कीवर्डहरू -

खल्तीको ‘सुपरवालेट’ सुविधा सार्वजनिक, वालेटमै ब्याज पाइने

खल्तीको ‘सुपरवालेट’ सुविधा सार्वजनिक, वालेटमै ब्याज पाइने

काठमाडौं । आइएमई खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपरवालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा सञ्चालनमा आएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा भएको कम्पनीले दाबी गरेको छ, जसमा प्रयोगकर्ताले वालेटमा रहेको मौज्दात रकममै ब्याज पाउनेछन् ।

कम्पनीका अनुसार यससँगै खल्ती नेपालमा ‘नियो बैंकिङ’ युग सुरु गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ । यसअघि यो सुविधा साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्तामा मात्र उपलब्ध थियो । अब भने सबै केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताका लागि सुविधा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

खल्तीका अनुसार ‘सुपरवालेट’ सक्रिय भएपछि वालेटमा रहेको रकममा दैनिक आधारमा ब्याज गणना हुनेछ र मासिक रुपमा स्वत: वालेटमै जम्मा गरिनेछ । हाल वार्षिक २.७५ प्रतिशत ब्याजदर उपलब्ध गराइने जनाइएको छ, जुन साझेदार बैंकले निर्धारण गर्ने मानक ब्याजदर अनुसार समय–समयमा परिवर्तन हुन सक्नेछ ।

कम्पनीले यो सुविधा बैंक धाउनु पर्ने वा जटिल कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट बिनै खल्ती एपबाटै सक्रिय गर्न सकिने जनाएको छ । सुपरवालेट सुविधा प्रयोग गर्न प्रयोगकर्ताको खाता केवाईसी प्रमाणित हुनुपर्नेछ ।

साथै कम्तीमा १० वटा सफल कारोबार गरेको वा वालेटमा रातभर कम्तीमा १ हजार रुपैयाँ मौज्दात कायम गरेको हुनुपर्ने सर्त राखिएको छ । यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध हुने र पीओएस तथा मर्चेन्ट खातामा लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।

प्रयोगकर्ताले खल्ती एपको होमस्क्रिनमा रहेको ‘सुपरवालेट’ सेक्सनमा गएर ‘Apply’ बटन थिची आवेदन दिन सक्नेछन् । आवेदन दिएको भोलिपल्ट बिहानसम्म सेवा सक्रिय हुने कम्पनीले जनाएको छ ।