कीवर्डहरू -

सामाजिक सञ्जाल र एआई प्रयोगमा नयाँ मापदण्ड, श्रम मन्त्रालयको नयाँ आचारसंहिता लागू

सामाजिक सञ्जाल र एआई प्रयोगमा नयाँ मापदण्ड, श्रम मन्त्रालयको नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले आफ्ना कर्मचारीहरूको कार्यशैलीलाई थप अनुशासित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ आचारसंहिता लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीले कार्यालय समयमा व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैशाख ३१ गते स्वीकृत गरेको आचारसंहितामा सूचना प्रविधि र डिजिटल माध्यमको प्रयोगसम्बन्धी स्पष्ट मापदण्ड तय गरिएको छ । आचारसंहिताअनुसार कर्मचारीले कार्यालय समयभित्र मोबाइल, कम्प्युटर वा अन्य डिजिटल उपकरण प्रयोग गरी व्यक्तिगत कामका लागि सामाजिक सञ्जाल चलाउन निषेध गरिएको छ ।

कार्यालय समयबाहेक सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सरकारी सेवाको मर्यादा, निष्पक्षता र विश्वसनीयतामा असर पुग्ने गतिविधिबाट टाढा रहन कर्मचारीलाई निर्देशन दिइएको छ । फेसबुक, एक्स, ह्वाट्सएप, लिङ्क्डइन तथा टिकटकजस्ता प्लेटफर्ममा सरकारी सेवाको गरिमा घट्ने, भ्रम फैलाउने वा अपुष्ट जानकारी साझा गर्ने सामाग्री पोस्ट वा शेयर गर्न नपाइने व्यवस्था गरिएको छ ।

मन्त्रालयले कर्मचारीका व्यक्तिगत गुनासा वा असन्तुष्टि सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न समेत रोक लगाएको छ । यस्ता विषय संस्थागत प्रक्रिया अपनाएर सम्बन्धित सुपरिवेक्षक वा सचिवसमक्ष मात्रै राख्नुपर्ने व्यवस्था गरिएको छ । साथै, कार्यालयका पदाधिकारी वा सरकारी निर्णयप्रति व्यक्तिगत मान प्रतिष्ठामा असर पुग्ने गरी सार्वजनिक टिप्पणी, आलोचना वा व्यङ्ग्य गर्न पनि निषेध गरिएको छ ।

नयाँ आचारसंहिताले साइबर सुरक्षा र डिजिटल प्रणालीको सुरक्षित प्रयोगलाई पनि प्राथमिकता दिएको छ । मन्त्रालयभित्र प्रयोग हुने सूचना प्रविधिसम्बन्धी उपकरणहरूको सुरक्षा परीक्षण, कमजोरी मूल्यांकन तथा पेनिट्रेसन टेस्टिङसम्बन्धी निर्देशिका अनिवार्य रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, सरकारी कामकाजका लागि मन्त्रालयको आधिकारिक ईमेल प्रणाली मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । कुनै पनि सरकारी निर्णय, सूचना वा संवेदनशील विषय अनधिकृत रूपमा सामाजिक सञ्जालमा सार्वजनिक गर्न पाइने छैन ।

कृत्रिम बुद्धिमत्ता (एआई), डेटा विश्लेषण र मेशिन लर्निङजस्ता प्रविधिको प्रयोग गर्दा पनि गोपनीयता, निष्पक्षता र उत्तरदायित्वका मापदण्ड पालना गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार यो आचारसंहिता मन्त्रालय तथा मातहतका निकायमा कार्यरत निजामती, करार र काजमा खटिएका सबै कर्मचारीमा लागू हुनेछ ।

साथै, सेवा प्रवेश गर्दा वा सरुवा भएर मन्त्रालयमा आउने कर्मचारीले आचारसंहिता पालना गर्ने लिखित प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।