काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई इजाजतपत्र (लाइसेन्स) लिन २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा उच्च मूल्यका घरजग्गा कारोबार गर्नुअघि अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको हो ।
सूचनाअनुसार, महानगरपालिका तथा उपमहानगरपालिका क्षेत्रभित्र एकपटकमा तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र विभागको अनलाइन प्रणालीमार्फत आवेदन दर्ता गर्नुपर्नेछ ।
विभागले आवेदनका लागि https://publicdolma.gov.np/dolma पोर्टल प्रयोग गर्नुपर्ने जनाएको छ । यो व्यवस्था मालपोत नियमावली, २०३६ को नियम २३ ञ. को उपनियम (१) अनुसार लागू गरिएको विभागले स्पष्ट पारेको छ ।
विभागका अनुसार, महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई घरजग्गा व्यवसाय सञ्चालनका लागि कार्यक्षेत्र घोषणा गरिएकाले तोकिएको सीमा भन्दा बढी मूल्यको कारोबार गर्न इच्छुक संस्थाले इजाजतपत्र प्राप्त गरेपछि मात्रै कारोबार सञ्चालन गर्न पाउनेछन् ।

आईसीटी समाचार