कीवर्डहरू -

उपत्यकाका सार्वजनिक सवारी प्रविधिमैत्री बन्दै, जडान भए क्यामेरा र जिपिएस

उपत्यकाका सार्वजनिक सवारी प्रविधिमैत्री बन्दै, जडान भए क्यामेरा र जिपिएस

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातलाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत हालसम्म तीन हजार ३०३ वटा सवारी साधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा तथा जिपिएस प्रणाली जडान गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुको सुरक्षा सुनिश्चित गर्न, सवारी सञ्चालनको निगरानी प्रभावकारी बनाउन तथा सार्वजनिक यातायात क्षेत्रमा हुने अनियमितता नियन्त्रण गर्न यस्ता प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको हो ।

सार्वजनिक यातायातमा क्यामेरा र जिपिएस प्रणाली अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा आएपछि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले नियमित अनुगमनलाई तीव्र बनाएका छन् । यसको प्रभावस्वरूप यातायात व्यवसायीहरूले पनि आफ्ना सवारी साधनमा आवश्यक उपकरण जडान गर्न थालेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सार्वजनिक यातायातमा हुने विभिन्न गुनासो तथा विवाद समाधानमा प्रविधिले महत्वपूर्ण भूमिका खेल्नेछ ।

यात्रुसँग हुने दुर्व्यवहार, तोकिएभन्दा बढी भाडा असुल्ने प्रवृत्ति तथा सवारी सञ्चालनसम्बन्धी गतिविधिको निगरानी गर्न ड्यासक्यामेरा र सिसीक्यामेरा प्रभावकारी माध्यम बन्ने उनको भनाइ छ ।

उनले दुर्घटनाको अवस्थामा वास्तविक तथ्य पहिचान गर्न पनि क्यामेरा प्रणाली उपयोगी हुने बताए । “सवारी दुर्घटनापछि दोष निर्धारणका विषयमा विभिन्न विवाद उत्पन्न हुने गरेका छन् । क्यामेराबाट प्राप्त दृश्यले घटनाको वास्तविक अवस्था स्पष्ट पार्न सहयोग पुर्‍याउँछ,” उनले भने ।

जिपिएस प्रणालीले सवारीधनीलाई आफ्नो गाडीको अवस्थाबारे वास्तविक समयमै जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ । गाडी कुन स्थानमा छ, कस्तो गतिमा सञ्चालन भइरहेको छ तथा निर्धारित मार्गमै छ कि छैन भन्ने विवरण जिपिएसबाट निगरानी गर्न सकिने भएकाले यसले व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार सवारीभित्र जडान गरिएका क्यामेराले यात्रु र चालकबीच उत्पन्न हुने विवाद, हराएका सामानको खोजी तथा अन्य घटनाको अनुसन्धानमा समेत सहयोग पुर्‍याउनेछन् ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि सार्वजनिक सवारीमा प्रविधिको प्रयोगलाई सकारात्मक रूपमा लिएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले यात्रुको सुरक्षा र सेवा गुणस्तर सुधारका लागि क्यामेरा तथा जिपिएस प्रणाली आवश्यक रहेको बताए ।

उनले यस्ता उपकरण जडानसम्बन्धी स्पष्ट कार्यविधि र मापदण्ड सरकारले तय गरेमा देशभरका सार्वजनिक सवारीमा त्यसको कार्यान्वयन सहज हुने धारणा व्यक्त गरे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आगामी दिनमा उपत्यकाभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारी साधनमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जिपिएस प्रणाली अनिवार्य गर्ने लक्ष्य राखिएको छ ।

उनले प्रविधिको प्रयोग विस्तार भएसँगै सार्वजनिक यातायात क्षेत्रमा जवाफदेहिता बढ्ने, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने तथा यात्रुको गुनासो व्यवस्थापन थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।

सार्वजनिक यातायात क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा यात्रुको सुरक्षा सुदृढ हुनुका साथै सेवा प्रवाहलाई व्यवस्थित र विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।