काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा स्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यमा मनोनयन गरेको छ ।
मन्त्रालयले सूचना प्रविधि तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, कर्खानाका सह-संस्थापक एवम् स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ तथा नर्सिङ तथा जनस्वास्थ्य विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।
सिटिइभिटिको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । काउन्सिलले पाठ्यक्रम विकास, नयाँ शैक्षिक कार्यक्रम स्वीकृति, गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणालीको विकास तथा प्राविधिक एवम् व्यावसायिक शिक्षासम्बन्धी दीर्घकालीन नीतिगत मार्गनिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
नवनियुक्त सदस्यमध्ये डा. अमृता शर्मा सूचना प्रविधि, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता तथा नीतिगत विज्ञका रूपमा परिचित छिन् ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रोजगारी योग्यतासम्बन्धी विद्यावारिधि हासिल गरेकी उनले सूचना प्रविधि उद्योगको विकास, डिजिटल सीप, सेवा निर्यात र नीतिगत सुधारका विषयमा विभिन्न अध्ययन तथा अनुसन्धानको नेतृत्व गरेकी छन् ।
उनको नेतृत्वमा गरिएको ‘अनलिसिङ आईटी: एड्भान्सिङ नेपाल्स डिजिटल इकोनोमी’ अध्ययनले नेपाललाई सूचना प्रविधि सेवा निर्यातको सम्भावित केन्द्रका रूपमा विकास गर्न आवश्यक नीतिगत सुधार र दक्ष जनशक्ति विकासका उपायहरू औँल्याएको थियो । उद्योग क्षेत्रबाट मनोनीत विरेन्द्रराज पाण्डे नेपाल उद्योग परिसंघका अध्यक्ष तथा निर्माण र पूर्वाधार क्षेत्रका अनुभवी उद्यमी हुन् ।
इन्जिनियरिङ पृष्ठभूमि भएका उनले तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसाय, पूर्वाधार विकास र निजी क्षेत्रको नेतृत्व गर्दै आएका छन् । उनको अनुभवले प्राविधिक शिक्षालाई उद्योग र श्रम बजारको आवश्यकतासँग थप प्रभावकारी रूपमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, डा. दिपेश्वर मान श्रेष्ठले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट स्टेम शिक्षामा विद्यावारिधि गरेका छन् । उनले नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित व्यावहारिक शिक्षाको विस्तार, शिक्षकको क्षमता विकास, ‘मेकिङ’ संस्कृतिको प्रवर्द्धन तथा नवप्रवर्तनमुखी शिक्षामा उल्लेखनीय योगदान दिएका छन् ।
उनको विज्ञताले सिटिइभिटिको प्राविधिक शिक्षालाई अनुसन्धान, सिर्जनशीलता र उद्यमशीलतासँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
स्वास्थ्य क्षेत्रबाट मनोनीत प्रमिला रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर तथा नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा समाज विषयमा फेलोसिप पूरा गरेकी छन् ।
हाल नेपाल रेडक्रस सोसाइटीमा क्लिनिकल कोअर्डिनेटरका रूपमा कार्यरत उनले यसअघि सेभ द चिल्ड्रेन, नर्भिक इन्टरनेशनल अस्पताललगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा जनस्वास्थ्य, नर्सिङ सेवा, आपत्कालीन प्रतिकार्य तथा वास कार्यक्रमको नेतृत्वदायी जिम्मेवारी सम्हालेकी थिइन् ।
आईसीटी समाचार