काठमाडौं । पब्जी मोबाइल नेपालले नुवाकोट र रसुवाका बाढी प्रभावित परिवार तथा समुदायका लागि खाद्यान्नसहित अत्यावश्यक राहत सामाग्री उपलब्ध गराएको छ ।
कम्पनीले बाढी प्रभावितको तत्काल आवश्यकता सम्बोधन गर्ने उद्देश्यले खाद्यान्न, कम्बल, सौर्य आपतकालीन बत्ती तथा व्यक्तिगत सरसफाइका सामाग्री लगायत राहत सामाग्री उपलब्ध गराएको जनाएको छ ।
उक्त सामाग्री गल्छी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी नुवाकोट र रसुवाका प्रभावित समुदायमा आवश्यकताका आधारमा क्रमश: वितरण गर्ने जनाइएको छ ।
पछिल्लो बाढीका कारण विभिन्न क्षेत्रमा घर तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै सडक र यातायात समेत प्रभावित भएका छन् । यसले केही प्रभावित क्षेत्रमा खाद्यान्न, सुरक्षित बसोबास, सरसफाइ तथा बिजुलीसम्बन्धी आधारभूत सामाग्रीको आवश्यकता बढाएको छ ।
पब्जी मोबाइल नेपालले प्रभावित समुदायको तत्काल आवश्यकता हेरेर जारी राहत प्रयासमा सहयोग पुर्याउने उद्देश्यले सामाग्री उपलब्ध गराएको जनाएको छ । स्थानीय तह, सुरक्षा निकाय, राहतकर्मी, स्वयंसेवक तथा विभिन्न संघ संस्थाबाट भइरहेको राहत प्रयासमा आफ्नो तर्फबाट योगदान गरिएको कम्पनीको भनाइ छ ।
यसैगरी पब्जी मोबाइल नेपालसँग सहकार्यमा रहेका स्ट्रिमरहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सरकारले उपलब्ध गराएको आधिकारिक माध्यमबारे आफ्ना समुदायमा जानकारी प्रवाह गरिरहेका छन् ।
पब्जी मोबाइल नेपालले बाढी प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै खोज, उद्धार, राहत तथा पुन:स्थापनामा खटिएका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा संघ संस्थाको प्रयासप्रति सम्मान व्यक्त गरेको छ ।
आईसीटी समाचार