ब्रसेल्स । सेल्समा आयोजित टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान गरिएको छ । सोमबार ब्रसेल्सस्थित युरोप–एसियाली अध्ययन संस्थानमा आयोजित नेपाल–ईयू टेक फोरम २०२६ मा युरोपेली संघका प्रतिनिधि, अग्रणी प्रविधि कम्पनीहरू, लगानीकर्ता तथा नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता रहेको थियो ।
‘डिजिटल नवप्रवर्तन र लगानी’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रत्यक्ष विदेशी लगानी, डिजिटल प्रतिभाको आवागमन तथा नवप्रवर्तन साझेदारी जस्ता विषयमा नेपाल–युरोप सहकार्यका सम्भावनाबारे छलफल भएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै युरोपेली संघका लागि नेपालकी राजदूत सेवा लम्सालले नेपाल डिजिटल रूपान्तरणलाई तीव्रता दिन तयार रहेको र प्रविधि क्षेत्रमा लगानी स्वागत गर्न इच्छुक रहेको बताइन् । उनले नेपालको बढ्दो आईटी सेवा निर्यात र दक्ष जनशक्तिलाई युरोपको डिजिटल सेवाको माग पूरा गर्न सक्षम प्रमुख आधारका रूपमा उल्लेख गरिन् ।
युकेस्थित आईटी तथा साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुसन्सका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले मुख्य वक्तव्य दिँदै युरोपमा दश लाख भन्दा बढी डिजिटल जनशक्तिको अभाव रहेको बताए ।
बढ्दो लागत र कडा नियामकीय व्यवस्थाका कारण युरोपेली कम्पनीहरूले दक्षिण एसियाजस्ता क्षेत्रतर्फ ध्यान केन्द्रित गरिरहेको उनले उल्लेख गरे । डिजिटल नवप्रवर्तन र अन्तरदेशीय प्रविधि साझेदारीका लागि नेपाल उदाउँदो केन्द्रको रूपमा विश्व मंचमा अगाडी आएको उनले बताए ।
फुयाँलले जलविद्युतमा आधारित स्वच्छ ऊर्जाको उपलब्धता र कम लागतमा कम्प्युटिङ क्षमताका कारण नेपाल प्रविधि साझेदारीका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताए । ‘नेपाल हरित, एआई तयार डिजिटल इकोसिस्टम निर्माणका लागि उपयुक्त आधार भएको देश हो,’ उनले भने ।
युरोपेली आयोगअन्तर्गत सञ्चार, नेटवर्क, सामग्री तथा प्रविधि महानिर्देशनालयका अल्भिस एन्कान्सले युरोपेली डिजिटल नीतिबारे प्रस्तुति दिँदै ‘डिजिटल डिकेड’ अन्तर्गत डिजिटल सार्वभौमिकता, डेटा सुरक्षा, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षामा केन्द्रित प्राथमिकताबारे जानकारी दिए ।
कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले भर्चुअल रूपमा सम्बोधन गर्दै प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न गरिएका नीतिगत तथा संस्थागत सुधारबारे जानकारी गराएका थिए ।
फोरमअन्तर्गत आयोजित दुईवटा प्यानल छलफलमा लगानी तयारी, स्टार्टअप इकोसिस्टम, दिगो डिजिटल विकास तथा डायस्पोराको भूमिका जस्ता विषयमा गहन बहस भएको थियो ।
युरोपका विभिन्न कम्पनीका विज्ञहरूले डिजिटल पूर्वाधार विस्तार, प्रतिभा आवागमन र नेपाल–युरोप सहकार्यका व्यावहारिक मोडेलबारे आफ्ना अनुभव साझा गरेका थिए ।
छलफलमा सहभागीहरूले नेपालको प्रविधि क्षेत्रले सम्भावनाबाट कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै युरोपसँगको सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताए । साथै, व्यावसायिक वातावरण सुधार, लगानी प्रक्रियामा सहजता र नाफा फिर्ता लैजान सकिने व्यवस्थामा सुधार भएको पनि उनीहरुले उल्लेख गरे ।
कार्यक्रममा दक्ष जनशक्ति विकासका लागि विश्वविद्यालयस्तरीय सहकार्य आवश्यक रहेको औंल्याउँदै जलविद्युत स्रोतलाई वातावरणमैत्री कृत्रिम बुद्धिमत्ता पूर्वाधार निर्माणमा उपयोग गर्न सकिने सम्भावनामा पनि जोड दिइएको थियो ।
दीर्घकालीन सफलता हासिल गर्न विश्वास निर्माण, प्राविधिक दक्षता अभिवृद्धि तथा नेपाली र युरोपेली कम्पनीबीच बलियो प्रतिभा सञ्जाल निर्माण अपरिहार्य रहेको सहभागीहरूले बताएका थिए ।
७० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम अन्त्यमा नेटवर्किङ सत्रसहित सम्पन्न भएको थियो, जसले आगामी सहकार्यका सम्भावनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार