काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार परीक्षामा न्यूनतम ४० अंक प्राप्त गरेका विद्यार्थीको प्रारम्भिक योग्यताक्रमसहित नतिजा प्रकाशन गरिएको महानगरपालिकाले जनाएको छ ।
उक्त छात्रवृत्ति महानगरभित्र सञ्चालित संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न प्रदान गरिनेछ । विद्यार्थीहरूले अनलाइन आवेदन भरेको पोर्टलमार्फत आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्ने व्यवस्था गरिएको छ ।
महानगरका शिक्षा अधिकारी तथा परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार प्रकाशित नतिजा प्रारम्भिक भएकाले चित्त नबुझेका परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।
पुनर्योगका लागि जेठ २० गते कार्यालय समयभित्र शिक्षा विभागमा निवेदन दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ । महानगरका अनुसार पुनर्योगका लागि एक हजार रुपैयाँ राजस्व बुझाई प्रवेशपत्रको प्रतिलिपिसहित निवेदन दिनुपर्नेछ ।
यस वर्षको परीक्षामा एक विद्यार्थीले सर्वाधिक ९२ अंक प्राप्त गरेका छन् । यस्तै, दोस्रो उच्च अंक ९१ एक जना विद्यार्थीले प्राप्त गरेका छन् भने पाँच जना विद्यार्थीले ९० अंक हासिल गरेका छन् ।
छात्रवृत्ति छनोटका लागि महानगरपालिकाले गत जेठ ३ गते सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार काठमाडौंका ८३ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।
परीक्षाका लागि २६ हजार ८८८ जनाले अनलाइन आवेदन दिएका थिए । तीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएको महानगरपालिकाले जनाएको छ ।
महानगरले आर्थिक अवस्था, अवसरको समान पहुँच र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित संस्थागत विद्यालयमा छात्रवृत्तिमार्फत विद्यार्थी छनोट गर्दै आएको छ ।
आईसीटी समाचार