काठमाडौं । एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका १०० जना जेहेन्दार विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ ।
'प्रोजेक्ट शिक्षा'सँगको सहकार्यमा फाउन्डेसनले कक्षा ११ र १२ अध्ययनका लागि यो छात्रवृत्ति दिन लागेको हो । छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीहरूले सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षा र अन्तर्वार्तामा उत्तीर्ण हुनुपर्नेछ ।
विशेष गरी उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने प्रतिभाशाली विद्यार्थीहरूलाई यसमा प्राथमिकता दिइने एनसेलले जनाएको छ । छात्रवृत्तिका साथै छनोट भएका विद्यार्थीहरूले १२ महिनासम्म एनसेलको डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क पाउनेछन् ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले आर्थिक वा भौगोलिक अवस्थाकै कारण कसैको शिक्षा रोकिन नहुने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताइन् ।
हन्ड्रेड ग्रुपद्वारा सञ्चालित ‘प्रोजेक्ट शिक्षा’ले पनि यस वर्ष थप ५० जनालाई छात्रवृत्ति प्रदान गर्नेछ । एनसेलले गत वर्ष ५० जना विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्ध गराएको थियो ।
आईसीटी समाचार