काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्धित भिडियो फेसबुकबाट केही समयका लागि हटाइएको घटनाप्रति भारत सरकारसँग औपचारिक रूपमा माफी मागेको छ । भारत सरकारले उक्त घटनालाई गम्भीर रूपमा लिएर स्पष्टीकरण मागेपछि मेटाले आफ्नो त्रुटि स्वीकार गरेको हो ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मातृ कम्पनी मेटाका वरिष्ठ अधिकारीहरूले सूचना तथा प्रविधिमन्त्री अश्विनी वैष्णवसँग भेट गरी भिडियो हटाइएको घटना प्राविधिक त्रुटिका कारण भएको भन्दै खेद व्यक्त गरेका छन् ।
मेटाका ग्लोबल अफेयर्स प्रमुख जोएल कपलान पनि उक्त टोलीमा सहभागी थिए । उनले सूचना प्रविधि मन्त्रालयका सचिव एस कृष्णनसँग छुट्टै छलफल समेत गरेका थिए ।
यसअघि भारतीय संसदअन्तर्गतको सूचना प्रविधिसम्बन्धी स्थायी समितिले मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गलाई प्रधानमन्त्री मोदीको भिडियो हटाइएको विषयमा तीन दिनभित्र माफी माग्न निर्देशन दिएको थियो । समितिले समयमै जवाफ नआए कानुनी तथा संसदीय कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको थियो ।
प्रधानमन्त्री मोदीले भारतीय युवालाई सम्बोधन गर्दै परीक्षा प्रश्नपत्र चुहावटविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धतासहित फेसबुकमा सार्वजनिक गरेको भिडियो केही समयका लागि हटाइएको थियो । त्यसपछि भारत सरकारले मेटासँग यसबारे स्पष्टीकरण मागेको थियो ।
मेटाले भने उक्त सामाग्री नीतिगत निर्णयका कारण नभई प्राविधिक त्रुटिवश हटाइएको र गल्ती थाहा पाएलगत्तै पुन: फेसबुकमा उपलब्ध गराइएको जनाएको छ ।
यसैबीच संसदीय समितिले मेटालगायत डिजिटल प्लेटफर्महरूमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामाग्री तथा महिलाविरुद्ध अपमानजनक सामाग्री नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न पनि आग्रह गरेको छ ।
आईसीटी समाचार