कीवर्डहरू -

विदेशी सवारीका लागि अनलाइन सेवा सुरु, घरैबाट इजाजत र राजस्व भुक्तानी गर्न सकिने

विदेशी सवारीका लागि अनलाइन सेवा सुरु, घरैबाट इजाजत र राजस्व भुक्तानी गर्न सकिने

काठमाडौं । स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनका लागि सरकारले अनलाइन सेवा सुरु गरेको छ । यससँगै अब भारतीय तथा भारत हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकले भन्सारसम्बन्धी प्रक्रिया डिजिटल माध्यमबाटै पूरा गर्न सक्ने भएका छन् ।

भन्सार विभागले विकास गरेको नयाँ प्रणालीमार्फत विदेशी सवारी साधनका प्रयोगकर्ताले आफ्ना विवरण अनलाइनमै भर्नुका साथै आवश्यक राजस्व पनि डिजिटल माध्यमबाट तिर्न सक्नेछन् । यसअघि भने भन्सार नाकामै उपस्थित भएर अस्थायी इजाजत लिनुपर्ने र समयावधि सकिए पुन: नाकामै पुग्नुपर्ने झन्झट थियो ।

कार्यक्रममार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रणालीको औपचारिक सुरुवात गर्दै सीमा क्षेत्रमा पर्यटकले भोग्ने झन्झट अब कम हुने विश्वास व्यक्त गरे । उनले डिजिटल सेवा विस्तारमार्फत सार्वजनिक सेवा छरितो, पारदर्शी र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताए ।

अब राजस्व भुक्तानी पनि अनलाइन वा बैंक काउन्टरमार्फत गर्न सकिनेछ । यात्रा अवधि सकिँदा नेपालभित्रै बसेर अनलाइनबाट अवधि थप गर्न मिल्ने सुविधा समेत उपलब्ध गराइएको छ । यो सेवा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत विकास गरिएको टीआईभी मोड्युलमार्फत सञ्चालनमा ल्याइएको हो ।

विभागले हालका लागि भारतीय तथा बंगलादेशी पर्यटकका सवारी साधनलाई लक्षित गरी सेवा लागू गरिएको जनाएको छ । भविष्यमा चिनियाँ नाका हुँदै आउने सवारीका लागि पनि यही प्रणाली प्रयोग गर्न सकिने जनाइएको छ ।