काठमाडौं । नेपालमा विगत १३ वर्षदेखि अनुसन्धान तथा विकास गर्दै विभिन्न चरणमा प्रयोग हुँदै आएको विद्युतीय मतदान उपकरणले पेटेन्ट अधिकार प्राप्त गरेको छ ।
‘Candidate Id\Based Electronic Voting Machine’ शीर्षकमा विकास गरिएको उक्त प्रविधिले नेपाल सरकार, उद्योग विभागको औद्योगिक सम्पत्ति शाखाबाट पेटेन्ट अधिकार प्राप्त गरेको हो ।
उक्त पेटेन्टसम्बन्धी विवरण नेपाल राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा प्रकाशित विवरणअनुसार प्रविधि अनुसन्धानकर्ता तथा आविष्कारक राम प्रसाद रिमाल र लक्ष्मण प्रसाद रिमालको नाममा उक्त पेटेन्ट जारी भएको हो ।
रिमालद्वयले विगत १३ वर्षदेखि विभिन्न चरणमा विद्युतीय मतदान प्रविधिको अनुसन्धान, डिजाइन, विकास, परीक्षण तथा प्रयोग गर्दै आएका छन् । प्रविधिलाई नेपालको आवश्यकता र स्थानीय परिवेशअनुकूल विकास गर्दै राष्ट्रिय पार्टी, संघ संस्था, विश्वविद्यालय, सामाजिक क्षेत्र लगायतका विभिन्न निर्वाचनमा यस प्रविधिको प्रयोग भइरहेको छ ।
Candidate ID Based Electronic Voting Machine उम्मेदवारको पहिचान नम्बर Candidate ID लाई आधार बनाएर मतदान प्रक्रियालाई विद्युतीय माध्यमबाट व्यवस्थित गर्ने प्रविधि हो । यसले मतदान प्रक्रियालाई सरल, व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाइरहेको छ ।
भोटिङ मेशिनको पेटेन्टले नेपाली आविष्कारक तथा अनुसन्धानकर्ताहरुलाई थप उर्जा तथा प्रेरणा जगाएको छ । यस्ता प्राविधिक उपकरण, आविष्कार तथा बौद्धिक सम्पत्तीलाई संरक्षण गर्नका लागि नेपाल सरकारले औद्योगिक सम्पत्ति सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्नका लागि विधेयक समेत तयार गरी कार्य भइरहेको छ ।
आईसीटी समाचार