कीवर्डहरू -

पायोनियर आइसिटी अवार्ड २०२३ बालकृष्ण जोशीलाई प्रदान

पायोनियर आइसिटी अवार्ड २०२३ बालकृष्ण जोशीलाई प्रदान

पायोनियर आइसिटी अवार्ड २०२३ बाट बालकृष्ण जोशीले पाएका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा उनलाई पायोनियर आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य लामो योगदान पुर्याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष उक्त अवार्ड जोशीलाई प्रदान गरिएको हो ।

नेपालको पहिलो ई-कमर्स प्लेटफर्म ठमेल डटकमका सह-संस्थापक हुन, बालकृष्ण जोशी । क्रस बोर्डर डिजिटल पेमेन्टको क्षेत्रमा विज्ञको पहिचान बनाएका जोशी ठमेल डटकम बाहेक माकनेट, लिफफ्रग टेक्नोलोजी र ठमेल रेमिटको समेत सह-संस्थापक हुन् । 

अमेरिकाबाट लिबर आर्ट्स अध्ययन गरी नेपाल फर्किएका जोशीसँग फिनटेकको क्षेत्रमा २० वर्ष भन्दा लामो अनुभव रहेको छ । क्रस बोर्डर भुक्तानी र बैंकिङको पूर्वाधारमा जोड दिदै आएका जोशी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) मा स्वतन्त्र सञ्चालकको भूमिकामा समेत छन् । 

पछिल्लो समय डिजिटल बैंकिङको क्षेत्रमा क्रान्ति ल्याउने योजनासहित नियो बैंकिङको अवधारणामा उनले काम गरिरहेका छन् ।