कीवर्डहरू -

विद्युत् नियमन आयोगको नेतृत्वका लागि खुला प्रतिस्पर्धा, अध्यक्ष पदमा १० जनाको आवेदन

विद्युत् नियमन आयोगको नेतृत्वका लागि खुला प्रतिस्पर्धा, अध्यक्ष पदमा १० जनाको आवेदन

काठमाडौं । विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । आयोगको अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोगको नेतृत्व चयनका लागि मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा सहसचिव सागरराज गौतम र ऊर्जा क्षेत्रका विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन् ।

समितिले आयोगका अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको थियो । सार्वजनिक सूचनामार्फत १५ दिनको समयसीमा दिइएकोमा निर्धारित अवधिभित्र इच्छुक उम्मेदवारहरूले आवेदन दर्ता गराएका हुन् । अब समितिले आवेदनहरूको अध्ययन गरी छनोट प्रक्रिया अघि बढाउनेछ ।

सरकारले लागू गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार अघिल्लो नेतृत्व स्वत: पदमुक्त भएपछि आयोग नेतृत्वविहीन अवस्थामा रहेको छ ।

अध्यक्ष पदका लागि आवेदन दिनेहरूमा ई. रुद्रप्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा तथा डा. शान्तिकला सुवेदी रहेका छन् ।

त्यसैगरी सदस्य पदका लागि डा. शेखर अर्याल, राजिवकुमार सिंह, निरज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, ब्रजमोहन झा, सुरेशबहादुर भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम र झमकप्रसाद शर्मा प्रतिस्पर्धामा छन् ।

यसअघि आयोगको नेतृत्व रामप्रसाद धितालले सम्हालेका थिए भने सदस्यहरूमा मधुसुधन अधिकारी, झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली रहेका थिए । समितिले योग्य उम्मेदवारहरूको मूल्यांकनपछि आयोगको नयाँ नेतृत्वका लागि सरकारसमक्ष सिफारिस गर्नेछ ।