कीवर्डहरू -

सूचना प्रविधि क्षेत्रमा विना हिच्किचाहट लगानी गर्न मन्त्री शर्माको आह्वान

सूचना प्रविधि क्षेत्रमा विना हिच्किचाहट लगानी गर्न मन्त्री शर्माको आह्वान

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधि विकासका लागि उपयुक्त मुलुक भएकाले यस क्षेत्रमा लगानी भित्र्याउन लगानीकर्ताहरुलाई आह्वान गरेकी छन् । 

एशिया प्रशान्त क्षेत्रका १७ राष्ट्रका सूचना प्रवधि उद्योग सञ्चालकहरुको संस्था एशिया प्यासिफिक आइसिटी अलाइन्स (एपिक्टा)का पदाधिकारीहरुसँगको अन्तर्क्रियालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आह्वान गरेकी हुन् । 

‘आगामी वैशाख १६ र १७ गते काठमाडौँमा सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ । यो लगानी सम्मेलनमा विदेशी लगानीका साथै नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने गरी तयार अगाडि बढाइएको छ र सोका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारहरु समेत भइरहेका छन्’– मन्त्री शर्माले भनिन ‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा आज हामी विच उपस्थित एसिया प्रशान्त क्षेत्रका विभिन्न १७ राष्ट्रका सूचना प्रविधि उद्योगका प्रतिनिधिहरुलाई सूचना प्रविधिको क्षेत्रमा विना हिच्किचाहट लगानी भित्र्याउन र र आफ्नो संघसंस्था मार्फत आवश्यक पहल गर्न अनुरोध गर्दछु ।’

यसका लागि नेपाल सरकार आवश्यक सहजीकरण गर्न एवं विश्वासको वातावरण निर्माण गर्न तयार रहेको जानकारी गराउँदैउ उनले सूचना प्रविधिको विकास, विस्तार, प्रयोग र लगानीका सम्वन्धमा विभिन्न देशका प्रतिनिधहरुको अनुभव आदानप्रदानले नेपाल सरकार र  निजी क्षेत्रलाई समेत सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिन । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ यसको समसामयिक परिमार्जनको कार्य अगाडि बढाएको जानकारी दिंदै उनले डिजिटल फाउन्डेसनका डिजिटल सार्वजनिक पूर्वाधारहरुलाई सुरक्षित र अन्तर्क्रियात्मक बनाउँदै समग्र प्रणालीप्रतिको विश्वासलाई बृद्धि गरी सुशासन र विकासमा टेवा पुर्याउने सरकारको लक्ष्य रहेको जानकारी दिइन ।  

प्रत्येक वर्ष १० हजारभन्दा बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थप भइरहेको उल्लेख गर्दै उहाँले युवा पलायन रोक्न देशभित्रै रोजगारी सिर्जना गर्ने र बिना अवरोध स्वतन्त्र रूपमा सफ्टवेयर निर्यात गर्नसक्ने भएकाले सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन । 

देशभर गुणस्तरीय पूर्वाधार पुर्याउने,  स्टार्टअपको प्रवर्धनका लागि इन्कुबेशन र एक्सलेरेसनको कार्यक्रम संचालन गर्ने, सूचना प्रविधि उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सूचना प्रविधि प्रर्दशनी गर्ने,सूचना प्रविधि उद्योगलाई एकै थलोबाट सञ्चालन गर्न आइटी पार्क, सूचना प्रविधि हब जस्ता अवधारणालाई अघि बढाउने सरकारको योजना रहेको पनि मन्त्री शर्माको भनाइ छ ।