कीवर्डहरू -

एकेडेमिया कलेजमा दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापन विषयक राष्ट्रिय सम्मेलन

एकेडेमिया कलेजमा दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापन विषयक राष्ट्रिय सम्मेलन

काठमाडौं । एकेडेमिया इन्टरनेसनल कलेजले दिगो तथा नवप्रवर्तनमुखी वित्तीय व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । 

कलेजको अनुसन्धान व्यवस्थापन कक्षको आयोजनामा शनिबार आयोजित एकदिने सम्मेलनमा शिक्षाविद्, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), तथ्यांक विश्लेषण, ब्लकचेन प्रविधि, क्लाउड कम्प्युटिङ, वित्तीय प्रविधि (फिनटेक), साइबर सुरक्षा तथा डिजिटल सुशासनजस्ता आधुनिक प्रविधिले वित्तीय व्यवस्थापनमा ल्याइरहेको परिवर्तनबारे गहन छलफल गरिएको थियो ।

साथै, यी प्रविधिलाई दिगो वित्तीय अभ्याससँग जोडेर पारदर्शी, प्रभावकारी, उत्तरदायी र समावेशी वित्तीय प्रणाली निर्माण गर्ने विषयमा विशेष जोड दिइएको थियो । सम्मेलन उद्घाटन, वक्तव्य, प्राविधिक शोधपत्र प्रस्तुति तथा समापन सत्र गरी चार चरणमा सञ्चालन गरिएको थियो ।

उद्घाटन समारोहको सञ्चालन शैक्षिक प्रमुख विश्व माथेमाले गरेका थिए । कार्यक्रममा कलेजका अध्यक्ष बोबी प्रधान, क्याम्पस प्रमुख राजेश प्रसाद श्रेष्ठ, सञ्चालक समिति सदस्य धर्म महाराजन लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिका रूपमा अमेरिकास्थित क्रिस्टोफर न्युपोर्ट विश्वविद्यालयका प्रा.डा.  ज्ञान प्रधान तथा ललितपुर महानगरपालिका ७ का वडाध्यक्ष कुलबहादुर महर्जन सहभागी थिए । अनुसन्धान व्यवस्थापन कक्षका प्रमुख डा. राजन विलास बज्राचार्य विशेष अतिथिका रूपमा उपस्थित भए ।

सम्मेलनमा सूचना प्रविधि, वित्त, नवप्रवर्तन र दिगोपनासम्बन्धी २० वटा छनोट भएका अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो । ती अनुसन्धानले नयाँ ज्ञान, सहकार्य र अनुसन्धानका सम्भावना विस्तार गर्ने विश्वास आयोजकको छ ।