कीवर्डहरू -

आईटी क्षेत्रलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार अपरिहार्य : कांग्रेस सभापति थापा

आईटी क्षेत्रलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार अपरिहार्य : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउन नीतिगत सुधारसँगै प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमी: स्थानीय रोजगार र पहुँच विश्वबजार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै थापाले विश्वबजारमा प्रतिस्पर्धा गर्न नेपालले ढिलो गर्न नहुने बताए ।

उनले सत्ता साझेदार दलको संयन्त्रमा रहँदा विज्ञहरूसँगको छलफलपछि आईटी क्षेत्रको सुधारका लागि पहल गरिएको स्मरण गर्दै त्यसअन्तर्गत ल्याइएका छ वटा अध्यादेशमध्ये एउटा सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित रहेको जानकारी दिए ।

थापाका अनुसार उक्त नीतिगत सुधारले नेपाली आईटी कम्पनीहरूलाई विदेशमा शाखा विस्तार गर्न तथा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने प्रक्रियालाई थप सहज बनाउने व्यवस्था गरेको छ ।

भाषणका क्रममा उनले विगतमा कीर्तिपुरसँग सम्बन्धित आफ्नो अभिव्यक्तिपछि उत्पन्न भएका विभिन्न टिप्पणीबारे पनि स्पष्ट पार्दै आफ्नो उद्देश्य आईटी क्षेत्रको विकासका लागि आवश्यक नीतिगत वातावरण निर्माण गर्नु रहेको बताए ।

भारत, फिलिपिन्स र कजाकिस्तानलगायतका मुलुकहरूले सूचना प्रविधिमा तीव्र गतिमा प्रगति गरिरहेको उल्लेख गर्दै थापाले नेपालले अवसर गुमाउन नहुनेमा जोड दिए । उनका अनुसार विश्व डिजिटल अर्थतन्त्र तीव्र गतिमा विस्तार भइरहेका बेला नेपालले पनि प्रतिस्पर्धी नीतिहरू लागू गर्दै आईटी उद्योगलाई रोजगारी सिर्जना र निर्यात प्रवर्द्धनको प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ ।