कीवर्डहरू -

अब नेपाल टेलिकमको सिम घरमै, आजदेखि हुलाकमार्फत डेलिभरी सुरु

अब नेपाल टेलिकमको सिम घरमै, आजदेखि हुलाकमार्फत डेलिभरी सुरु

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब सिमकार्ड लिन कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ । आज साउन गतेदेखि टेलिकमले हुलाक सेवा विभागसँगको सहकार्यमा सिमकार्ड तथा अन्य आवश्यक सामाग्री घरमै पुर्‍याउने सेवा सुरु गरेको हो ।

यससँगै सेवाग्राहीले आवश्यक परे टेलिकमका सिमकार्ड, आधिकारिक कागजात तथा अन्य सेवा सम्बन्धी सामाग्री हुलाकमार्फत आफ्नै ठेगानामा मगाउन सक्नेछन् । यो सेवा देशभर विस्तार गर्ने लक्ष्यका साथ कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकम र हुलाक सेवा विभागबीच गत १८ असारमा यससम्बन्धी सम्झौता भएको थियो । सो सम्झौता शुक्रबारदेखि औपचारिक रूपमा लागू भएको हो ।

सम्झौताअनुसार टेलिकमका सिमकार्ड, चिठीपत्र, सेवा सञ्चालनमा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स तथा अन्य सामग्री सम्बन्धित कार्यालय वा सेवाग्राहीसम्म हुलाक सेवामार्फत सुरक्षित रूपमा पुर्‍याइनेछ ।

यो व्यवस्थाले ग्राहकलाई सेवा लिन सहज हुने, कार्यालयमा हुने भीड कम हुने र दूरदराजका सेवाग्राहीलाई पनि छिटो सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

सम्झौतामा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका थिए ।

सरकारी स्वामित्वका यी दुई संस्थाबीचको सहकार्यले दूरसञ्चार सेवाको पहुँच अझ प्रभावकारी बनाउने र डिजिटल सेवा घरदैलोसम्म विस्तार गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।