काठमाडौं । नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल भिसा सेवा दिने प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । काठमाडौंको ठमेलस्थित होटल लो मुस्ताङमा आयोजित विशेष समारोहबीच प्लेटफर्मको शुभारम्भ गरिएको हो ।
यात्रा म्यागजिनद्वारा आयोजना गरिएको युवा पर्यटन उद्यमी कार्यक्रम “विङ्स अन्डर फोर्टी” अन्तर्गत मे ८ मा उक्त सेवा सार्वजनिक गरिएको हो । भेन्चर्स होलिडेज प्रा.लि. तथा ग्लोबल भिसा सेवा डटकमका प्रमुख कार्यकारी अधिकृत सुजन पन्तका अनुसार यो प्लेटफर्मले नेपाली यात्रुहरूले भोग्दै आएका जटिल भिसा प्रक्रियालाई डिजिटल, सहज र सुरक्षित बनाउने लक्ष्य राखेको छ ।
प्लेटफर्ममार्फत १८० भन्दा बढी देशको भिसासम्बन्धी जानकारी प्राप्त गर्न, आवेदन दिन तथा आवेदनको रियल–टाइम अपडेट हेर्न सकिने व्यवस्था गरिएको छ । एउटै लगइनमार्फत विभिन्न देशका भिसा प्रक्रिया पूरा गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यस प्रणालीमा दस्तावेज जाँच (डकुमेन्ट भेरिफिकेसन), प्रि-चेकिङ, अपोइन्टमेन्ट बुकिङ, आवेदन ट्र्याकिङ तथा विशेषज्ञ परामर्श सेवा समेत समावेश गरिएको छ । कम्पनीका अनुसार इसेवा, कनेक्ट आइपिएसलगायतका माध्यम तथा डेबिट र क्रेडिट कार्डमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ, जसले डलर कार्डको झन्झट हटाउने विश्वास गरिएको छ ।
डिजिटल प्लेटफर्मले परम्परागत भिसा प्रक्रियामा देखिने लामो लाइन, अपूर्ण जानकारी र ढिलाइलाई घटाउँदै सेवालाई अझ छरितो बनाउने लक्ष्य लिएको छ । कम्पनीले आफूलाई “नेपालको पहिलो तथा विश्वसनीय ग्लोबल भिसा एप्लिकेसन प्लेटफर्म” का रूपमा प्रस्तुत गर्दै यसले ट्राभल एजेन्सी र यात्रु दुवैलाई लाभ पुर्याउने विश्वास व्यक्त गरेको छ ।
आईसीटी समाचार