काठमाडौं । रामकृष्ण परियारको करिअरको सुरुवात आज उनी जुन क्षेत्रमा परिचित छन्, त्यहीँबाट भएको थिएन । उनको पहिलो सपना सिभिल इन्जिनियर बन्ने थियो । तर समय, सूचना र अवसरको एउटा सानो अन्तरले उनको बाटो मोडिदियो ।
सिभिल इन्जिनियरिङमा भर्ना हुन ढिला भयो । त्यसको परिणामस्वरूप उनी साइन्सतिर लागे, त्यसपछि कम्प्युटरतिर पुगे । कम्प्युटरभित्र पनि प्रोग्रामिङ र डेटाबेसले उनलाई तान्यो । तर उनको वास्तविक परिचय बन्ने क्षेत्र नेटवर्किङ थियो, र त्यसको यात्रा पनि योजनाबद्धभन्दा बढी संयोग र अवसरको परिणाम थियो ।
सन् १९९९ मा एमसीएससी पढ्दा नेटवर्किङप्रति उनको गहिरो परिचय भइसकेको थिएन । कम्प्युटर क्षेत्रमा दुई तीन वर्ष काम गर्दा उनको मुख्य फोकस प्रोग्रामिङ र डेटाबेसमै थियो । सन् २००३/०४ तिर विभिन्न इन्स्टिच्युटमा प्रोग्रामिङ र डेटाबेसका कोर्स पढाउन थालेपछि उनको यात्रा अर्को मोडमा पुग्यो ।
त्यसपछि उनी प्राइम कलेज पुगे । त्यहाँ बीआईएमका विद्यार्थीलाई ल्याब असिस्टेन्टका रूपमा काम गर्ने क्रममा उनले एउटा व्यावहारिक समस्या देखे, कलेजको नेटवर्क इन्फ्रास्ट्रक्चर व्यवस्थित थिएन ।
समस्या देखेपछि उनी रोकिएनन् । नेटवर्क इन्फ्रास्ट्रक्चर निर्माण र व्यवस्थापनमा लागे । त्यही कामले उनलाई नेटवर्किङतर्फ गम्भीर रूपमा तान्यो । कलेजबाटै उनलाई सिस्को लोकल एकेडेमीमार्फत नेटवर्किङ पढाउने अवसरको प्रस्ताव आयो । त्यसपछि उनको जीवनको एउटा नयाँ अध्याय सुरु भयो ।
सन् २००४ देखि नेटवर्किङको करिअर
प्राइम कलेजमा उनी सिस्को एकेडेमिक इन्स्ट्रक्टर बने । त्यसबेला नेपालमा नेटवर्किङ र सूचना प्रविधिको क्षेत्रमा अवसर सीमित थियो । तर उनीसँग एउटा कुरा थियो, सिक्ने इच्छा र सिकेको कुरा अरूसँग बाँड्ने रुचि ।
सन् २००४/०५ देखि उनले सिस्को एकेडेमिक इन्स्ट्रक्टरका रूपमा पढाउन थाले । धेरै इन्जिनियरहरूलाई नेटवर्किङ पढाउँदै जाँदा उनले एउटा महत्त्वपूर्ण कुरा महसुस गरे, किताबी ज्ञान मात्र पर्याप्त रहेनछ ।
थ्योरी (Theory) थियो, तर वास्तविक जीवनमा काम गर्ने नेटवर्कको अनुभव अझ आवश्यक थियो । त्यही खोजले उनलाई सन् २००८ मा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुतर्फ पुर्यायो । त्यहाँ नेटवर्क एन्ड सिस्टम इन्जिनियरका रूपमा काम सुरु गरेसँगै उनको करिअरले Academy कक्षाबाट वास्तविक नेटवर्क इन्फ्रास्ट्रक्चरको संसारमा प्रवेश गर्यो ।
प्राइम कलेजले उनलाई सिकाउने मञ्च दिएको थियो भने सुबिसुले व्यावहारिक सीपलाई धार दिने अवसर ।
आज पनि आफ्नो करिअर सम्झिँदा परियार यी दुई संस्थालाई विशेष रूपमा सम्झिन्छन् । “प्राइम कलेज र सुबिसु मेरो आईटी यात्राका महत्त्वपूर्ण आधार हुन्,” भन्ने उनको भावको पछाडि एउटा लामो अनुभव छ, कक्षाकोठामा सिकेको ज्ञानलाई वास्तविक नेटवर्कमा प्रयोग गर्ने र त्यसबाट फेरि नयाँ ज्ञान जन्माउने प्रक्रिया ।
५६ केबीपीएसको डायल-अपदेखि एक्सजीएस-पोनसम्म
रामकृष्ण परियारको करिअर केवल एउटा व्यक्तिको व्यावसायिक यात्रा होइन । त्यो नेपालमा इन्टरनेट र डिजिटल पूर्वाधारले गरेको परिवर्तनको प्रत्यक्ष साक्षी पनि हो ।
उनले नेटवर्किङ सुरु गर्दा नेपालमा इन्टरनेट आजजस्तो सहज थिएन । डायल–अप कनेक्सनमार्फत ५६ केबीपीएसको गतिमा इन्टरनेट चलाउनु सामान्य कुरा थियो । टेलिफोन लाइनमार्फत जोडिनुपर्ने त्यो इन्टरनेटमा आजको जस्तो निरन्तर कनेक्टिभिटीको कल्पना पनि सहज थिएन । तर त्यसपछि नेपालमा परिवर्तन तीव्र भयो ।
एडीएसएल आयो । निजी क्षेत्रले फाइबर पूर्वाधार विस्तार गर्न थाल्यो । अन्तर्राष्ट्रिय अपस्ट्रिम प्रदायकसँग फाइबर कनेक्सन विस्तार भयो । बिस्तारै नेपालको इन्टरनेट इकोसिस्टमले गति लिन थाल्यो । परियारका आँखामा यो परिवर्तन केवल प्रविधिको परिवर्तन थिएन, यो एउटा डिजिटल रूपान्तरण थियो ।
उनले २००८ आसपासको करिब २०० एमबीपीएसको लोकल एक्सचेन्जबाट आज सयौँ जीबीपीएस क्षमतासम्म पुगेको नेपालको नेटवर्क विकास देखेका छन् । इन्टरनेट ट्राफिकको आकार पनि नाटकीय रूपमा बढेको छ । गुगल, मेटा, टिकटक, अकामाईलगायतका कन्टेन्ट डेलिभरी नेटवर्क अर्थात् सीडीएनको विस्तारले नेपालभित्रै ठूलो मात्रामा लोकल क्यास ट्राफिक सम्भव बनाएको छ ।
उनका लागि यो परिवर्तन एउटा तथ्यभन्दा बढी एउटा अनुभव हो,,नेपालले छोटो समयमा डिजिटल पूर्वाधारमा ठूलो फड्को मारेको छ । आज सातवटै प्रदेशमा कनेक्टिभिटी पुगेको छ । मोबाइल ब्रोडब्यान्डको पहुँच व्यापक बनेको छ । फाइबर टु द होम अर्थात् एफटीटीएच सामान्य उपभोक्ताको पहुँचमा पुगेको छ ।
हिजोको ५६ केबीपीएस डायल–अपबाट आजको एक्सजीएस-पोनसम्मको यात्रा आफैँमा एउटा डिजिटल क्रान्तिको कथा हो । तर परियारलाई विकासको यो गति जति उत्साहित बनाउँछ, त्यति नै त्यसले जन्माएको अर्को चुनौतीले सचेत पनि बनाउँछ । त्यो चुनौती हो, साइबर सेक्युरिटी ।
नेटवर्क बढ्दै जाँदा जोखिम पनि बढ्यो
परियारको बुझाइमा इन्टरनेटको विस्तारसँगै सुरक्षा चुनौती पनि स्वाभाविक रूपमा बढ्छ । जब इन्टरनेटमा मानिसको संख्या कम थियो, नेटवर्क तुलनात्मक रूपमा सीमित र विश्वासमा आधारित थियो ।
तर प्रयोगकर्ता बढे, एप्लिकेसन बढे, सेवा बढे र डिजिटल निर्भरता बढ्दै गयो। त्यससँगै आक्रमणका सम्भावित बाटाहरू पनि बढ्दै गए । त्यसैले उनी साइबर सुरक्षालाई केवल एउटा सफ्टवेयर, फायरवाल वा एन्टिभाइरसको विषय मान्दैनन् । उनका लागि सुरक्षा भनेको मानिस, प्रक्रिया र प्रविधिको समग्र संयोजन हो ।
यसै सन्दर्भमा उनी एउटा सरल उदाहरण दिन्छन्घ, रको मुख्य ढोकामा ठूलो ताला लगाउँदैमा घर पूर्ण सुरक्षित हुँदैन । झ्याल, भित्री कोठा, सीसी क्यामेरा र अन्य प्रवेशबिन्दु पनि सुरक्षित गर्नुपर्छ । यही अवधारणालाई उनी नेटवर्कमा डिफेन्स इन डेप्थका रूपमा हेर्छन् । तर उनको दृष्टिमा सुरक्षाको मूल तह अझ गहिरो छ, राउटिङ सेक्युरिटी ।

युट्युब बन्द गराउने एउटा गल्ती र राउटिङ सुरक्षाको पाठ
सन् २००८ को एउटा घटनालाई परियार नेटवर्क सुरक्षाको महत्त्व बुझाउने उदाहरणका रूपमा प्रस्तुत गर्छन् ।
पाकिस्तान टेलिकमले मर्मतका क्रममा युट्युबको प्रिफिक्सलाई गल्तीवश आफ्नो प्रिफिक्सका रूपमा घोषणा गर्यो । त्यसको अपस्ट्रिम प्रदायकमार्फत त्यो रुट ग्लोबल इन्टरनेटमा फैलियो । परिणामतः संसारभरका युट्युबका अनुरोध पाकिस्तान टेलिकमको नेटवर्कतर्फ जान थाले । तर पाकिस्तान टेलिकमसँग युट्युबको कन्टेन्ट थिएन । नतिजा, विश्वभर युट्युब करिब दुई घण्टा प्रभावित भयो ।
परियारका लागि त्यो घटना एउटा ठूलो पाठ हो । इन्टरनेटमा एउटा सानो राउटिङ गल्तीको प्रभाव विश्वव्यापी हुन सक्छ । यही समस्यालाई सम्बोधन गर्न पछि म्यानर्स : म्युचुअली एग्रीड नर्म्स फर राउटिङ सेक्युरिटीजस्ता अभ्यास अघि आए । रुट ओरिजिन अथोराइजेसन अर्थात् आरओए, आरपीकेआई र रुट ओरिजिन भ्यालिडेसन अर्थात् आरओभीजस्ता प्रविधि र अभ्यासले राउटिङलाई थप सुरक्षित बनाउने आधार तयार गरे ।
परियार आफैँ यस क्षेत्रमा प्रशिक्षक, ग्लोबल इन्स्ट्रक्टर र एम्बेसडरका रूपमा सक्रिय रहे । नेपालमा राउटिङ सेक्युरिटीको चेतना फैलाउने उनको यात्रामा सुबिसुको अनुभव पनि जोडिएको छ । उनी सुबिसु विश्वव्यापी रूपमा म्यानर्स कम्प्लायन्सतर्फ अघि बढेका प्रारम्भिक नेटवर्कमध्ये एक भएको समयलाई आफ्नो करिअरको महत्त्वपूर्ण अध्याय मान्छन् ।
आज उनी अझै पनि एउटै कुरामा जोड दिन्छन्, अवेयरनेस अझै पर्याप्त छैन ।
आईसीएएनदेखि एपीएनआईसीसम्म
परियारको करिअरको अर्को महत्त्वपूर्ण पक्ष उनको अन्तर्राष्ट्रिय कम्युनिटी सहभागिता हो । उनले आफ्नो सीपलाई व्यक्तिगत करिअरमा मात्र सीमित राखेनन् । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राविधिक समुदायमा काम गरे । आईसीएएनको एसएसआर२ अर्थात् सेक्युरिटी, स्टेबिलिटी एन्ड रेजिलेन्सी फर डीएनएससम्बन्धी काममा एसिया–प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर पाए ।
विश्वका पाँच आरआईआर क्षेत्रबाट प्रतिनिधिहरू सहभागी हुने उक्त प्रक्रियामा उनले एपीएनआईसीको प्रतिनिधिका रूपमा पोलिसी तहमा काम गरे । इन्टरनेट सोसाइटीसँग सम्बन्धित म्यानर्स कार्यक्रममा एम्बेसडरका रूपमा काम गरे । एपीएनआईसी आईपीभी६ काउन्सिलको नेपाल च्याप्टरमा अध्यक्षको भूमिकासमेत सम्हाले ।
यी भूमिकाहरू उनका लागि केवल पद वा परिचय होइनन् । उनी यसलाई आफूले सिकेको ज्ञान समुदायमा फर्काउने अवसरका रूपमा हेर्छन् । उनको दर्शन सरल छ, सीप आफूसँग मात्र राखेर त्यसको अर्थ पूरा हुँदैन ।सिकेको कुरा बाँड्नुपर्छ ।
आईपीभी६ र एमपीएलएस : उनको विशेष पहिचान
परियारको प्राविधिक यात्रामा दुई प्रविधिको विशेष स्थान छ; आईपीभी६ र एमपीएलएस । सुबिसुमा आएपछि उनले एमपीएलएसको फुल–फ्लेज डिप्लोयमेन्टमा काम गरे । दक्षिण एसियाली प्राविधिक समुदायमा यसको प्रशिक्षण र ज्ञान विस्तारमा पनि उनी सक्रिय भए ।
त्यस्तै आईपीभी६ उनको लामो समयदेखिको विशेष क्षेत्र हो । एसएएनओजी, एनपीएनओजी, एनआरईएनलगायत विभिन्न कम्युनिटीमा प्रशिक्षक र लिड ट्रेनरका रूपमा उनले दक्षिण एसियाका विभिन्न देशका प्राविधिकहरूलाई प्रशिक्षण दिएका छन् ।
नेपालको आईपीभी६ एडप्सन पनि उनी गर्वका साथ उल्लेख गर्छन् । उनका अनुसार नेपाल आईपीभी६ डिप्लोयमेन्टमा दक्षिण एसियाका अग्रणी देशमध्ये एक बनेको छ । यसका पछाडि उनको दृष्टिमा केवल प्रविधि होइन, निरन्तर सिकाइ, समुदायको सक्रियता र उद्योगको सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
“कोर स्किल बलियो भयो भने भेन्डर फेरिए पनि समस्या हुँदैन”
नयाँ पुस्तालाई नेटवर्किङमा आउन प्रोत्साहित गर्दा परियार एउटा कुरामा विशेष जोड दिन्छन्; भेन्डरभन्दा पहिले कोर स्किल ।
सिस्को, हुआवेई, जुनिपर वा अरू कुनै भेन्डरका कमान्ड फरक हुन सक्छन् । तर नेटवर्किङका आधारभूत अवधारणा उस्तै हुन्छन् । उनको आफ्नै करिअर यसको उदाहरण हो । सिस्कोको अनुभव लिएर सुबिसुमा काम गर्दा उनले हुआवेईका उपकरणमा काम गर्न सके। कारण एउटै थियो; कोर नेटवर्किङ ज्ञान ।
त्यसैले नयाँ इन्जिनियरहरूलाई उनको सुझाव छ, अपरेटिङ सिस्टम, नेटवर्किङका आधारभूत सिद्धान्त, राउटिङ, स्विचिङ र नेटवर्क डिजाइनलाई बलियो बनाउनुपर्छ । सिस्कोको सीसीएनएजस्ता कोर्सबाट आधार बनाउन सकिन्छ। त्यसपछि जुनिपर, हुआवेई वा अन्य भेन्डरका उच्चस्तरीय ग्लोबल सर्टिफिकेसनतर्फ जान सकिन्छ। तर डिग्री मात्र पर्याप्त छैन ।
उनको दृष्टिमा एकेडेमिक डिग्रीसँगै ग्लोबल सर्टिफिकेसनले उद्योगमा व्यावहारिक क्षमता प्रमाणित गर्न मद्दत गर्छ ।
नेटवर्क अब नेटवर्क इन्जिनियरको मात्र विषय रहेन
परियारको अर्को महत्त्वपूर्ण धारणा छ, आज नेटवर्किङ कुनै एउटा पेशागत समूहमा सीमित छैन । सिस्टम, प्रोग्रामिङ, क्लाउड, एआई, सबैको आधारमा नेटवर्क छ ।
त्यसैले उनी नयाँ पुस्तालाई परम्परागत नेटवर्किङमा मात्र अड्किन सुझाव दिँदैनन् । नेटवर्कसँगै प्रोग्रामिङ र सिस्टमको ज्ञान पनि आवश्यक भएको उनको भनाइ छ ।
आजको नेटवर्क इन्जिनियर भोलिको नेटवर्क अटोमेसन, क्लाउड, एसडी–वान र एआईसँग जोडिएको पूर्वाधारमा काम गर्न सक्षम हुनुपर्छ । उनका लागि भविष्यको सूत्र स्पष्ट छ, डेभलपमेन्ट प्लस सिस्टम प्लस नेटवर्किङ ।
क्लाउड, भर्चुअलाइजेसन र एआईको युग
परियारको दृष्टिमा आउने समयको ठूलो परिवर्तन क्लाउडमा छ । हिजो संस्थाहरूले ठूलो भौतिक सर्भर पूर्वाधार बनाउनुपर्ने थियो । आज भर्चुअलाइजेसन र क्लाउडले त्यही स्रोतलाई थप लचिलो, स्केलेबल र उपलब्ध बनाएको छ ।
प्राइभेट क्लाउड, हाइब्रिड क्लाउड र पब्लिक क्लाउड संस्थाहरू आफ्नो आवश्यकता अनुसार यी मोडेलतर्फ अघि बढिरहेका छन् । उनका अनुसार यसको मूल उद्देश्य एउटै हो, रिसोर्सको अप्टिमम युटिलाइजेसन ।
एउटा ठूलो भौतिक कोठालाई आवश्यकताअनुसार धेरै भागमा विभाजन गरेजस्तै एउटा भौतिक हार्डवेयर पूर्वाधारलाई लजिकल रूपमा विभाजन गरेर धेरै काममा प्रयोग गर्न सकिन्छ । यही अवधारणा भर्चुअलाइजेसनको आधार हो । तर क्लाउडले अवसरसँगै नयाँ सुरक्षा जिम्मेवारी पनि ल्याएको छ ।
हिजो कार्यालयको ९–५ समयभित्र प्रणाली सुरक्षित गरे पुग्थ्यो । आज सेवा कुनै पनि ठाउँबाट, कुनै पनि समयमा पहुँचयोग्य छ । त्यसैले सुरक्षा पनि २४/७ हुनुपर्छ । परियारको नजरमा सेवा सुरक्षित मात्र भएर पुग्दैन, त्यो उपलब्ध, भरपर्दो र गोपनीय पनि हुनुपर्छ ।
एआईका विषयमा पनि उनको धारणा सन्तुलित छ । उनी एआईलाई रोजगारीको अन्त्यका रूपमा होइन, दोहोरिने काम घटाउने उपकरणका रूपमा हेर्छन् ।
विशेष गरी एनओसी अर्थात् नेटवर्क अपरेसन सेन्टर र एसओसी अर्थात् सेक्युरिटी अपरेसन सेन्टरमा एआईको प्रयोगले निगरानी, विश्लेषण र दोहोरिने कार्यलाई प्रभावकारी बनाउन सक्ने उनको विश्वास छ । तर एउटा सर्तसहित, एआई प्रयोग गर्नुअघि मानिसले नेटवर्क बुझ्नुपर्छ ।
नेपालको साइबर सुरक्षाको चुनौती : प्रविधिभन्दा पहिले नीति
परियारका लागि साइबर सुरक्षाको अर्को ठूलो विषय नीति हो । उनका अनुसार डेटा आजको डिजिटल अर्थतन्त्रको इन्धन हो । व्यक्तिगत डेटा, संस्थागत डेटा र क्रिटिकल डेटा कसरी संकलन गर्ने, कहाँ राख्ने, कसले पहुँच पाउने र कसरी सुरक्षित गर्ने भन्ने स्पष्ट नीति आवश्यक छ ।
उनी बलियो साइबर सेक्युरिटी पोलिसीको आवश्यकता औँल्याउँछन् । त्यसैगरी पाइरेटेड वा अपडेट नभएका अपरेटिङ सिस्टमलाई उनी गम्भीर सुरक्षा जोखिमका रूपमा हेर्छन् । यसको तुलना उनी म्याद गुज्रिएको खाद्यान्नसँग गर्छन् ।
म्याद गुज्रिएको खाना खाएर स्वास्थ्य राम्रो हुँदैन भने अपडेट नभएको, असुरक्षित सफ्टवेयर प्रयोग गरेर डिजिटल सुरक्षा खोज्नु पनि विरोधाभासपूर्ण हुन्छ । त्यसैले नियमित अडिट, अपडेट, भल्नरेबिलिटी म्यानेजमेन्ट, डिजास्टर रिकभरी र बिजनेस कन्टिन्युटी प्लान आवश्यक हुने उनको धारणा छ ।
उनका लागि साइबर सुरक्षाको लक्ष्य “१०० प्रतिशत सुरक्षित” हुनु होइन । मुख्य प्रश्न हो, यदि प्रणालीमा समस्या आयो भने कति छिटो पुनः सञ्चालन गर्न सकिन्छ ?
डीएनएस सेक्युरिटीदेखि .एनपी डोमेनसम्म
आईसीएएनको एसएसआर२ प्रक्रियामा काम गरेको अनुभवले परियारलाई डीएनएस सुरक्षाको अर्को महत्त्वपूर्ण विषयसम्म पुर्याएको छ, नेपालको .एनपी डोमेनमा डीएनएसएसईसी कार्यान्वयन ।
उनका अनुसार .एनपी डोमेनलाई डीएनएसएसईसीमार्फत सुरक्षित बनाउनुपर्ने विषयमा सरकार र सम्बन्धित पक्षसँग काम अघि बढिरहेको छ ।
यो उनको व्यक्तिगत करिअरको अर्को प्राविधिक परियोजना मात्र होइन । उनी यसलाई देशको डिजिटल पूर्वाधारलाई अझ सुरक्षित बनाउने योगदानका रूपमा हेर्छन् ।
आईसीटी अवार्ड प्रोफेसनल २०२५ पाएपछि देशका लागि अझ केही गर्नुपर्छ भन्ने भावना थप बलियो भएको उनी बताउँछन् ।
त्यसपछि उनले दुई क्षेत्रमा थप सक्रियता बढाएका छन्; .एनपी डोमेनमा डीएनएसएसईसी कार्यान्वयन र इन्टरप्राइज तहमा आईपीभी६सम्बन्धी चेतना तथा प्रशिक्षण ।

“कर्म गरेपछि एक दिन फल पाइन्छ”
आईसीटी फाउन्डेसन नेपालले प्रदान गरेको आईसीटी अवार्ड प्रोफेसनल २०२५ उनका लागि लामो यात्राको एउटा सार्वजनिक सम्मान थियो । तर त्यो सम्मानलाई उनी अन्तिम गन्तव्य मान्दैनन् । बरु उनलाई त्यसले एउटा पुरानो विश्वास सम्झायो; कर्म गरेपछि एक दिन फल पाइन्छ ।
उनको योगदान मुख्यतः नेटवर्क, नेटवर्क सेक्युरिटी, राउटिङ सेक्युरिटी, आईपीभी६, एमपीएलएस, नेटवर्क डिजाइन र डिप्लोयमेन्टमा केन्द्रित छ । तर पछिल्ला वर्षमा उनको सक्रियता केवल प्राविधिक डिप्लोयमेन्टमा सीमित छैन । उनी प्रशिक्षण, वर्कसप, सेमिनार, पोलिसी संवाद र प्राविधिक समुदाय निर्माणमा पनि उत्तिकै सक्रिय छन् ।
उनी भन्छन्, सिकेको सीप आफूसँग मात्र राख्नुको अर्थ छैन । त्यसलाई समुदायमा पुर्याउन सकियो भने मात्र त्यसको प्रभाव ठूलो हुन्छ ।
अबको पुस्तालाई उनको सन्देश
रामकृष्ण परियारको करिअर हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ, उनको यात्रा कुनै एकैपटक बनाइएको करिअर प्लान होइन ।
सिभिल इन्जिनियर बन्ने सपना पूरा हुन नसक्नुबाट सुरु भएको बाटो साइन्स हुँदै कम्प्युटर, कम्प्युटरबाट प्रोग्रामिङ र डेटाबेस, त्यहाँबाट प्राइम कलेजको नेटवर्क, अनि सुबिसुको वास्तविक नेटवर्क इन्फ्रास्ट्रक्चर हुँदै अन्तर्राष्ट्रिय प्राविधिक समुदायसम्म पुगेको छ ।
आज उनी नयाँ पुस्तालाई पनि यही यात्राबाट एउटा पाठ निकाल्न सुझाउँछन्, इन्ट्रेस्ट हुनुपर्छ, त्यसपछि कन्टिन्युटी ।
सुरुमा अपरेटिङ सिस्टम सिक्नुपर्छ । विन्डोजसँगै लिनक्स बुझ्नुपर्छ । नेटवर्किङको कोर कन्सेप्ट बलियो बनाउनुपर्छ । त्यसपछि ग्लोबल सर्टिफिकेसन, क्लाउड, साइबर सेक्युरिटी, प्रोग्रामिङ र नयाँ प्रविधितर्फ विस्तार हुनुपर्छ ।
उनका लागि नेटवर्किङको भविष्य अझै बलियो छ । एआईले धेरै परम्परागत काम परिवर्तन गर्न सक्छ। तर नेटवर्कको आवश्यकता हराउने छैन । बरु नेटवर्क इन्जिनियरले आफूलाई बदल्नुपर्नेछ। परम्परागत नेटवर्किङ मात्र जानेर अब पुग्दैन ।
नेटवर्कसँगै प्रोग्रामिङ जान्नुपर्छ । सिस्टम बुझ्नुपर्छ । क्लाउड बुझ्नुपर्छ । अटोमेसन बुझ्नुपर्छ । एआईलाई प्रतिस्पर्धी होइन, सहयोगी बनाउनुपर्छ । रामकृष्ण परियारको आफ्नै यात्रा पनि यही परिवर्तनको उदाहरण हो ।
एक समय ५६ केबीपीएसको डायल–अप इन्टरनेटबाट सुरु भएको नेपाल आज फाइबर, एक्सजीएस–पोन, आईपीभी६, क्लाउड र एआईको युगमा प्रवेश गरिसकेको छ । यो परिवर्तनसँगै परियारको करिअर पनि बदलिँदै गयो, कम्प्युटर विद्यार्थीबाट शिक्षक, शिक्षकबाट नेटवर्क इन्जिनियर, इन्जिनियरबाट प्रशिक्षक, प्रशिक्षकबाट अन्तर्राष्ट्रिय प्राविधिक समुदायको प्रतिनिधि र आज नेटवर्क तथा साइबर सुरक्षाको क्षेत्रमा ज्ञान बाँड्ने प्राविधिक अभियन्तासम्म ।
उनको यात्रा अझै रोकिएको छैन । किनकि नेटवर्किङको संसारमा जस्तै उनको करिअरमा पनि एउटा कुरा स्थिर छ; कनेक्टिभिटी ।
मानिससँग मानिसलाई जोड्ने, ज्ञानसँग ज्ञानलाई जोड्ने र नेपाललाई विश्वको डिजिटल नेटवर्कसँग अझ सुरक्षित रूपमा जोड्ने निरन्तर प्रयास ।
सायद यही नै रामकृष्ण परियारको यात्राको सबैभन्दा सुन्दर परिभाषा हो, प्रविधि सिक्दै जाने, सिकेको कुरा बाँड्दै जाने र आफूले पाएको अवसरलाई अर्को पुस्ताका लागि बाटो बनाउँदै जाने यात्रा ।
स्नेहा झा