अमेरिकी प्रख्यात साप्ताहिक पत्रिका टाइमले सार्वजनिक गरेको ‘विश्वका १०० प्रभावशाली व्यक्ति २०२६’ को सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई समावेश गरेको छ। पत्रिकाको विशेष संस्करणमा उनलाई ‘नेता’ को कोटीमा उल्लेख गरिएको छ।
टाइमकी सम्पादक प्रमुख चार्ली क्याम्पबेलले लेखेको प्रोफाइलमा प्रधानमन्त्री शाहको हिप–हप स्टारदेखि प्रधानमन्त्रीसम्मको यात्रालाई चर्चा गरिएको छ। ३५ वर्षीय शाह यसै वर्षको मार्चमा नेपालको इतिहासकै सबैभन्दा युवा प्रधानमन्त्री निर्वाचित भएका थिए।
लेखमा शाहको एउटा र्याप लाइन उद्धृत गरिएको छः "जो आफ्नो इमानदारी बेच्छन्, उनीहरूका लागि रूखमै पैसा उम्रिएजस्तो हुन्छ।"

यो ऐतिहासिक जितलाई गत वर्षको भाद्रमा सडकमा उत्रिएको जेन जेड (१९९७–२०१२ का बीच जन्मिएको पुस्ता) को घातक विरोध प्रदर्शनले बल दिएको थियो। भ्रष्ट र अवास्तविक मानिएको पुरानो राजनीतिक गुटलाई हटाउन यो पुस्ता आन्दोलित भएको थियो। सोही आन्दोलनको परिणति शाहको नेतृत्वमा आएको टाइमको विश्लेषण छ।
प्रधानमन्त्री शाहलाई टाइमको प्रभावशाली सूचीमा समावेश गर्नुलाई नेपालको राजनीतिक परिवर्तन र युवा पुस्ताको आवाजलाई विश्वले मान्यता दिएको संकेत मानिएको छ।
लेखअनुसार बालेनको उदय एकातिर युवाशक्तिको (youthquake) जनपक्षीय अभिव्यक्ति हो भने अर्कोतिर दक्षिण एसियाको कठोर, वंशवादी राजनीतिप्रति सम्पूर्ण अस्वीकारोक्ति हो। यसले यस क्षेत्रको स्थापित पुरानो शासक वर्गमा त्रास पैदा गरेको छ।
काठमाडौंको मेयर हुँदा बालेनले कागजी जटिलता (bureaucratic red tape) हटाउँदै फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा सुधार गर्न सफल भएका थिए। अब सम्पूर्ण ध्यान यसैमा टिकेको छ कि टुपाक शकुर (Tupac Shakur) र फिफ्टी सेन्ट (50 Cent) का फ्यान भनिने यी युवा नेताले स्थानीय सफलतालाई राष्ट्रिय स्तरमा दोहोर्याउन सक्छन् की सक्दैनन् भनेर म्यागजिनमा उल्लेख गरिएको छ ।
टाइमले उल्लेख गरेअनुसार बालेनले एकपटक सामाजिक सञ्जालमा लेखेका थिएः “सबै राजनीतिज्ञ, पुराना र नयाँ दुवै, चोर हुन्।” तर आफैं प्रधानमन्त्री बनेपछि नेपाली जनताले उनी आफैं त्यो भनाइलाई गलत साबित गर्लान् भन्ने आशा गरेको पत्रिकाले उल्लेख गरेको छ।
प्रधानमन्त्री शाहलाई टाइमको प्रभावशाली सूचीमा समावेश गरिएपछि नेपालमा उनका समर्थकहरूले खुसी व्यक्त गरेका छन्। यो नेपालको राजनीतिक परिवर्तन र युवा पुस्ताको आवाजलाई विश्वले मान्यता दिएको संकेत मानिएको छ।
आईसीटी समाचार