काठमाडौं । नेपाल सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनसँगै यसको कार्यक्षेत्र, दीर्घकालीन लक्ष्य र संरचनात्मक प्राथमिकताबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ ।
मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै वैज्ञानिक अनुसन्धान, सूचना प्रविधि, अन्तरिक्ष विज्ञान तथा खगोल अध्ययन, जैविक प्रविधि (बायोटेक्नोलोजी) लगायतका क्षेत्रमा नीति निर्माण तथा नियमन गर्ने जनाएको हो ।
सरकारले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ अनुसार मन्त्रिपरिषद्को निर्णयपछि उक्त मन्त्रालय गठन गरेको जनाएको छ । मन्त्रालयका अनुसार अनुसन्धान, आविष्कार तथा प्रविधि स्टार्टअप इकोसिस्टमलाई सुदृढ बनाउँदै देशभित्रै प्राविधिक जनशक्ति परिचालन गर्ने रणनीति अघि बढाइनेछ ।
विज्ञप्तिमा ‘ब्रेन ड्रेन’ रोक्न विशेष रणनीतिक योजना कार्यान्वयन गरिने उल्लेख छ । स्वदेशमै अनुसन्धान र नवप्रवर्तनको वातावरण निर्माण गरी दक्ष जनशक्तिलाई नेपालमै अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको जनाइएको छ ।
मन्त्रालयले अन्तरिक्ष विज्ञान तथा खगोल अध्ययन (Space Science and Astronomy), रेडियोधर्मी पदार्थ तथा आणविक प्रविधिको नियमन, रासायनिक पदार्थको सुरक्षित प्रयोग व्यवस्थापन, ओजोन तह अध्ययन तथा सौर्य विकिरण मापनजस्ता प्राविधिक क्षेत्र पनि आफ्नो प्रत्यक्ष कार्यक्षेत्रभित्र रहने स्पष्ट पारेको छ ।
यसका साथै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (NAST) लगायत सम्बद्ध अनुसन्धान निकायलाई मन्त्रालयअन्तर्गत एकीकृत गरी सञ्चालन गर्ने तयारी समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले विश्वविद्यालयका शोधार्थी, युवा आविष्कारक तथा नवप्रवर्तनमा संलग्न व्यक्तिहरूका लागि विशेष अनुदान (Grants) र अनुसन्धान फेलोसिपसम्बन्धी विस्तृत कार्यक्रम आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत सार्वजनिक गरिने जनाएको छ ।
आईसीटी समाचार