कीवर्डहरू -

ओपनएआईले ल्यायो इमेज २.५, अब च्याटजीपीटीमै चित्र कोरेर बनाउन सकिनेछ तस्बिर

ओपनएआईले ल्यायो इमेज २.५, अब च्याटजीपीटीमै चित्र कोरेर बनाउन सकिनेछ तस्बिर

काठमाडौं । ओपनएआईले नयाँ फिचरसहितको इमेज २.५ (Image 2.5) सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ मोडल अघिल्लो संस्करणको तुलनामा छिटो र उच्च गुणस्तरका तस्बिर निर्माण गर्न सक्षम छ । यसमा इमेज एडिटिङ, विवरणको स्पष्टता र तस्बिरको टेक्स्चरमा समेत सुधार गरिएको छ ।

कम्पनीका अनुसार इमेज २.५ ले अघिल्लो Image 2.0 को तुलनामा ५० प्रतिशतसम्म छिटो तस्बिर निर्माण गर्न सक्छ । नयाँ मोडलले प्राकृतिक देखिने र राम्रो टेक्स्चर भएका तस्बिर उत्पादन गर्नुका साथै प्रयोगकर्ताको निर्देशनलाई अझ सटीक रूपमा पालना गर्ने दाबी गरिएको छ ।

नयाँ मोडलसँगै ओपनएआईले Sketch, Templates र Comments लगायतका नयाँ फिचर पनि थपेको छ । Sketch फिचरमार्फत प्रयोगकर्ताले च्याटजीपीटीमै आफ्नो विचारअनुसार चित्र कोरेर त्यसलाई आधार बनाएर नयाँ तस्बिर बनाउन सक्नेछन् । यसका लागि च्याटमा @Sketch टाइप गरेर फिचर प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, Templates फिचरले फ्लायर, उत्पादनका तस्बिरलगायत विभिन्न प्रकारका सामाग्री तयार गर्न सहज बनाउनेछ । प्रयोगकर्ताको आवश्यकता र निर्देशनअनुसार यसले थप व्यक्तिगत परिणाम दिन सक्ने कम्पनीको भनाइ छ ।

नयाँ Comments फिचरमार्फत प्रयोगकर्ताले तस्बिरसँगै त्यसका लागि प्रयोग गरिएको प्रम्प्ट पनि साझा गर्न सक्नेछन् । यसबाट अन्य प्रयोगकर्ताले सोही प्रम्प्ट प्रयोग गरेर आफ्नै तस्बिर तयार गर्न सक्नेछन् । ChatGPT Image 2.5 डेस्कटप, मोबाइल र वेबमा उपलब्ध गराइएको ओपनएआईले जनाएको छ ।

यसैसँगै कम्पनीले एपीआईका लागि GPT Image 2.5 Sunburst र GPT Image 2.5 Flare मोडल पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार GPT Image 2.5 Flare ले GPT Image 2 को तुलनामा अझ उच्च गुणस्तरका तस्बिर ५० प्रतिशतसम्म कम समयमा निर्माण गर्न सक्छ ।

त्यस्तै, GPT Image 2.5 Sunburst उच्च गुणस्तर र सटीक इमेज एडिटिङका लागि तयार गरिएको मोडल हो । Sunburst ले पटक–पटक गरिने इमेज एडिटिङका क्रममा प्रयोगकर्ताले दिएको निर्देशनलाई अझ राम्रोसँग पालना गर्ने कम्पनीको दाबी छ । ओपनएआईका अनुसार यो विज्ञापन अभियानका लागि सामग्री तयार गर्न तथा आकर्षक उत्पादन तस्बिर निर्माण गर्न विशेष रूपमा उपयोगी हुनेछ ।