कीवर्डहरू -

टेकपाइलामा नयाँ नेतृत्व : चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टरमा नियुक्त

टेकपाइलामा नयाँ नेतृत्व : चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टरमा नियुक्त

काठमाडौं । नेपालको सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा लामो अनुभव भएका विज्ञ चिरञ्जीवी अधिकारीलाई टेकपाइला इनोभेसनको एसोसिएट डाइरेक्टर पदमा नियुक्त गरिएको छ । डिजी समूहअन्तर्गत रहेको संस्थाले अधिकारीलाई रणनीतिक जिम्मेवारी दिँदै आफ्नो नेतृत्व टोली सुदृढ बनाएको हो ।

करिब साढे दुई दशकदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय रहेका अधिकारी हाल क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा सूचना प्रविधि नीति संयोजकको भूमिकामा पनि कार्यरत छन् । उनले यसअघि विभिन्न सरकारी निकायसँग सहकार्य गर्दै साइबर सुरक्षा र प्रविधि विकासका क्षेत्रमा योगदान पुर्‍याएका छन् ।

टेकपाइलामा उनको प्रवेशसँगै कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षालाई प्राथमिकतामा राखेर नयाँ पहलहरू अघि बढाइने अपेक्षा गरिएको छ । संस्थाले डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई तीव्र बनाउने लक्ष्यसहित उनको अनुभव उपयोग गर्ने तयारी गरेको जनाएको छ ।

अधिकारीले दीर्घकालीन रूपमा नेपाललाई छिमेकी देशहरूसँग प्रविधि सहकार्यमार्फत ‘डिजिटल पुल’का रूपमा विकास गर्ने दृष्टिकोण अघि सारेका छन् । साथै, उनले प्रमाणपत्रभन्दा सीपमा आधारित जनशक्ति उत्पादनमा जोड दिँदै नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने आवश्यकता औंल्याएका छन् ।

टेकपाइला इनोभेसनका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले अधिकारीको आगमनले संस्थालाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, डिजी समूहका अध्यक्ष विज्ञान श्रेष्ठले पनि अनुभवी नेतृत्वको प्रवेशले संस्थाको पहिचान र कार्यक्षमता थप सुदृढ हुने बताएका छन् ।