जय बस्नेत, नुवाकोटका छेवाङ लामा र सिन्धुपाल्चोकका करण तामाङ गोललेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । 

उनीहरूले सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, इन्टाग्राम लगायतका एप्सहरुको माध्यमबाट साथी बनाई कुराकानी गरी विभिन्न प्रलोभन देखाई सामान पार्सल, अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाउनुका साथै अनधिकृत रुपमा ईसेवा आईडीमा समेत पहुँच पुर्‍याई गैरकानूनी कार्य गरी विभिन्न व्यक्तिहरूको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा रु. १६ लाख ५९ हजार रकम ट्रान्सफर गरेका थिए । 

काठमाडौंको सरस्वतीनगरबाट पक्राउ गरेका ४ जनालाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौं पठाईएको कार्यालयले जनाएको छ ।अनुसन्धानका क्रममा उनीहरूले बाईनान्स एपबाट लगानी गर्ने गरेको समेत खुलेको छ । अपराध अनुसन्धान कार्यालयका अनुसार सञ्जय वस्नेतले ६ करोड ३८ लाख र करण तामाङले ४ करोड ५६ लाख रूपैयाँ बाइनान्समा कारोबार गरेको देखिएको छ । 

उनीहरूले अनलाइनबाट ठगी गरेको रकम बाइनान्स एपबाट लगानी गरी विभिन्न एटीएम बुथबाट नगद भुक्तानी लिने गरेको प्रहरीले बताएको छ । साथै उनीहरूको साथबाट प्रहरीले बजाज मोटरसाइटकल, ५ थान मोबाल, ल्यापटप, १५ थान एटीएम कार्ड, १२ थान चेकबुक, ४ थान एटीएम स्लिप र २ लाख नगद बरामद गरेको छ ।