कीवर्डहरू -

मोफसलबाट उदाउँदै गरेको डेलिभरी तथा राइड शेयरिङ  स्टार्टअप ‘जाऔं’, सुपर एप बन्ने लक्ष्य

मोफसलबाट उदाउँदै गरेको डेलिभरी तथा राइड शेयरिङ  स्टार्टअप ‘जाऔं’, सुपर एप बन्ने लक्ष्य

कुनै समय थियो, स्टार्टअपहरू राजधानीमा मात्रै केन्द्रित हुन्थे । तर समय, परिवेश र प्रविधिको विकासले पछिल्लो समय मोफसलमा समेत स्टार्टअप सुरू हुन थालेका छन् । अनेक अभाव र चुनौतीबीच युवाहरूका आईडिया र इन्नोभेसन अगाडि आइरहेका छन् । 

यस्तै एउटा आईडिया हो, जाऔं । जाऔं सर्भिसेस कोशी प्रदेशको इटहरीबाट १ वर्ष अगाडि सुरू भएको स्टार्टअप । इटहरीका दुर्गेश चौधरी र सञ्जीव राईले सुरू गरेको जाऔंको अहिले इटहरी र दमकमा डेलिभरी तथा राइड शेयरिङको सुविधा दिइरहेको छ । एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले गूगल प्लेस्टोर र एप्पल एप स्टोरबाट एप डाउनलोड गरेर सेवा लिन सक्ने छन् । 

करिब एक वर्ष अगाडि सुपर एपको अवधारणामा जाऔं सुरू भएको जाऔं सर्भिसेसका संस्थापक दुर्गेश चौधरीले बताए । ‘जाऔं एप हामीले सुपर एपको अवधारणामा एक वर्ष अगाडि सुरू गरेका हौं,’ उनले आइसिटी समाचारसँग भने, ‘जाऔंबाट डेलिभरी र राइड शेयरिङ सुविधा दिदै आएका छौं ।’ 

जाऔंले इटहरी र दमकमा फुड, पार्सल र ग्रोसरी डेलिभरी गर्दै आएको छ भने राइड शेयरिङ सेवा समेत प्रदान गर्दै आएको छ । डेलिभरी सेवा आधा घण्टा दिने कम्पनीको दावी छ । अनलाइन फुड डेलिभरीका लागि ४० बढी रेष्टुरेन्टसँग सहकार्य गरेको छ । 

यस बाहेक इटहरीमा जाऔंबाट दैनिक २० देखि २५ को हाराहारीमा राईड शेयरिङ हुने गरेको छ । उनी भन्छन्, ‘हामीले दैनिक २०-२५ राइड शयेरिङ गरिरहेका छौं । प्रयोगकर्ताहरू दिनदिनै बढी रहेका छन् ।’ 

जाऔं एपमा ५ किलोमिटरसम्म डेलिभरीको सेवा लिन ९९ रूपैयाँ शुल्क लाग्छ । यदी ५ किलोमिटरभन्दा बढी भए प्रतिकिलोमिटर २० रूपैयाँ थप शुल्क लाग्ने छ । राइड शेयरिङका लागि शुल्कमा बार्गेनिङ गर्न सकिने सुविधा राखिएको छ । एपमै बार्गेनिङ गर्न सकिन्छ तर तोकिएको न्युनतम शुल्कभन्दा तल आउन पाइने छैन् । 

जाऔंमा अहिले ६८ जना राइडर जोडिएका छन् । २ जनाबाट सुरू भएको जाऔंको टिम पनि बढ्दै छ । यो प्रगतीबाट उनी खुसी छन्, तर अझै गर्नुपर्ने धेरै छ । जाऔंलाई नेपालभर नै विस्तार गर्ने लक्ष्य भएको दुर्गेश बताउँछन् । केही समयमै कोशी प्रदेशका मुख्य शहर धरान, विराटनगर, विर्तामोडका साथै काठमाडौंमा सेवा विस्तार गर्ने उनीहरूको योजना छ । 

स्टार्टअप सुरू गर्नु आफैमा चुनौतीपूर्ण काम हो । त्यसमाथि मोफसलमा स्टार्टअप सुरू गर्नेले त झन चुनौतीमाथि चुनौती भोग्नु पर्छ । मोफसलमा अवयरनेसको कमी हुँदा स्टार्टअप गर्न सहज नभएको दुर्गशले बताए । 

‘चुनौतीहरू धेरै छन् । अवयनेस छैन् । जाऔं सुरू गर्दा हामीलाई पनि धेरै गार्‍हो भएको थियो,’ उनी भन्छन्, ‘तर विस्तारै सहजता आउँदै छ । पहिलेको भन्दा अहिले मोफसलमा पनि धेरैले बुझ्न थालेका छन् ।’ 

अब जाऔं एपमै बस टिकेट बुकिङ र होटल बुकिङको समेत सुविधा आउँदै छ । यस बाहेक ग्राहकको आवश्यकता अनुसार जाऔंमा सेवा थप गर्दै जाने उनीहरूको योजना छ ।